छोरी छिल्लिँदा उनलाई मजा आउँछ । घुक्र्याउँदा रमाइलो लाग्छ र फुल्लिँदा आनन्द आउँछ । अनि उनको मातृत्व पग्लिएर आउँछ ।
छोरी समृद्धिको मधुर मुस्कान नै उनका लागि जीवनको असली सुख-समृद्धि हो । छोरीका साना, पुक्क परेका, कोमल हातहरु आफ्ना गालामा सल्बलाउँदा उनलाई वास्तवमै ‘आमा’ हुनुको गर्व बोध हुन्छ ।
मौका मिल्दा, छोरीसँगै खेल्छिन् । कार्टुन हेर्छिन् । सोफामा लडीबुडी गर्छिन् । कथा सुनाउँछिन् । पूजाआजा गर्छिन् । गायत्री मन्त्र सुनाउँछिन् । मम बनाएर ख्वाउँछिन् ।
छोरीसँग बस्दा, खेल्दा, गफ गर्दा घडीका काँटाहरु कति छिटो घुम्छन्, उनलाई पत्तो नै हुँदैन ।
‘आमा, तिमी मलाई घुमाउन नलाने ?’
छोरीको मुखबाट यस्तो वाक्य सुन्न उनी लालायित हुन्छिन् । छोरीले ‘आमा’ भनेर बोलाउँदा उनको अभ्यन्तरसम्म आनन्ददायक कम्पन पैदा हुन्छ, संगीतको झँकारजस्तै ।
अभिनेत्रृ सरिता लामिछानेकी छोरी समृद्धि नौ वर्षकी भइन् । धेरै कुरा बुझ्छिन् । के मुड चल्छ, ‘आमा भाटभाटेनी लैजाउँ न’ भन्छिन् । छोरीलाई निरास बनाउन आमालाई मन लाग्दैन । तर, सर्त राख्छिन्, ‘बेटा, आमासँग पैसा छैन । जे पायो त्यही किन्न नलगाउनु है ।’
छोरी ज्ञानी छिन्, सर्त उल्लघंन गर्दिनन् ।
एकपटक छोरीले सरितालाई भाटभाटेनी पुर्याइन् । छोरीले त्यहाँ सजाएर राखिएका लुगा देखिन्, उनलाई त्यो मनपर्यो । हेरिरहिन् । तर, ‘आमा किनिदेउ’ भन्न सकिनन् । आमाको मन, पग्लिहाल्यो ।
‘बेटा, त्यो लुगा मनपर्यो, किन्छौ ?’ सरिताले भनिन् ।
‘आमा मलाई त्यो चाहिँदैन’ छोरीले आमाको मन दुखाउन चाहिनन्, ‘तिमीसँग पैसा पनि त छैन ।’
अब भने सरितालाई सहिनसक्नु भयो । आफूले ‘पैसा छैन’ भनेको कुरालाई छोरीले यति गम्भीर रुपमा लिन्छिन् भन्ने उनले ठानेकै थिइनन् । आखिरमा त्यो लुगा किनिदिइन् । छोरी फुरुङ्ग ।
आफ्नै काखमा लुटपुटिदै हुर्कीकी छोरी कहिलेकाहीँ वेपत्तासँग रिसाइदिन्छिन् । झगडा गर्छिन् । र, बाबासँग लहसिँदै भन्छिन्, ‘बाबा यो सरिता लामिछानेलाई सम्झाइदिनु त ।’ रिसाएका बेला उनी ‘सरिता लामिछाने’ भनेर सम्बोधन गर्छिन् । खुसी भएका बेला ‘आमा’ भन्दै छातीमा टाँसिन पुग्छिन् ।
गर्भमा हुँदा
समृद्धि गर्भमा हुँदा सरिता आफ्नो करिअरको उत्कर्षमा थिइन् । यो ९ वर्षअघिको कुरा हो । उनी नेपाल टेलिभिजनबाट प्रसारित फिल्मी कार्यक्रम ‘पर्दा’को होस्ट थिइन् । उनको पेट माथि-माथि उक्सिँदै आइरहेको थियो । टीभीमा त्यही पेट लुकाएर दृश्यांकन गर्नुपर्ने । क्लोजअप सट मात्र लिनुपर्ने ।
‘एक हिसाबले त्यो निकै रमाइलो अनुभव थियो’ अभिनेत्री सरिता लामिछानेले सम्भिmइन्, ‘प्रेग्नेन्ट अवधिभर मैले विश्राम लिइनँ । सधै सक्रिय रहें ।’
बच्चालाई जन्मदिनु अघिल्लो दिन पनि सरिता ‘पर्दा’को सेटमा उभिएर नेपाली चलचित्रका पछिल्ला खबर बताइरहेकै थिइन् ।
आमाको मानसिक अवस्थाले गर्भको बच्चालाई प्रभाव पार्छ भन्ने सरितालाई हेक्का थियो । त्यसैले उनले मनलार्इ चिन्तारहित बनाउने कोशीस गरिन् । कहिले स्त्रिmप्टको काम, कहिले छायांकनको काम, कहिले छलफल । मनलाई कर्ममै एकत्रित गरिन् ।
‘शरीरसँगै मन पनि शुद्ध हुनुपर्छ’ उनले भनिन्, ‘गर्भवती महिला जुन मनोदशाबाट गुजि्रन्छन्, त्यसको प्रत्यक्ष प्रभाव गर्भको बच्चामा पर्नेरहेछ । त्यसैले मैले आफूलाई सधैं प्रफुल्ल र सकारात्मक बनाएँ ।’
पति निर्देशक ऋषि लामिछाने बिहानै भजन बजाइदिन्थे । आफ्नो आँखा नखुल्दै घरमा गायत्री मन्त्र गुञ्जिइरहेको पाउँदा सरिताको मनमा सकारात्मक भाव जाग्थ्यो । चित्त प्रशन्न हुन्थ्यो ।
आध्यात्मिक सकारात्मक भावका कारण गर्भवती अवस्थामा उनलाई न कहिल्यै कुनै अज्ञात भयले झस्कायो, न उदासीले सतायो । उनी काममा सधैं व्यस्त र क्रियाशील रहिन् । दिउँसो सुत्ने, आराम गर्ने, पिरो-अमिलो खाने भन्ने नै भएन ।
खाना पनि स्वस्थकरमै जोड दिइन् । गर्भको बच्चाको मानसिक र शारीरिक विकासमा ध्यान दिँदै उनले सादा, पोषिलो र सुपाच्य खानामा जोड दिइन् । जे मनलाग्यो, त्यही खाने बानीलाई नियन्त्रण गरिन् ।
‘गर्भवती हुँदा पिरो, अमिलो नखाई सकिँदैन भन्नेहरु छन्’, सरिताले भनिन्, ‘त्यो त आफूले कन्ट्रोल गर्ने हो । मैले खाँदै खाइनँ । पिरो अमिलोले गर्भको बच्चालाई हानी पुर्याउँछ भन्ने मलाई राम्रोसँग हेक्का थियो ।’
प्रसव अनुभव
एकदिन अचानक बेस्सरी पेट दुख्यो । उल्कैसँग । खपिनसक्नु भयो । सरितालाई तत्काल .अस्पताल पुर्याइयो । प्रसव पीडा-अलिकति सुखद्, अलिकति त्रासद् । केही भइहाल्छ कि भन्ने डर ।
‘उहाँ बाथरुम जाँदै रोएर आउनुहुँदोरहेछ, सरिताले सम्झिइन्, ‘ ऋषिजीले जोडले मेरो हात अठ्याउनुभयो, अनि बेस्सरी रुनुभयो । मैले सहन सकिनँ । उहाँसँगै म पनि भक्कानिएर रोएँ ।’
सरिता-ऋषिले चाहेका थिए, सुनियोजित ढंगले बच्चा पैदा गर्ने । अर्थात, तिथि, पला, घडी सबै मिलाएर । तर, ‘जन्म, मृत्यु, बिहे’ मान्छेको हातमा रहेनछ । सरिताले यही तथ्य बोध गरिन् ।
‘नर्मल डेलिभरी’ हुन सकेन । पेटमा कैंची चलाउनुपर्ने भयो । शल्यक्रियाबाट बच्चा जन्माइयो । अनि उनीहरुको घरमा एउटा नयाँ सदस्यको आगमन भयो ।
‘म यस्ती आमा हुँ, जसले प्रसव वेदना कस्तो हुन्छ भन्ने अनुभूत गर्न पाएँ’ सरिता थोरै भावुक र थोरै रोमाञ्चक भइन्, ‘साथसाथै सिजेरियन डेलिभरीको दुखाई पनि सहें ।’
बाबु-आमा रोएको रात
सुत्केरी भएर घर फर्केकै रात ।
सरितालाई सास फेर्नै गाह्रो भयो । उठेर झ्याल-ढोका खोल्न लगाइन् । फेरि सुतिन् । निन्द्रा लागेन । सास रोकिएजस्तो भयो । उठेर आफैलाई नियालिन् । ज्यान पसिनाले निथ्रुक्क भिजेको थियो । शरीर सुन्निएर हेरिनसक्नु । नवजात शिशु नजिकै मस्त निदाइरहेकी छन् ।
डाक्टरलाई फोन गरियो ।
‘एकछिन पनि ढीला नगरी अस्पताल पुर्याउनु’, डाक्टरले भने ।
सुरुमा जुन अस्पतालमा लगिएको थियो, त्यहाँ उपचार सम्भव नहुने भयो । अनि नर्भिक रिफर गरियो । सरिता नर्भिक अस्पतालको इमर्जेन्सीमा भर्ना भइन् ।
‘डाक्टरहरु एकदमै अत्तालिएका थिए’ सरिताले सम्झिइन्, ‘उनीहरु हडबडाएका थिए ।’
उनले भेउ पाइन्, अवस्था निकै जटिल छ । पति ऋषि लामिछाने अँध्यारो मुख लगाएर टोलाइरहेका ।
‘केस क्रिटिकल छ’, डाक्टरले यति मात्र भने ।
आफ्नो कोखबाट जन्मिएकी बच्चालाई सुम्सुमाउने कति रहर थियो उनलाई । तर, अस्पतालको शैयामा मृत्युसँग पैठोजोरी खेल्नुपरिरहेको थियो । उता छोरीसँग आफूलाई जन्म दिने आमाबुबा छैनन् । कस्तो विवशता ।
मुटुको चाल एकदमै धिमा भएको रहेछ । अनेक तरहले डाक्टरहरु उपचारमा खटिएका थिए । सरिताले के देखिन् भने पति ऋषि पटक-पटक बाथरुम गएर मुख धोएर आइरहेका थिए ।
‘उहाँ बाथरुम जाँदै रोएर आउनुहुँदोरहेछ’ सरिताले भनिन्, ‘सबै थाहा भएर पनि म चुपचाप आफैभित्र आँशु दबाएर बस्न बाध्य थिएँ ।’
छैठीको दिन ।
परम्परागत मान्यता अुनसार विधाताले भाग्य कोर्ने दिन । बावु-आमा एकातिर, छोरी अर्कोतिर । उनीहरुले विवश बच्चालाई सम्भिmए । आँशु थाम्न सकेनन् ।
‘ऋषिजीले जोडले मेरो हात अठ्याउनुभयो’ सरिताले सम्भिmइन्, ‘अनि बेस्सरी रुनुभयो । मैले सहन सकिनँ । उहाँसँगै म पनि भक्कानिएर रोएँ ।’
‘अर्ग्यानिक’ स्नेह
‘मुक्ति’, ‘परिचय’जस्ता टेलिसिरियलका कारण सरिताको चर्चा र लोकपि्रयता चुलिएको थियो । जसै समृद्धिलाई जन्म दिइन्, उनले सबै मोह त्यागिन् । र, पूर्णतः गृहस्थी जीवनमा रमाउन थालिन् । एक वर्ष होइन, चार वर्ष । छोरीकै लागि उनी बाहिरी दुनियाँबाट गुमनाम भइन् ।
उनी छोरीसँगै बसिन्, खेलिन्, रमाइन् । यसरी बच्चासँग एकाकार हुँदा उनलाई अफ्नै वालापन फर्केर आएको अनुभूत भयो । त्यो बालापन, जतिबेला उनी धूलोमा उपि|mन्थिन् । झरीमा रुझ्थिन् । परालको कुन्युमा पसेर लुकामारी खेल्थिन् ।
आफ्नी छोरीको संसार भनेको घरको चार दिवारभित्र । खेल्ने, रमाउने सबै त्यही ।
‘बिचरा अहिलेका बच्चाहरुले हाम्रो पालामाजस्तो मजा लिन पाएनन्’ सरिताले अलि भावुक भएर भनिन्, ‘एउटा कोठामा खुम्चिनुपरेको छ ।’
यद्यपि बच्चालाई उनले कहिल्यै साथीको अभाव हुन दिएकी छैनन् । त्यो रिक्तता उनी स्वयं पूरा गरिदिन्छिन्, साथी बनेर ।
बच्चालाई पनि सरिता-ऋषि दम्पतीले अग्र्यानिक खाना मात्र दिए । जंकफूडबाट टाडै राखे ।
‘एकदमै स्वस्थ्य ढंगले हुर्काएका छौं’, सरिताले गर्व गरिन् ‘हाम्रो बलबुँताले भ्याएसम्म ।’
अग्र्यानिक खान्की खाएर हुर्किएकी छोरी स्वस्थ्य र तन्दुरुस्त छिन् । उनलाई संस्कारी पनि बनाइएको छ । बिहान उठेर पूजापाठ गर्छिन् । गायत्री मन्त्र भट्याउँछिन् । कतिसम्म भने, महामृत्युञ्जय मन्त्र कष्ठस्थ गरेकी छिन् ।
‘म मिन्स भएका बेला उनी धूपवाती बाल्छिन्’ सरिताले भनिन् ।
‘बच्चालाई माया गर्नुपर्छ । र, त्यसको अनुभूति पनि गराउनुपर्छ । तर, दुःख र संघर्ष पनि सिकाउनुपर्छ । श्रमको मूल्य बताउनुपर्छ’, सरिताले भनिन् ।