Comments Add Comment

गौरी लंकेशबाट कसलाई थियो खतरा ?


बरिष्ठ पत्रकार तथा दक्षिणपन्थी विचारधाराका कटू आलोचक गौरी लंकेशको मंगलबार साँझ बैंगलुरुमा गोली प्रहार गरी हत्या गरिएको छ ।

५५ वर्षीया गौरी ‘लंकेश’ पत्रिका सञ्चालन गरिरहेकी थिइन्, जुन उनका पिता पी लंकेशले सुरु गरेका थिए । यस पत्रिकाका माध्यमबाट उनले ‘कम्युनल हार्मोनी फोरम’लाई निक्कै बढावा दिएकी थिइन् ।

गौरीले हालै लेखिका तथा पत्रकार राणा अथ्युवको पुस्तक ‘गुजरात फाइल्स’को कन्नड भाषामा अनुवाद गरेकी थिइन् ।

राणा आथ्युवले बीबीसीसँग भनेकी छन्, ‘गौरीलाई पछिल्लो केही वर्षदेखि श्रीराम सेना जस्ता दक्षिणपन्थी विचारधारा भएको संगठनबाट कथित धम्की आइरहेको थियो, बिजेपीका एक नेताले उनको बिरुद्धमा मानहानीको दावी पनि गरेका थिए ।’

राणा आथ्युव भन्छिन्, ‘म उनीबारे चिन्तित थिएँ, किनभने उनको बिरुद्धमा मुद्दा दायर भएको थियो र हालै उनलाई पक्राउ पुर्जी पनि जारी गरिएको थियो ।’

‘मलाई डर लाग्थ्यो कि उनले यस्तो काम गर्न हुन्थ्यो कि हुन्नथ्यो, यो हत्या उनै मानिसहरुले गराएका हुन्, जो गौरी लंकेशको आवाजबाट डराउँथे ।’

राणाका अनुसार, ‘बैंगलुरुमा वा भनौं पूरै देशमा उनी एकमात्र महिला थिइन्, जसको आवाज दक्षिणपन्थी शक्तिको बिरुद्धमा उठिरहेको थियो, र उनको हत्या तिनीहरुले नै गरेका हुन् ।’

राणा अथ्युवले जनाएअनुसार गौरी लंकेशले थुप्रै पटक उनलाई भनेकी थिइन् कि उनको विचारधारा, लेख र भाषणबिरुद्ध उनलाई हत्याको धम्की आइरहन्थ्यो ।

राणा भन्छिन्, ‘म हालै क्यानडा गएको थिएँ र जानुभन्दा अघि गौरीसँग कुरा भएको थियो । उनी चाहन्थिन् कि म बैंगलुरु पुगेर आफ्नो किताबको प्रचार गरुँ । मंगलबार म फर्किएँ र मैले आफ्नो बिरुद्ध चलिरहेको दक्षिणपन्थी प्रोपोगाण्डाको बारेमा एक पोष्ट लेखेको थिएँ । तत्कालै गौरीले मलाई म्यासेज गरेर नडराउन र निर्भिक भएर आफ्नो काम गर्न भनेकी थिइन् ।’

के विचारधारा बन्यो मृत्युको कारण ?

गौरी लंकेशको बारेमा लेखक मंगलेश डवरालले बीबीसीसँग भनेका छन्, ‘उनको हत्या पक्कै पनि विचारधाराका कारण भएको हो । उनी पछिल्लो २ वर्षदेखि दक्षिणपन्थी शक्तिको निशानामा थिइन् र अन्ततः उनीहरु लंकेशको हत्या गर्न सफल भए ।’

उनी भन्छन्, ‘आफ्ना पिता पी लंकेशजस्तै उनी पनि एक निर्भिक पत्रकार थिइन् । कन्नड पत्रकारिता तथा साहित्यिक पत्रकारितामा उनको ‘लंकेश’ पत्रिको भूमिका महत्वपूर्ण छ ।’

मंगलेश भन्छन् कि पछिल्लो २ वर्षदेखि उनलाई अनेक प्रकारको धम्की आइरहेको थियो । उनले भने, ‘गौरीले पटक पटक लेखेकी थिइन् कि म एक धर्म निरपेक्ष मुलुकको नागरिक हुँ र म कुनैपनि प्रकारको धार्मिक कट्टरताको बिरुद्धमा हुँ ।’

उनी भन्छन् कि कर्नाटकमा चाँडै नै चुनाव हुँदैछ र त्यसकारण त्यहाँ दक्षिणपन्थी शक्ति र फासिस्ट चरमपन्थी शक्ति निक्कै सक्रिय छन् ।

मंगलेश भन्छन्, ‘लंकेस पत्रिका निक्कै लोकप्रिय थियो र त्यसले समाजमाथि प्रभाव पार्न सक्थ्यो । त्यस असर निमिट्यान्न पार्नका लागि ती शक्तिहरुले गौरीको ज्यानै लिए ।’

उनी भन्छन्, ‘यसअघि त्यहाँ कालबुर्गीको हत्या भएको थियो । नरेन्द्र दाभोलकर र गोविन्द पानसरेको पनि हत्या भयो । मैले थाहा पाए अनुसार उनीहरुलाई पनि यसैगरी मारिएको थियो । थुप्रै सन्धिग्दहरु देखिएपनि अहिलेसम्म कसैलाई कारबाही भएन ।’

बीबीसी  हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment