Comments Add Comment

राजविराज नगरपालिकाः यादव भर्सेस पच्पनियाँ !

मेयरका अधिकांश उम्मेदवार 'तिहुन चखुवा'

२६ भदौ, सप्तरी । मधेस आन्दोलनको उदगमस्थल सप्तरी जिल्लाको हरेक चुनावमा एउटा चर्चा व्यापक रुपमा हुने गर्छ- यादव भर्सेस पच्पनियाँ समुदाय ।

यादव एउटै जातीय समूह हो भने पच्पनियाँ चाहिँ अन्य जातिहरुको समूह हो । यसपटकको निर्वाचनमा पनि राजविराजमा यो चर्चा शुरु भइसकेको छ ।

जिल्ला सदरमुकाम राजविराजमा पच्पनियाँ समूहका उम्मेदवारहरुमा कांग्रेसका ध्रुव देव, लोकतान्त्रिक फोरमका शैलेश चौधरी र नेकपा माओवादी केन्द्रका अनिस अन्सारी छन् ।

यादव समुदायबाट तीनजना उम्मेदवार छन् । सुखराम यादव एमालेबाट उठेका छन् भने भीमराज यादव संघीय फोरमबाट र शम्भु यादव राजपाबाट राजविराजको मेयरमा चुनाव लड्दैछन् ।

पच्पनियाँ र यादव दुबै समुदायभित्र पार्टीका आफ्ना संगठित मतदाताहरु छन् ।

अधिकांश उम्मेदवारहरु ‘तिहुन चखुवा’

एउटा दलबाट स्वार्थ पूरा भएन भनेर अर्कोतिर लाग्ने संस्कारलाई नेपाली समाजमा ‘तिहुन चखुवा प्रवृत्ति’ भन्ने गरिन्छ । राजविराज नगरपालिकाको सन्दर्भमा हेर्ने हो भने मेयरका प्रायः सबै उम्मेदवारहरु हरुको चरित्र त्यस्तैखालको देखिएको छ ।

सप्तरीको सदरमुकामसमेत रहेको मधेस आन्दोलनको उद्गमस्थल राजविराजलाई हेर्ने हो भने मेयर पदमा उम्मेदवारी दिएकाहरु राजनीतिमा दल बदल गर्न माहिर देखिएका छन् । कतिपय भने व्यापार व्यवसाय छाडेर राजनीतिमा आएका छन् ।

एमालेको टिकट पाएका सुखराम यादव यसअघि सहकारी चलाउने र राष्ट्रिय बाणिज्य बैंकमा काम गरिसकेका व्यक्ति हुन् । राजनीतिमा कम सक्रिय उनले फोरम नेपालले टिकट नदिँदा एमालेको बाटो रोजेका हुन् ।

कांग्रेसबाट टिकट पाएका ध्रुव देव गैरसरकारी संस्थामा यसअघि सकृय भएका व्यक्ति हुन् । उनी अहिले गैरसरकारी संस्था महासंघका केन्द्रीय उपाध्यक्ष समेत छन् ।

फोरम नेपालबाट टिकट पाउने भीमराज यादव निर्माण व्यवसायी एवं बस व्यवसायी हुन् । उनी पनि नवप्रवेशी नै हुन् । तत्कालीन सद्भावना पार्टीमा रहेका उनी टिकटको छाँटकाँट नदेखेपछि फोरम नेपालमा प्रवेश गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका उम्मेदवारको अवस्थालाई हेर्ने हो भने उनी चुनावपिच्छे पार्टी परिवर्तन गर्दै आएका व्यक्ति हुन् । राजनीतिक पृष्ठभूमिका अनिस अन्सारीले अहिले राजविराजको मेयरका लागि माओवादीबाट टिकट पाएका छन् । उनी केही हप्ताअघि मात्रै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

अनिसले पहिलो संविधानसभाको निर्वाचनमा तराई मधेश लोकतान्त्रिक पार्टी र दोस्रोमा सदभावनाबाट सांसदमा चुनाव लडेका थिए । उनी सद्भावनाका संस्थापक नेता हुन् ।

राजपाबाट टिकट पाएका शम्भु यादव पनि राजनीतिका नयाँ अनुहार नै हुन् । ठेक्कापट्टाको काम गर्दै आएका उनलाई राजपाले मेयरको टिकट दिएको छ ।

नेपाल लोकतान्त्रिक फोरमबाट चुनाव लडेका शैलेश चौधरी यसअघि राजविराज नगरपालिकाको मेयर बनिसकेका व्यक्ति हुन् । ०४९ सालको स्थानीय निकाय निर्वाचनमा सद्भावना पार्टीबाट राजविराजको मेयर बनेका उनी यसपटक लोकतान्त्रिक फोरमको उम्मेदवार बनेका छन् ।
नयाँ भौगोलिक संरचना

राजविराज नगरपालिका नयाँ संरचनामा विस्तारित भएका कारण यहाँको चुनावमा कसले बाजी मार्ला भनेर यकिन गर्न सकिने अवस्था छैन । शुरुमा १० वटा वडा मात्रै रहेको राजविराज नगरपालिकामा अहिले १६ वटा वडा छन् ।

दूरदराजका गाउँलाई समेत यस नगरपालिकामा मिसाइएको छ । राजविराजबाट करिब १३ किलोमिटर टाढा रहेको कोइलाडी मधेशपुरा र ८ किलोमिटर दक्षिणको बिषहरिया गाविसलाई समेत यस नगरपाकिलामा मिलाइएको छ ।

भौगोलिक दृष्टिले हेर्दा पनि राजविराज नगरपालिकाको मेयर बन्न त्यत्ति सहज देखिँदैन । राजविराज नगरपालिकामा थपिएका नयाँ गाविसहरु विगतमा भिन्न-भिन्न पार्टीको गढ मानिन्थे । तर, यस पटक कुन पार्टीको गढ कुन हो भन्ने कुराको यकिन समेत हुन नसकिरहेको उम्मेदबार निकटकै व्यक्तिहरु बताउँछन् ।

यो पनि पढ्नुहोस्
सप्तरीका १८ स्थानमा कसले जित्ला ? भन्नै गाह्रो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment