१४ असोज, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले झण्डै २२ वर्षपछि दशैंको टीका लगाएका छन् । उनले मामा ससुराको हातबाट लाजिम्पाटस्थित निवासमा दशैंको टीका जमरा लगाएका हुन् । त्यसपछि उनले पत्नी सिता दाहाललाई टीका लगाइदिए । सिता दाहालले भने छोरा बुहारी, छोरी ज्वाइँ, नाती, नातिनालाई टीका लगाइदिएकी थिइन् ।
प्रचण्डको सचिवालयका सदस्य समेत रहेका प्रकाश दाहालले अनलाइनखबरसँग भने, ‘आमाको मामा माइजू आउनु भएको थियो । उहाँहरुले बुवालाई टीका लगाइदिनु भएको हो ।’
प्रकाशले धार्मिक पर्वको रुपमा भन्दा पनि साँस्कृतिक पर्वको रुपमा दशैं मनाइएको बताए ।
अघिल्ला वर्षहरु जस्तै प्रचण्डले यस वर्ष पनि पत्नी सिताबाहेक अरुलाई टीका नलगाइदिएको प्रकाशले बताए । ‘बुवाले हामीलाई आज पनि टीका लगाइदिनु भएन । ममीले लगाइदिनुभयो,’ प्रकाशले भने, ‘पहिले पनि ममीको हातबाट हामीले टीका लगाउँथ्यौं ।’
यसअघि प्रचण्डको सचिवालयलेे नै दशैंमा टीका नलगाउने र पारिवारिक भेटघाट गरेर रमाइलो गर्ने कार्यक्रम रहेको बताएको थियो । तर, प्रकाश दाहालले फेसबुकमा परिवारका सबै सदस्यहरुले दशैंको टीका लगाएको फोटो सार्वजनिक गरेर सरप्राइज दिएका छन् ।
प्रचण्डले दशैं नमनाएको भनेर हिन्दु धर्मका कट्टर समर्थकहरुले आलोचना गर्दै आएका थिए । खासगरी एमाले कार्यकर्ताहरुले प्रचण्ड दशैंको विरोधी भनेर सामाजिक सञ्जालहरुमा स्टाटस राखेर भाइरल बनाएका थिए । आसन्न निर्वाचनको बेला त्यसले नकारात्मक असर पर्न सक्ने ठानेर योजनावद्ध रुपमा प्रचण्डले दशैं मनाएको तस्वीर सार्वजनिक गरेको हुनसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया 4