बलिउडका पुराना अभिनेता ऋषि कपुर पछिल्लो समयमा आफ्ना विवादास्पद अभिव्यक्तिहरुले चर्चामा आउने गर्छन् । अहिले उनले त्यस्तै अभिव्यक्ति दिएका छन् ।
आफ्नो छोरा रणवीर कपुरलाई लिएर फ्लप फिल्म बनाउने दुई प्रख्यात निर्देशकलाई उनले ‘बाँदरु को संज्ञा दिए । अभिनेत्री नेहा धुपियाको टेलिभिजन शो ‘नो फिल्टर नेहा’ मा आएर उनले यस्तो बोलेका हुन् ।
कार्यक्रममा रणवीरको करिअरको विषयमा चर्चा चलेको थियो । त्यही क्रममा उनका पछिल्ला दुई फिल्म बम्बे भेल्भेट र जग्गा जासुस फ्लप भएको प्रसंग निस्कियो ।
ऋषिले भने, ‘अनुराग कश्यपले ग्यांग अफ बसेपुर जस्तो सुन्दर फिल्म बनाएका थिए । उनैले निर्देशन गरेको बम्बे भेल्भेटलाई लिएर म निकै उत्साहित थिएँ । तर, फिल्म हेरेपछि म निराश भएँ । मैले यसको कथा नै बुझिनँ ।’
त्यसपछि उनले थपे, ‘अनुराग बसुले वर्फी जस्तो शानदार फिल्म बनाएका थिए । यो फिल्मले रणवीरको करिअरलाई नयाँ पहिचान दियो । तर, उनै निर्देशकले बनाएको फिल्म जग्गा जासुस एकदम बकवास र फोहोरी थियो ।’
दुवै निर्देशकप्रति क्षोभ व्यक्त गर्दै ऋषिले भने, ‘मेरो विचारमा दुवै निर्देशक आफ्नो फिल्ममा बढि नै घुसेका थिए । उनीहरुले सिमित बजेटमा राम्रो फिल्म बनाउन सक्थे । तर, जब उनीहरुलाई ठूलो बजेट दिइयो, त्यो बाँदरको हातमा नरिवल जस्तै भयो । उनीहरुले ठूलो बजेट सम्हाल्नै सकेनन् ।’
ऋषिले यसअघि पनि जग्गा जासुस फ्लप भएकोमा अनुराग बसुको उछितो काडेका थिए । अनुरागले फिल्म रिलिज हुनुअघि कसैसँग सल्लाह नलिएको ऋषिको आरोप छ ।
‘यस्तो लाग्छ कि उनी फिल्म होइन, न्यूक्लियर बम बनाइरहेका छन्,’ उनले भनेका थिए ।
केही समयअगाडि रिलिज भएको फिल्म जग्गा जासूस बक्स अफिसमा धुलो भएको थियो । यस फिल्ममा रणवीर कपुर निर्माताको रुपमा जोडिएका थिए ।
प्रतिक्रिया 4