Comments Add Comment

सिरहामा माओवादी बन्यो पहिलो दल

राजकिशोरकै जिल्लामा राजपा पत्तासाफ,कांग्रेस चौथोमा पुग्यो

८ असोज,लहान । सिरहा जिल्लाका १७ वटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । आइतबार विहान सिरहा नगरपालिकाको मेयरमा फोरम र उपमेयरमा एमालेले जितेसँगै सिरहाका सबै स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

अन्तिम परिणामले सिरहा जिल्लाको सबैभन्दा ठूलो दल माओवादी केन्द्र बनेको छ । अध्यक्ष प्रचण्डले चुनाव जितेको क्षेत्रसहित जिल्लाका १७ मध्ये ६ स्थानीय तह जितेर माओवादी पहिलो दल बनेको हो ।

प्रचण्ड सिरहा छाडेर चितवनमा उठ्ने चर्चा चलिरहेको बेला सिरहामा माओवादी बलियो बनेको छ ।

माओवादीले कर्जन्हा,गोलबजार,मिर्चैया र धनगढीमाई नगरपालिका जित हासिल गरेको छ । त्यस्तै अर्नमा र औरही गाउँपालिकामा पनि माओवादी जितेको छ ।

जिल्लाको दोस्रो ठूलो दल संघीय समाजवादी फोरम बनेको छ । फोरमले जिल्ला सदरमुकाम सिरहाको मेयर सहित ५ स्थानीय तह जितेको छ । फोरमले बरियारपटी,लक्ष्मीपुर पतारी,बिष्णुपुर र भगवानपुर गाउँपालिका समेत जितेको छ ।

देशकै ठूलो लहान नगरपालिका सहित ४ स्थानीय तहमा मेयर उपमेयर दुवै र सिरहा नगरपालिकामा उपमेयर जितेर एमाले तेस्रो बनेको छ । एमालेले लहान र सुखीपुर नगरपालिका तथा नरहा र सखुवानान्चारकट्टी गाउँपालिका जितेको छ ।

कांग्रेस कोषाध्यक्ष सीतादेवी यादव,पूर्व कोषाध्यक्ष चित्रलेखा यादव,प्रभावशाली नेताहरु प्रदीप गिरी,पद्मनारायण चौधरी जस्ता प्रभावशाली नेता भए पनि सिरहामा कांग्रेस कमजोर देखिएको छ ।

कांग्रेसले कल्याणपुर नगरपालिका र नवराजपुर गाउँपालिका जितेको छ । सीतादेवी यादवका छोरा डा.शुभास यादव सिरहा नगरपालिकाको मेयरमा तेस्रो स्थानमा रहेर पराजित भएका छन् ।

राजपा अध्यक्ष मण्डलका अध्यक्ष राजकिशोर यादवले जिल्लामा आफ्नो कुनै प्रभाव देखाउन सकेनन् । सिरहा जिल्ला राजपामुक्त भएको छ । राजकिशोरकै गाउँपालिका कल्याणपुरमा कांग्रेसले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment