+
+
Shares
बैंक तथा वित्तीय संस्था :

दशैं ‘अफर’ छैन, चाडबाडपछि रकम तान्ने होडबाजी

वित्तीय संस्थाहरुको अवस्था अनुकुल भएकाले 'अफर' पाएनन् ग्राहकले

विजयराज खनाल विजयराज खनाल
२०७४ असोज १० गते २०:४९

१० असोज, काठमाडौं । तीन वर्ष अघिसम्म अवस्था अर्कै थियो, बैंकहरुले ग्राहक आकषिर्त् गर्न दशैंमा अनेकखाले ‘अफर’ ल्याउँथे । त्यसयता भने दशैंकै लागि निक्षेप र कर्जाका योजनाहरु ल्याउन छाडेका छन् ।

‘अहिले राष्ट्र बैंकले अनुत्पादक परिभाषित गरेका अटो, घरजग्गाजस्ता कर्जामा कम लगानी गर्न निर्देशन दिइरहेको छ, त्यसैले पनि मुख्य किसिमका यी कर्जाका योजना दशैं अफरका रुपमा समेट्न बैंकहरु कम इच्छुक देखिएका हुन्,’ नेपाल बैंकर्स संघका अध्यक्ष तथा मेगा बैंकका सीईओ अनिल शाह भन्छन् ।

करिब आठ महिना बैंक तथा वित्तीय संस्थाले तरलता अभाव खेप्नुपरेको थियो । त्यसबाट पार पाउन मुद्दति निक्षेपको व्याजदर बढाउँदै बैंकिङ च्यानलमा रकम बढाउने प्रयास गरे । पर्याप्त तरलताको उपलब्धताका कारण गत असार अन्तिम सातादेखि निक्षेपको व्याजदर धमाधम घटाइरहेका छन् ।

केहीले भने दशैंको अवसरमा निक्षेपमा अफर ल्याएका छन् । तर, त्यस्ता योजना पनि तरलतासँग सम्बन्धित देखिन्छन् ।

पर्याप्त पूँजी हुँदा बैंकहरुको बढी जोड कर्जामा हुने गरेको छ । पूँजी कम हुँदा भने निक्षेपमा केन्दि्रत योजना आउने गरेका छन् ।

दशैंमा बजारमा पुग्ने रकम पुनः बैंकिङ प्रणालीमा भित्र्याउने प्रयास यसअघि पनि गर्थे, बैंकहरुले । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार हरेक दशैंमा बैंकिङ प्रणालीबाट १० देखि २० अर्ब रुपैयाँ बाहिरिन्छ ।

तर, चाडबाड सकिएलगत्तै उक्त रकम पुनः बैंकहरुका खातामै फर्किने हो । एउटा बैंकबाट बाहिरिएको रकम अर्कोमा तान्न प्रतिस्पर्धा चल्ने गर्छ, चाडबाडपछि । र, आकर्षक व्याजदरसहितका योजना सार्वजनिक हुने गर्छन् ।

कर्जाकेन्द्रित योजनाहरु

यसपटक एभरेस्ट बैंकले ‘दशैं, तिहारको ऊर्जा, न्यूनतम व्याजदरमा कर्जा’ योजना ल्याएको छ । घर र गाडी कर्जामा नौ दशमलव ९३ तथा साना र मझौला व्यवसाय कर्जा १० दशमलव १८ प्रतिशत व्याजमा दिने उक्त बैंकको योजना छ ।

उक्त योजनाअन्तर्गत् कर्जा लिनेहरुले बैंकको सेवा शुल्कमा शून्य दशमलव २५ प्रतिशत छुट पाउने छन् ।

एनआईसी एसिया बैंकले दशैंको नाममा शून्य दशमलव नौ प्रतिशत व्याजको घर कर्जा योजना ल्याएको छ । वाषिर्क १० दशमलव आठ प्रतिशत हुन आउने उक्त योजनाको व्याजदर दुई वर्षसम्म परिवर्तन नगर्ने उक्त बैंकको भनाइ छ ।

सेन्चुरी कमर्सियल र सिटिजन्स बैंकले भने निक्षेप आकषिर्त गर्न दशैं योजना ल्याएका छन् । आफ्नो योजनालाई ‘सिटिजन्स गोल्डेन सेभिङ’ नाम दिएको छ, सिटिजन्सले ।

त्यसअन्तर्गत् बचतकर्ताले वाषिर्क ६ प्रतिशतसम्म व्याज पाउने छन् । र, मासिक व्याज भुक्तानीको अफर दिएको छ । उक्त बचत खाता खोल्न न्युनतम पाँच सय रुपैयाँ भए पनि पुग्नेछ । बैंकले उक्त खाता खोल्नेलाई लकर सुविधा लिँदा ५० प्रतिशत छुटसमेत दिने भएको छ ।

सेञ्चुरी बैंकले ९० दिने मुद्दती निक्षेप योजना ल्याएको छ । वाषिर्क नौ प्रतिशत व्याज दिने बैंकले जनाएको छ । सीमित अवधिको उक्त योजना बैंकले सबै शाखा कार्यालयहरुबाट उपलब्ध गराउने भएको छ ।

मुक्तिनाथ बिकास बैंकले बचत खाता खोल्दा चाँदीको सिक्का अफर ल्याएको छ । उक्त बचत खातामा आठ प्रतिशत व्याजसहित लकर सुविधामा ५० प्रतिशत छुट दिने भएको छ ।

किनमेललाई लक्ष्य

दशैंकै नाम नलिइए पनि त्यस क्रममा हुने किनमेललाई लक्षित गर्दै केही बैंकले फरक योजना ल्याएका छन् ।

भिसा कार्ड प्रयोगकर्ताहरुका लागि १० प्रतिशत रकम फिर्ताको अफर छ, ती बैंकको । नेपाल इन्भेस्टमेन्ट बैंक, सेन्चुरी कमर्सियल, ग्लोबल आईएमई, कुमारी, मेगा, एनसीसी, राष्ट्रिय वाणिज्य, सानिमा, महालक्ष्मी विकास र टुरिजम डेभलपमेन्ट बैंकले उक्त योजना ल्याएका हुन् ।

ती बैंकका भिसा कार्डधारीहरुले दैनिक पाँच सयदेखि अधिकतम १० हजार रुपैयाँसम्मको खरिदमा १० प्रतिशत रकम खातामै फिर्ता पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?