Comments Add Comment

एमाले-माओवादी-नयाँशक्तिः कमजोर धरातलको एकता

१७ असोज, काठमाडौं । नवमीको रातिसम्म कुनै संकेतसम्म नगरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दशमीमा परिवारसँग टीका र जमरामा रमाइरहेको तस्बिरले सञ्चारमाध्यम मात्र होइन, सामाजिक सञ्जालसमेत ततायो ।

आ-आफ्नो बुझाइमा स्वागत र आलोचना हुनु भीडको मनोविज्ञान नै हो । त्यही मनोविज्ञान सामाजिक सञ्जालका भित्तामा उपस्थित भीडले पनि प्रकट गर्‍यो ।

त्यसभन्दा ठूलो धक्का त द्वादसीको साँझपख महशुस भयो, जब माओवादी केन्द्रको सचिवालय बैठकले एमालेसँग पार्टी एकतासम्मको सहकार्यमा अगाडि बढ्ने निर्णय लियो ।

दाहालको दशैंटीका ग्रहण एक्कासी र हतारमा गरिएको निर्णय थिएन भन्ने थाहा पाउन धेरै माथापच्ची गरिरहनु पर्दैन, उनी र परिवारको शीरमा सजिएका हलक्क बढेका जमराले नै त्यसको पुष्टी गर्छन् । ठीक त्यसरी नै एमालेसँग एकतासम्मको सहकार्यको निर्णय पनि लहडमा आएको होइन भन्ने बुझ्न टाढा जानु पर्दैन ।

केही समयदेखि दुवैतर्फका दोस्रो पुस्ताका नेताहरुले सार्वजनिक गरेका अभिव्यक्तिहरुमा सर्सर्ति नजर लगाउँदा ठम्याउन सकिन्छ । जस्तोः रोल्पा पुगेर माओवादी युवा नेता वर्षमान पुनले एमालेसँग चुनावी तालमेल नभई एकता गर्न सजिलो रहेको बताएका थिए ।

भनिन्छ, राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैनन् । यही भनाइ चरितार्थ गर्दैछन्, नेपालका दुई प्रभावशाली कम्युनिस्ट पार्टीहरु, एमाले र माओवादी केन्द्रले । एक समयमा एकअर्काका दुष्मनझैं देखिएका एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष दाहाल एकठाउँमा आइपुग्न राजनीतिको त्यही सिद्धान्तले काम गरेको बुझ्न गाह्रो छैन ।

संसारभर कम्युनिस्ट भन्नासाथ कहिल्यै धार्नी नपुग्ने भ्यागुताको झुण्डको रुपमा अथ्र्याइने गरेको छ । नेपाली कम्युनिस्टहरुका हकमा पनि त्यही लागु हुँदै आएको छ । जुट्नेभन्दा फुट्ने शृंखला नै बढी देखिने गरेको छ । यस पटक जुट्ने शृंखला चलेको छ । फेरि कहिले तुलो छाडेर बाहिर छलाङ मार्छन्, भन्नचाहीं गाह्रो छ ।

२०४६ सालको परिवर्तनपछि १० वर्षसम्म कांग्रेस र एमालेबीचमै थियो, चुनावी प्रतिस्पर्धा । त्यसयता सशस्त्र द्वन्द्वबाट मौलाएको माओवादीले त्रिपक्षीय प्रतिस्पर्धाको स्थिति सिर्जना गरायो । तर, त्यो लामो समय टिकेन । ०६३ को परिवर्तनपछि सात वर्षमै अंकगणितीय तख्ता पलट भइसकेको थियो । फेरि पनि कांग्रेस र एमाले नै आमनेसामने देखिए ।

आगामी चुनावमा पनि त्यही परिदृष्य दोहोरिन सक्छ तर फराकिलो अन्तरका साथ । किनभने, यस पटक बलियो तेस्रो दल बन्ने सम्भावना रहेको माओवादी एमालेसँग उभिएको छ ।

२०६४ को संविधानसभा निर्वाचनमा पहिलो पार्टी बनेको माओवादी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा आइपुग्दा फराकिलो अन्तरसाथ तेस्रो दलमा झर्‍यो । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा अझ फराकिलो अन्तर सामना गर्नुपर्दा माओवादी अध्यक्ष दाहालमा छटपटी पैदा भइसकेको थियो ।

२०४८ सालको आम निर्वाचनमा तत्कालीन संयुक्त जनमोर्चा नेपालले नौ सिट जितेको थियो । सोही पार्टी ०५२ सालमा नेकपा माओवादीका नाममा सशस्त्र द्वन्द्वमा होमियो । अलग-अलग चुनाव लड्दा फेरि संयुक्त जनमोर्चा नेपालकै नियति बेहोर्नुपर्ने जोखिम देखेका दाहालले एमालेसँग पार्टी एकतासम्मको सहकार्यको मार्ग पहिल्याएका हुन सक्छन् ।

यसअघि पनि बेला-बेलामा भावनामा बहकिएर दाहालले एमालेसँग पार्टी एकता गर्ने रहर भएको बताउने गरेका थिए । उनको भावनाले दशैंको टीका ग्रहणसँगै सार्थक मोड पायो ।

कम्युनिस्ट विचारधारा नै त्यागेर दक्षिणपन्थी शैलीको पार्टी निर्माण गरेका डा. बाबुराम भट्टराई पनि वाम एकताको दौडमा सामेल हुनु आफैंमा अनौठो संयोग हो । पार्टी छाड्ने शृंखला बढ्दा उनी नयाँशक्तिका पुराना नेता मात्र बाँकी रहेका थिए । त्यही पहिचानमा चुनावमा होमिनु लज्जास्पद पराजयबाहेकको उपलब्धि हासिल नहुने निश्चित थियो ।

के चाहीं सत्य हो भने फेरि एक पटक एमाले र माओवादी छाड्ने, नयाँ दल खोल्ने या अर्को दलमा समाहित हुने लहर नचल्ला भन्न सकिँदैन

‘मधेशका वामपन्थी’को संज्ञा पाएका उपेन्द्र यादव भने यस दौडमा सहभागी हुन आतुर छैनन् । पहिचानको राजनीति छाड्दाको परिणामबारे उनी भलिभाँति जानकार देखिन्छन् ।

र, राजनीतिको शुरुवात नै पहिचानको मुद्दाबाट गरेका गोपाल किरातीको मात्र चर्को असहमति देखियो, माओवादीभित्र । के त्यसो भए अब माओवादीले पहिचानको राजनीति परित्याग गरेको हो ? जवाफ भविष्यले नै दिनेछ ।

के चाहीं सत्य हो भने फेरि एक पटक एमाले र माओवादी छाड्ने, नयाँ दल खोल्ने या अर्को दलमा समाहित हुने लहर नचल्ला भन्न सकिँदैन ।

गत २९ असारमा पत्नी सीताको उपचार गराउने बताउँदै दाहाल अचानक थाई राजधानी बैंकक पुगेका थिए । उनीसँगै एक व्यापारी पनि साथमा थिए, जसले भ्रमणको चाँजो मिलाएका थिए । ती व्यापारी अरु कोही नभई मानभवनमा ओली र दाहालबीच वार्ता भएको घरका मालिक थिए । र, उनी एमाले उपाध्यक्ष वामदेव गौतमबाट निर्देशित रहेको स्रोतको दाबी छ ।

मातृ पार्टीबाट अलग्गिएका मोहन वैद्य, नेत्रबिक्रम चन्द, डा. बाबुराम भट्टराई नेतृत्वका दलहरुबीच एकताको प्रयासले सार्थक मोड नलिएको सन्दर्भमा माओवादी अध्यक्ष दाहालले एमालेसँग सहकार्य हुँदै एकतासम्मको हात बढाएका हुन् ।

कम्युनिस्ट पार्टीहरुबीच एकता होस् या फुट, माथिल्लोदेखि तल्ला कमिटीसम्म व्यापक बहस र छलफल हुने गर्छ । यसअघिका मिलन/बिछोडमा यस्ता प्रक्रिया चलेकै थिए ।

यस पटकको परिदृष्य फरक देखियो, केन्द्रमा भएका सहमतिबाटै एमाले, माओवादी र नयाँशक्ति नेपालबीच एकता घोषणा भयो । वाम विश्लेषक नरेन्द्रजंग पिटर यसलाई प्राकृतिक मान्दैनन् । र, कमजोर धरातलको एकता बताउँछन् ।

‘पार्टीभित्रका आन्तरिक समस्या हल गर्न नसक्दा पराईलाई प्यारो ठान्ने प्रवृत्ति देखियो । यसको कुनै दीर्घकालीन लक्ष्य देखिँदैन,’ पिटर भन्छन्, ‘यो गठबन्धन लामो समय टिक्लाजस्तो लाग्दैन । प्रतिक्रियाबाट सृजित एकता हो यो । र, भयको राजनीतिले पनि यो परिस्थिति सिर्जना गरेको हो ।’

नेपालमा अहिले करिब २० वटा कम्युनिस्ट पार्टी छन् । ती सबै व्यक्तित्वको टकराव र महत्वाकांक्षाका कारण टुक्रिएका हुन् । ‘अब सिद्धान्तको राजनीति बाँकी रहेन, त्यसैले एकता नै गर्ने हो भने पनि कम्युनिस्टको लोगो राखिरहन आवश्यक छैन,’ पिटर भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment