Comments Add Comment

बजार वृद्धिको अस्त्र बन्यो फोरमको विज्ञप्ति, ३ अंकको विन्दुमा नेप्से सिमित


२६ भदौं, काठमाडौं । लगातार घटेको बजार सोमवार कारोबार अवधिमा १९ अंकसम्म बढ्यो ।

कारोबार सुरु भएको केही समयमै ८ अंकले घटेर १५११ मा आइपुगेको नेप्से नेपाल इन्भेष्टर्स फोरमको प्रेश विज्ञप्तिसँगै दोहोरो अंकले बढ्न थाल्यो । १५३० सम्म पुगेको नेप्सेले त्यसपछि भने सो वृद्धि टिकाइ राख्न सकेन । बजार बन्द हुँदा नेप्से परिसूचकको वृद्धि ३.६० अंकमा सिमित भयो ।

बजारमा लगानीकर्ताहरु विवेकपूर्ण (र्यासनल) प्रवृत्तिमा लगानी गरिरहेका छैनन् भन्ने यसले संकेत गर्छ । बजारको वृद्धिको लागि लगानीकर्ता व्यग्र रहेको अर्थमा पनि यसलाई हेर्न सकिने बजार सरोकारवालाहरु बताउछन् ।

‘एकै दिन बजारमा भएको यस्तो ‘स्वीङ’ ले लगानीकर्ताहरुले विवेकपूर्ण तरिकाले लगानी गरिरहेका छैन् र तीव्र आवेगमा देखिएका छन् भन्ने हो,’ एक विश्लेषकले भने ।

केही दिनयता लगातार दोहोरो अंकले घटेको बजारमा सोमवार बढ्ने प्रवृत्ति देखिने वित्तीकै सेयर बिक्रीको चाप बढेको थियो । दशैं अगाडी खर्च जुटाउने चलन पनि रहेकोले लगानीकर्ताहरु बजार बढ्ने वित्तीकै सेयर बिक्री गर्न हत्तारिएका हुन् ।

अन्तरदिनको कारोबारमा बजार घटिरहदा केही चलाख लगानीकर्ताले ‘अन्य’ समूहको नेपाल टेलिकमको मूल्य बढाएर नेप्सेमा वृद्धि हुने लागेको संकेत फैलाए । अन्य समूहको परिसूचक करिब ९ अंकसम्म बढेको थियो । नेपाल टेलिकमको सेयर मूल्य रु ३ ले बढ्दा नेप्से परिसूचक सामान्य अवस्थामा १ अंकसम्म बढ्ने मानिन्छ । त्यसपछि क्रमिक रुपमा बिमा, वाणिज्य बैंक समूहको परिसूचकमा सुधार देखियो । बजार बन्द हुँदा भने ‘अन्य’ र बैंकिङ समूहको परिसूचक घटेको छ ।

यस दिन कारोबार रकममा भने केही कमि देखिएको छ । यस दिन १ सय ६० कम्पनीको सेयर किनबेच भएर ८४ करोडको कारोबार भएको हो । बजारमा मूल्य बढेर कारोबार हुने कम्पनीको संख्या ९३ रहेको छ । ३० प्रतिशत बोनस सेयर घोषणा गरेको एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतले बढेर ४ सय ७१ पुगेको छ । ५२ कम्पनीको भने मूल्य घटेर सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment