Comments Add Comment

सप्तरीका १८ स्थानमा कसले जित्ला ? भन्नै गाह्रो

यस्तो छ जिल्लाको चुनाबी अवस्था

२६ भदौ, सप्तरी । असोज २ गते हुने स्थानीय तहको निर्वाचन आउन एक साता मात्रै बाँकी रहँदा सप्तरीमा क-कसले जित्लान् भन्नेमा अन्योल देखिएको छ । कुन स्थानीय तहमा कसले बाजी मार्ला भन्ने कुराको निर्क्योल हालसम्म कसैले गर्न सकेको छैन ।

सप्तरी जिल्लामा १८ वटा स्थानीय तह छन् । प्रत्येक स्थानीय तहमा १० देखि १५ जनासम्मले प्रमुख पदमा उम्मेदवारी दिएका छन् ।

नगरपालिका/गाउँपालिकाको मेयर तथा प्रमुख पदमा २१२ जनाले उम्मेदबारी दिएका छन् । उपमेयर तथा उपप्रमुख पदमा १६६ जनाको उम्मेदवारी परेको छ ।

प्रत्येक स्थानीय तहमा ३ देखि चार जनासम्मको प्रतिस्पर्धा हुने देखिन्छ । विगतका अवस्थाहरुलाई नियाल्ने हो भने जिल्लामा मधेसवादी दलहरुको दबदबा रहेको छ । यद्यपि दोस्रो संविधानसभाको निर्वाचनमा कुनै पनि मधेसवादी दलले जित्न सकेका थिएनन् ।

पहिलो संविधानसभाको निर्वाचनमा जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा मधेसी दलहरुले नै विजयी प्राप्त गरेका थिए ।

तर, दोस्रो संविधानसभा निर्वाचनमा कुनै क्षेत्र जित्न नसकेका मधेसवादी दलहरु त्यसपछि बारम्बार आन्दोलनमै होमिएका छन् । दोस्रो संविधानसभा निर्वाचन लगत्तै सप्तरी जिल्ला मधेस आन्दोलनको प्रमुख केन्द्रबिन्दु रहँदै आएको छ ।

संविधान निर्माण हुने क्रममा पनि सप्तरी जिल्लामा आन्दोलन चर्किएको थियो । १ भदौ ०७२ मा सप्तरीकै भारदहमा प्रहरीको गोली लागेर राजीव राउतको ज्यान गएपछि समग्र मधेसका जिल्लामा आन्दोलनले तिब्रता लिएको थियो । ०७२ सालको आन्दोलनमा सप्तरीमा ६ जनाको ज्यान गएको थियो । यो आन्दोलन २३ फागुन ०७३ सम्म चल्दा थप पाँच जनाले ज्यान गुमाइसकेका छन् ।

सोही साल २३ फागुनमा एमालेको मेची-महाकाली अभियानका क्रममा तत्कालीन मधेसी मोर्चाले आन्दोलन थाल्दा प्रहरीले चलाएको गोली लागी मलेठमा ६ जनाको ज्यान गयो भने कैयौं घाइते भए ।

पहिलाको आन्दोलन होस् या मलेठमा ५ जनाको ज्यान गएको अवस्था होस्, नेपाल लोकतान्त्रिक फोरम बाहेकका सम्पूर्ण मधेसी दलहरु एक ठाउँमा थिए, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नाममा ।

तर, अहिले चुनावमा यो अवस्था फेरिएको छ । ६ वटा साना दल मिलेर राजपा, संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरम छुट्टाछुट्टै निर्वाचनमा होमिएका छन् ।

तीनवटै मधेसवादी दलहरुले स्थानीय तहको निर्वाचनमा जित्ने दावी गरिरहेका छन् । तर, दोस्रो संविधानसभाको निर्वाचनलाई नियाल्ने हो भने छुट्टाछुट्टै निर्वाचनमा जाँदा जिल्लामा कुनै पनि दलले जित्न नसकेको इतिहास ताजै छ ।

यसर्थ सप्तरीमा मधेसवादी दलहरुको पल्ला विगतको दृष्टान्तसँग जोड्ने हो भने कमजोर नरहला भन्न सकिन्न ।

यद्यपि विभिन्न गाविसलाई जोडेर नयाँ स्थानीय तहहरु निर्माण गरिएकाले कसले जित्ला भन्ने अवस्था तत्कालै बताउन गाह्रो छ ।

जातीय आधार

सप्तरीमा विगतमा भएको चुनावलाई हेर्ने हो भने जातीय भोटले पनि राम्रो काम गरेको देखिएको छ । दोस्रो संविधानसभाको परिणामले जातीय भोट मजवुत भएको देखियो । जहाँ जुन उम्मेदवारको जातीय बसोबास बढी देखिन्छ, त्यहाँ सोही समुदायका उम्मेदवारले चुनाव जितेका थिए ।

राजविराज नगरपालिकामा यसपटक जातीय भोटलाई विश्लेषण गर्ने हो भने यादव समुदायको मत बढी छ । तर, यादव समुदायबाट तीनजना उम्मेदबार छन् । सुखराम यादव (एमाले), भीमराज यादव (संघीय फोरम) र शम्भु यादव (राजपा) चुनाव लडेका छन् ।

यदि जातीय आधारलाई नै मान्ने हो भने भोट तीन ठाउँमा बाँडिन सक्छ । यसबाहेक संगठित भोटले काम गर्न सक्छ ।

राजविराजबाहेक सप्तरीका अन्य १७ वटा स्थानीय तहमा कसले चुनाव जित्छ भनेर बताउन गाह्रो छ । दलहरु आफूले नै जित्ने दावी गरिरहँदा पनि जित्ने अनुहारको आंकलन कुनै पनि स्थानीय तहमा गर्न सकिएको छैन् ।

जिल्लाको पूर्व-पश्चिम राजमार्ग छेउका स्थानीय तहमा प्रमुख दलबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । जिल्लाको उत्तरी भेग सप्तकोशी नगरपालिका, कञ्चनरुप, सुरुङ्गा, खड्ग नगरपालिका, कृष्णासावरण गाउँपालिकामा प्रमुख दलबीच नै प्रतिस्पर्धा हुने मोटामोटी देखिन्छ ।

जिल्लाको दक्षिणतिरका स्थानीय तहहरुमा छ्यासमिस परिणाम आउने अडकलबाजी गरिँदै आएको छ ।

यो पनि पढ्नुहोस्

सप्तरीका १८ स्थानमा कसले जित्ला ? भन्नै गाह्रो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment