२४ भदौ, ओखलढुंगा । ओखलढुंगामा भ्रष्टाचारविरुद्धको नागरिक अभियान ‘म घुस खान्नँ, दिन्नँ, सहन्नँ’मा सहभागी हुँदै जनप्रतिनिधि र प्रशासकहरुले घुस नखाने र खान नदिने प्रतिबद्धता जनाएका छन् । नागरिक समाज ओखलढुंगाको तर्फबाट गैरसरकारी संस्था महासंघ र मानववादी समाज सोच नेपालले संयोजन गरेको हस्ताक्षर संकलन अभियानमा बोल्दै उनीहरुले घुख नखाने र खाएको पाइएमा कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।
अभियानमा हस्ताक्षर गर्दै सिद्धिचरण नगरपालिकाका उपप्रमुख इच्छाकुमारी गुरुङले भ्रष्टाचार न्यूनीकरण अभियानमा आफू प्रतिबद्ध रहेको बताइन् ।
ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले घुस खाने, दिने र सहयोग गर्ने सबै दोषी भएकाले अभियान चलाइएको बताए । पन्तले मन्त्रीको आदेश आए पनि गैर कानुनी काम नगर्ने प्रतिबद्धता जनाए । उनले गैससका काम पारदर्शी नभएको गुनासा आउने गरेको भन्दै पारदर्शी र उद्देश्यमुखी भएर काम गर्न आग्रह गरे ।
गैसस महासंघका अध्यक्ष सचना श्रेष्ठले परियोजनाका गतिविधीहरु छाता संगठनमा पेश गर्ने पद्धति शुरु गरे धेरै हदसम्म पारदर्शी हुने बताइन् । जिल्लामा क्रियाशील गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि र प्रशासकहरुले म घुख खान्नँ, दिन्नँ र सहन्नँ भन्ने हस्ताक्षर अभियानमा सहभागी भएका थिए ।
प्रतिक्रिया 4