Comments Add Comment

श्रेष्ठ बने अस्ट्रेलियाको चर्चित विश्वविद्यालयमा एशोसिएट प्रोफेसर

८ सेप्टेम्बर, सिड्नी । अस्ट्रेलियाको युनिभर्सीटी अफ न्यू साउथ वेल्सले प्राध्यापनरत डा. कृष्णकुमार श्रेष्ठलाई एसोसिएट प्रोफेसरमा बढुवा गरेको छ ।

सम्भबत उनी अस्ट्रेलियाका प्रसिद्ध विश्वविदालयमा यो पदमा जिम्मेवारी पाउने कमै नेपालीहरुमा पर्दछन ।

यहाँका आठ वटा विश्वविद्यालयलाई विश्वस्तरका प्रसिद्ध शैक्षिक सँस्था मानिन्छ । जसमध्ये एक यूनिभर्सीटी अफ न्यू साउथ वेल्स पनि हो । यहाँ विश्वभरिका झन्डै ५० हाजार विद्यार्थी अध्ययन गर्दछन् भने झन्डै सात हजार कर्मचारी कार्यरत छन् ।

उनले प्राध्यापन सँगसँगै प्राकृतिक प्रकोप, वातावरण परिवर्तन, गरिबी र बिकास तथा सामाजिक न्याय माथि अनुसन्धान गरिरहेका छन् ।
हाल अस्ट्रेलियन सरकारको आर्थिक सहयोगमा नेपालमा खाद्य सुरक्षा, केयर नेपालको सहयोगमा प्राकृतिक प्रकोप र सामाजिक न्याय, क्यानेडियन सरकारको लगानीमा नेपालका धुलिखेल, धरान र भारतका हल्द्वानी, मसुरी शहरको वातावरणीय परिवर्तन र पानी सुरक्षा बारे अनुसन्धान गरिरहेका छन् ।

उनले नेपालको विप्रेषण अर्थतन्त्र माथि पनि राष्ट्रिय योजना आयोगसँग मिलेर अनुसन्धान गरिरहेका छन् ।

साथै नेपालका बोटे र माझी जातिमा आधुनिक बिकासले पारेको असर बारे क्याम्ब्रीज यूनीभर्सीटीले गरिरहेको अनुसन्धानको पनि उनले नेतृत्व गरिरहेका छन् ।

गतवर्ष उनी क्याम्ब्रीज यूनीभर्सीटी बेलायत र नेशनल यूनीभसीटी सिंगापुरमा भिजिटिङ स्कलरका रुपमा निम्त्याइएका थिए ।

उनले २०१३ को अस्ट्रेलिया सरकारको इण्डेभर अवार्ड पनि प्राप्त गरेका छन् । उनका चार वटा पुस्तक र सयौ अनुसन्धान सम्बन्धी लेखहरु प्रकाशित भएका छन् ।

उनका प्रायः अनुसन्धानहरु सामाजिक तथा वातावरणीय न्याय सम्बन्धी वामपन्थी दृष्टिकोणमा आधारित हुने गर्द छन् ।

उनीसँग नजिकबाट सहकार्य गरिरहेका यूनीभर्सीटी अफ न्यू साउथ वेल्समै प्राध्यापनरत डा. हेमन्त ओझा भन्छन्, ‘नेपालको दुर्गम गाउँमा पढेर अस्ट्रेलिया आई यहाँको योग्य जनशक्तिसँग प्रतिस्पर्धा गर्दै प्रसिद्ध विश्वविदालयमा यो स्तर को जिम्मेवारी पाउनु सबै नेपालीको गर्वको बिषय हो ।’

झन्डै दुई दशक अघि अस्ट्रेलिया आएका डा. श्रेष्ठ बिगत सात वर्ष यूनीभर्सीटी अफ न्यू साउथ वेल्समा प्राध्यापनरत छन् ।
उनले त्यस अघि यूनीभर्सीटी अफ सिड्नी, यूनीभर्सीटी अफ कुइन्स्ल्याण्ड, मक्वारी यूनिभर्सीटी लगायतका विश्वविध्यालयमा प्राध्यापन गरिसकेका छन् ।

नेपालमा अनुसन्धानसँगै समाजसेवी काममा पनि सक्रिय डा. श्रेष्ठ एक छोरा र श्रीमतीसहित सिड्नीको क्याण्टवरी इलाकामा बस्छन् ।

विश्वविद्यालयमा उनको बढुवा भएको सूचना पाएपछि अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘मेरो कामको मूल्याङकन भएर प्राध्यापन र अनुसन्धानमा जिम्मेवारी थपिएको छ । म विश्वविद्यालय, प्राध्यापन र अनुसन्धानमा अझै सक्रिय हुनेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment