Comments Add Comment

घुन्सा हेलिकप्टर दुर्घटनाको ११ वर्ष पूरा, संरक्षण दिवस मनाइँदै

दुर्घटनामा मृत्यु भएका डा. हर्क गुरूङ

७ असोज, ताप्लेजुङ । तत्कालीन वन तथा भू–संरक्षण मन्त्री गोपाल राई सहित २४ जनाको ज्यान जाने गरी ताप्लेजुङको घुन्सामा श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटना भएको आज एघार वर्ष पूरा भएको छ ।

२०६३ साल असोज ७ गते आजकै दिन ताप्लेजुङको घुन्सामा कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनाको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने क्रममा बाक्लो हुस्सुका कारण घुन्साको फले भिरमा हेलिकप्टर ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा तत्कालीन वन तथा भूसंरक्षण राज्य मन्त्री गोपाल राई, राईकी श्रीमती मीना राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा. दामोदर प्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. चन्द्र प्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजय कुमार श्रेष्ठ, ताप्लेजुङका दावा शेर्पा, दुई सञ्चारकर्मी लगायत संरक्षण क्षेत्रमा समर्पित स्वदेशी तथा विदेशी गरी २४ जनाको निधन भएको थियो ।

घटनास्थल ताप्लेजुङ सदरमुकामदेखि अढाइ दिनको पैदल दुरीमा पर्छ ।

सरकारले घटना लगत्तै पुनरावेदन अदालत पाटनका तात्कालिन मुख्य न्यायाधीश जनकेशरीराज पण्डितको संयोजकत्वमा घटनाबारे अध्ययन गर्न गठित कार्यदलले प्राकृतिक अवस्थाकै कारण दुर्घटना भएको प्रतिवेदन बाहिर ल्याए पनि स्थानीय बासिन्दा र सरकोरवाला अन्य पक्ष भने गहिरो अध्ययन नभएको बताउने गरेका छन् ।

राष्ट्रिय संरक्षण दिवस मनाइँदै

यसैबीच हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुको योगदानको स्मरण गर्दै आज राष्ट्रिय संरक्षण दिवस मनाइँदै छ । वि.सं. २०६३ असोज ७ गते भएको घुन्सा दुर्घटनामा निधन भएकाहरूको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ । दिवसको अवसरमा ताप्लेजुङमा वातावरण संरक्षण तथा विकास मञ्चको आयोजनामा बृक्षरोपण र अन्तरक्रिया कार्यक्रम आयोजना गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment