२५ भदौ, भैरहवा । दशैं-तिहार जतिजति नजिकिदै जान्छ त्यती नै बैजनाथ प्रजापतिलाई व्यस्तताले छोप्दै जान्छ । रातदिन उनी माटोका विभिन्न आकृतिहरुलाई ‘भगवान’ बनाउने काम तल्लिन हुन्छन् ।
माटो, परास, बाँस, किल्ला लगायत अन्य सिंगार साम्रगीबाट उनले बनाएको ‘भगवान’ खरिद गर्न अहिलेदेखि नै ग्राहकहरु आउने गरेको कारण पनि समयमा आपूर्ति दिन सक्ने/नसक्ने बारे उनको चिन्ता बढ्दै गएपछि उनी रातदिन काम गरिरहेका छन् ।
दशैँ-तिहार नजिकिदै जादाँ रुपन्देहीको सदरमुकाम भैरहवा लगायत बनगाई, बेथरी, मर्चवार लगायत स्थानमा भगवानको मूर्ति बनाउनेहरु व्यस्त हुने गरेका छन् ।
रामदेव मूर्ति कला केन्द्रका सन्चालक रुपन्देहीको कोटहीमाई गाउँपालिका ८ पर्साहवा वैजनाथ प्रजापतिले आफ्नो पुर्खाको पेसालाई जोगाउँदै कामलाई निरन्तरता दिएको बताउँछन् । यो पेसा उनको चौथो पुस्ताको हो । आपतकालिन अवस्थामा एउटा भगवानको मूर्ति बनाउनका लागि २४ घण्टा लाग्ने गरेको उनी बताउँछन् ।
घरपरिवारबाट टाढा वैदेशिक रोजगारमा गएर रकम कमाउनु भन्दा आफ्नै परिवारसगँ बसेर नुन रोटी खानुको मज्जा बेग्लै रहेको कारण उनी स्वदेशमै काम गर्न रुचाउने गरेको बताउँछन् ।
उनी भन्छन्,’घरपरिवार टाढा बसेर खाडी मुलुकमा गएर २०/२५ हजार रुपैयाँ कमाउनु भन्दा यही स्वदेशमै बसेर आनन्दले आफ्नो परिवारको जिवनकोपार्जन चलाउन सकिन्छ भने किन विदेश जानु ?’
उनले भगवानको मूर्ति बनाएरै आनन्दले आफ्नो ८ जनाको परिवार राम्रैसँग चलाएको भन्दै प्रश्न गरे,’यती भए पुगेको छ मलाई किन विदेश जानु ?’
उनले आफ्नो पूर्खाको पेसा भएको कारण आफू सानै उमेरदेखि यो पेसामा लागेको बताए । उनले यही पेसाले आफ्नो परिवार चलाउनुका साथै उनले आफ्नो कलाकेन्द्रमा ४ जना कलाकारलाई पनि रोजगारी दिएका छन् ।
उनले स्वदेशमै भारतभन्दा न्युन मूल्यमा मूर्ति पाइने गरेपनि भारतबाट मंहगो मूल्यमा मूर्तिहरु आयत हुँदाँ दुःख व्यक्त गरे ।
उनले भारतबाट मूर्तिहरु आयात गर्दा कुनै किसिमको चेकजाँच नहुँदा मूर्तिहरुका साथै अवैधानिक रुपमा हजारौ रुपैयाँ राजश्व दस्तुर लाग्ने विभिन्न साम्रगीहरु पनि ल्याइने गरेको कारण अधिकांशले भारतबाट मूर्ति आयात गर्ने गरेको बताए ।
राज्यको स्पष्ट कानुनको अभावमा बर्षेनी लाखौँ रुपैयाँको मूर्ति खरिदको नाममा भारत बिदेशिएको देख्दा उनी चित्त दुखाउँछन ।
उनको आफ्नो कलाकेन्द्र १० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्मको भगवानका मूर्तिहरु बनाइने गरेको बताए ।
त्यस्तै कलाकेन्द्रमा कार्यरत रुपन्देही कोटहीमाई गाउँपालिका ७ कटैया ७६ वर्षीय अर्का कलाकार ढुनमुन यादवले पनि मुर्ति बनाएरै आफ्नो १९ जनाको परिवारको गुजारा चलाएको बताउँछन् ।
२० वर्षदेखि यही पेसामा संग्लन यादवले विदेश भन्दा स्वदेशमै राम्रै कमाई हुने हुदाँ युवापुस्ताहरुलाई स्वदेश काम गर्न सुझाव दिन्छन् ।
प्रतिक्रिया 4