Comments Add Comment

राजपाका ‘विद्रोही’ उम्मेदवारको दाबीः मधेसको सुपरस्टार हुँ, गीतले नै भोट तान्छु


२७ भदौ, काठमाडौं । दाँत र मुखका विशेषज्ञ डाक्टर हुन् आभास लाभ । तर, उनको परिचय यतिमै सकिँदैन । राजनीति र संगीतमा पनि मधेसका चर्चित नाम हुन् उनी ।

राष्ट्रिय जनता पार्टीका नेता आभासले स्थानीय चुनावमा पार्टीबाट जनकपुर उपमहानगरपालिकाको टिकट पाउने ठूलो आशा राखेका थिए । तर, उनको आशामा तुषारापत भएको छ । पार्टीले अर्कैलाई टिकट दियो ।

तर, आभास रोकिएनन् । उनले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् र आफ्नो जितमा ढुक्क छन् ।

‘वागी उम्मेदवार नै हुनु परेपछि मेयरमा नलडेर किन उपमेयरमा लड्नुभयो ?’ उनलाई सोधियो ।

उनले तर्क गरे, ‘मेयरमा हाम्रो पार्टीका उम्मेदवार बलियै छन् । तर मेयर र उपमेयर मध्ये एक महिला हुनु पर्ने अपरिहार्यताले सबै पार्टी कमजोर उम्मेदवार उठाए । मैले ठानेँ, उपमेयरमा एक जना उम्मेदवार त गतिलो हुनुपर्छ । त्यसैले यो निर्णय लिएँ ।’

१० वर्षमै राजनीतिमा

आफू १० वर्षको हुँदादेखि राजनीतिमा लागेको आभास बताउँछन् । त्यतिबेला उनका काका विष्णुबहादुर मानन्धरको पार्टी नेकपा संयुक्तका केन्द्रिय सदस्य थिए । पार्टीको भातृ संगठन नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसनको शाखा स्कुल–स्कुलमा खोलिएका थिए । काकाले नै आभासलाई उनी पढ्ने स्कुलमा सो फेडरेसनको ईकाई सदस्य बनाएर राजनीतिरुपी दहमा होमिदिए ।

तर, एसएलसीपछि उनको राजनीतिक आस्था बदलियो । उनी फेडरेसन छोडेर कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघमा लागे । जनकपुरको रारा बहुमुखी क्याम्पसमा आइएस्सी पढ्दै गर्दा उनले सर्वाधिक मत ल्याएर स्ववियू सदस्यमा जितेँ ।

कम्युनिष्ट राजनीति छाडेर कांग्रेस राजनीतिमा प्रवेश गर्नुको कारणबारे उनी भन्छन्, ‘म बाल्यकालमै राजनीतिमा लागेको हुँ । त्यतिबेला मलाई राइट र लेफ्ट खासै थाहा थिएन । अली बुझ्ने भएपछि मलाई लाग्नथाल्यो कि मेरो चरित्रसँग लेफ्ट पोलिटिक्स मेल खाँदैन । तर, म प्रजातान्त्रिक विचारधारामा विश्वास गर्ने मान्छे भएकाले कांग्रेस नै मलाई सुहाँउदो पार्टी भएको ठहर गरेँ ।’

२०४६ सालको आन्दोलनमा उनी प्रत्यक्ष सहभागी थिए । त्यतिबेला आफू धनुषा प्रहरीको सर्वाधिक खोजीमा रहेको उनको भनाइ छ । ‘मेरो भाइलाई प्रहरीले समातेर चरम यातना दियो, तर मलाई भेट्टाउन सकेन,’ आभासले भने ।

रामवरणको सोर्समा छात्रवृत्ति

प्रजातन्त्र आएलगत्तै २०४७ सालमा उनी छात्रवृत्तिमा एमबीबीएस पढ्न मुम्बई गए । आफूलाई सो छात्रवृत्ति मिलाउन तत्कालिन नेपाली कांग्रेसका नेता तथा भूतपुर्व राष्ट्रपति डा. रामवरण यादवले सोर्स लगाइदिएको आभास बताउँछन् ।

त्यसपछि थप कोर्सका लागि ५१ सालमा दरभंगा आए । यसरी डाक्टरीको अगाडिको कोर्स गरेँ । २०५८ सालमा उनी नेपाल फर्किए र चिकित्सकीय पेशा सुरु गरे ।

डाक्टरी पेशा सँगसँगै आफ्नो राजनीतिक सक्रियता पनि बढाए । ६२÷६३ को आन्दोलन र त्यसपछिको मधेस आन्दोलनमा उनी प्रत्यक्षरुपमा सहभागी भए ।

मधेस आन्दोलनपछि उनले कांग्रेसलाई बाई बाई गरे । र, केही समयसम्म रिजर्भ बसे । कांग्रेस छोड्नुको कारण रहेछन् शरदसिंह भण्डारी । ‘एउटा गैरमधेसी नेताले मधेसीमाथि विभेद छ भन्दै कांग्रेस छोडेपछि म पनि सोच्न बाध्य भएँ,’ उनले भने ।

त्यतिबेला मधेसी जनअधिकार फोरमको जगजगी थियो । तर, आभास सो पार्टीमा आकर्षित भएनन् ।

‘त्यतिबेला फोरम अतिवादी राजनीति गरिरहेको थियो,’ उनले भने, ‘तर, म एउटा मध्यमार्गी पार्टीको खोजीमा थिएँ ।’

जब शरदसिंह भण्डारीले विजय गच्छेदारसँगको सहकार्य तोडेर राष्ट्रिय मधेस समाजवादी पार्टी गठन गरे, आभासलाई लाग्यो, ‘मैले खोजेको मध्यमार्गी पार्टी यही हुनसक्छ । पहाडी मूलका नेताको मधेसी पार्टी ।’ ‘मलाई अतिवादीसँग नफरत छ,’ आभास भन्छन्, ‘राजेन्द्र महतोजस्तो अतिवादले देशको भलो गर्दैन ।’

यद्यपि मधेसी पार्टीहरुको एकतापछि उनी पनि राजेन्द्र महतोकै पार्टीमा आइपुगेका छन् ।

‘म मधेसको सुपरस्टार’

आभास मधेसका लोकप्रिय गायक पनि हुन् । जुनसुकै कार्यक्रममा भाषण गर्दा पनि दर्शकहरुले एउटा गीत गाउन बाध्य पार्छन् । उनका ३६ वटा एल्बम आइसकेका छन् ।

मधेस आन्दोलनका क्रममा उनका प्यारोडी गीतहरु चर्चित बनेका थिए । ‘म मिथिलाञ्चलको सुपरस्टार हुँ,’ उनी भन्छन् ।

फोस्रो भाषणबाट भन्दा गीतबाट जनताको मन जित्न सजिलो हुने उनको अनुभव छ । आभास भन्छन्, ‘सामाजिक मुद्दाहरुको उठानका लागि संगीत शशक्त माध्यम हो । संगीतले दिमागको बाटो छोडेर मुटुको बाटो समात्छ । बोलेर भनिएको कुरा मानिसको मस्तिष्कमा प्रवेश गर्छ तर गाएर भनिएको कुरा सिधै हृदयमा प्रवेश गर्छ ।’

चुनाव प्रचारका क्रममा उनले आफ्नो गायन कलाको भरपुर उपयोग गरिरहेका छन् । ‘जस्तो कार्यक्रममा जाँदा पनि एउटा गीत नगाई सुख्खै हुँदैन,’ उनले भने ।

चुनाव जित्ने आधार

आभासले आफ्नो जितको प्रमुख आधारका रुपमा अन्य पार्टीका ‘कमजोर’ उम्मेदवारलाई लिएका छन् । सबै पार्टीहरुले मेयरमा पुरुष उम्मेदवार उठाएको हुनाले उपमेयरमा महिलालाई उठाएका छन् । आभासको भनाइमा वाध्यात्मक कारणले उठाइएका महिला उम्मेदवारहरु कोही पनि गतिला छैनन् ।

‘उपमेयरमा म जत्तिको उम्मेदवार अर्को छैन,’ उनले ठोकुवा गरे, ‘म जस्तो शिक्षित, डाइनामिक व्यक्तिलाई चुनाव जिताउन यहाँका जनता आतुर छन् ।’

यद्यपि, उनलाई एउटा कुरामा सन्देह छ । त्यो के भने छोटो समयावधिका कारण आफ्ना सबै मतदाताकहाँ पुग्न भ्याउँदिन कि भन्ने । ‘चुनाव प्रचारका लागि ठूला पार्टीका उम्मेदवार जस्तो साधनस्रोत मसँग छैन । तर सबै मतदातालाई मेरा उम्मेदवारी र चुनाव चिन्हबारे मात्रै जानकारी दिन सकेँ भने पनि म चुनाव पक्का जित्छु । नत्र हार्छु ।’

उनी अहिले घरदैलोको सट्टा प्रत्येक वडाहरुमा पुगेर चुनावी सभा आयोजन गर्ने ध्याउन्नमा छन् ।

‘बागी’ उम्मेदवारी दिएको विषयमा पार्टीले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment