Comments Add Comment

जिउँदो खसी र मासुको मूल्य अन्तर पाँच सय !

१२ असोज, काठमाडौं । खाद्य संस्थानले प्रतिकिलो चार सय ५५ रुपैयाँमा जिउँदो खसी बेच्दैछ, काठमाडौंका खसी बजारहरुमा पनि जिउँदो खसीको मूल्य बढीमा किलोको पाँच सय रुपैयाँभन्दा बढी छैन ।

मासु किन्न पसलमा जानेहरु भने प्रतिकिलो नौ सयदेखि हजार रुपैयाँसम्म तिरिरहेका छन् । अहिले काठमाडौंमा जिउँदो खसी र मासुको मूल्यअन्तर चार सयदेखि चार सय ५० सम्म छ ।

व्यापारीहरुले खसीबोकाको मासु बेच्दा कति मुनाफा राख्छन् भन्ने यही तथ्यले देखाउँछ । उपभोक्ताकर्मी प्रेमलाल महर्जन नौ सय रुपैयाँसम्मको बजार मूल्य स्वाभाविक भए पनि त्यसभन्दा बढीमा पनि मासु बेचिँदा उपभोक्ता ठगिइरहेको बताउँछन् ।

अहिले बजारमा फ्रेस मासुको नाममा किलोको एक हजार रुपैयाँभन्दा बढीमा पनि खरिद-बिक्री भइरहेको छ ।

‘खसी भनेर बाख्रा तथा मरेका र अस्वस्थ खसीको मासु बेच्नेलगायत समस्या यहीबीचमा छ,’ महर्जन भन्छन्, ‘साढे आठ सयदेखि नौ सय रुपैयाँसम्म त मासुको मूल्य पुगिसक्यो । त्यसभन्दा बढी पनि कतै बढाइएको छ भने कारवाही हुनुपर्छ ।’

मासुमा किन त यति धेरै मुनाफा त ? माछामासु व्यवसायी संघका पूर्वउपाध्यक्ष उमेश खड्गी भन्छन्, ‘जिउँदो खसी र मासुको मूल्य दाँज्न मिल्दै मिल्दैन ।’

खाद्य संस्थानले ल्याएका खसीबोका जिउँदो किनेर काट्दा आधा परिमाणमा मात्रै मासु निस्किने उनको दाबी छ । संस्थानले सस्तोमा खसीबोका किनेर ल्याउँदा त्यस्तो अवस्था देखिएको खड्गीको तर्क छ ।

तुलनात्मक रुपमा सस्तो भए पनि खाद्य संस्थानले ल्याएका खसीबोका मासु प्रयोगका हिसाबले पनि उपभोक्तामैत्री नभएको उनको दाबी छ ।

‘हामीले बाहिर किन्दा राम्रो खसीको किलोको पाँच सय २० रुपैयाँसम्म पर्छ,’ उनी भन्छन्, ‘खसी काटेपछि जिउँदोभन्दा मासुको २५ देखि ३५ प्रतिशतसम्म घट्छ । बेच्नेगरी खाद्य संस्थानको खसी ल्याइयो भने त घाटा नै लाग्छ ।’

पसलहरुमा मुख्यतः भारतीय खसी नै काटिने गरेको उनले बताए । नेपालमा उत्पादित खसीबोका छरितो नहुने भएकाले काटेर मासु बेच्दा घाटा लाग्ने व्यवसायीको तर्क छ ।

खसीबोकाको खुट्टा, टाउको र भुटन छुट्याएर कम मूल्यमा बेच्ने गरिएको छ । अहिले भुँडीसहितको आन्द्रालाई किलोको तीन सय तिर्नुपर्छ, प्रतिखुट्टा ८५ र टाउकोको प्रतिकिलो तीन सय ५० रुपैयाँसम्म पर्छ ।

खसीको एकतिहाइ हिस्सा कम मूल्यमा बेच्नुपर्ने भएकाले राम्रो मासु किन्नेले एक हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था नौलो नभएको तर्क व्यवसायीले गर्दै आएका छन् ।

व्यवसायीहरु खसी काटेपछि बोसो पनि हटाइने भएकाले जिउँदो खसी र मासुमा तुलना गर्न नहुने उनीहरुको भनाइ छ ।

माग कति ?

काठमाडौंमा सामान्य अवस्थामा दैनिक एक हजार दुई सय वटा खसीबोका खपत हुन्छन् । दशैंमा यो संख्या झण्डै तेब्बर हुने व्यवसायी बताउँछन् । यो वर्ष दशैंका लागि काठमाडौंमा झण्डै ६० हजार खसीबोका भित्र्याइएको छ ।

दशैंमा मासु पसलका लागि सरदर दैनिक दुई हजारदेखि २२ सय खसीबोका आवश्यक पर्छ । दशैंमा खुला रुपमा जिउँदा खसीबोका सर्वसाधारणले कति किन्छन् भन्ने तथ्यांक कतै उपलब्ध छैन ।

दशैंमा खसी नकिनी पसलबाटै पटक-पटक फ्रेस मासु खरिद गर्ने चलन पनि बढ्दो छ ।

कुखुराले राहत दिने

यस वर्ष कुखुराको मासु भने सुलभ मूल्यमै किन्न पाइनेछ । दशैंमा कुखुराको मासु र अण्डाको मूल्य बढेको छैन ।

कुखुरा उत्पादनमा नेपाल आत्मनिर्भर रहेको र माग पनि यो समयमा घट्ने भएकाले मूल्य नबढ्ने व्यवसायीको भनाइ छ ।

अहिले बजारमा कुखुराको मासु प्रतिकिलो तीन सय रुपैयाँभन्दा माथि छ । तर, तोकिएको मूल्य दुई सय ७३ रुपैयाँ हो ।

भ्याली कोल्ड स्टोर सञ्चालक हरिकृष्ण रावलका अनुसार दशैंमा खसीको मासु नै बढी उपभोग हुने भएकाले कुखुराको मासुको खपत उच्च हुँदैन । सोही कारण मूल्य नबढ्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment