+
+

नवीन के. भट्टराईले गितार नसमाएको भए…

शिव मुखिया शिव मुखिया
२०७४ असोज २२ गते १३:०५

डिल्लीबजारको अलि साँघुरो गल्ली छिचोलेपछि हामी एउटा तीनतले घरमा पुग्यौं ।

घर अगाडि आँगन । एकछेउमा बगैंचा, त्यति स्याहार नपुगेजस्तो । एउटा थोत्रो कार र छेउमै मोटरसाइकल पार्किङ गरिएको ।

हामी सोझै दोस्रो तला उक्लियौं ।

ढोकाबाट प्रवेश गर्नसाथ बैठक कोठा देखियो । ढोकाकै छेउमा सोफा थियो । त्यसको कुनामा केही थान गितार अनि टेबलमा ल्यापटप ।

सोफाको माझमा उनी छिर्केमिर्के क्याप पहिरिएर बसेका थिए ।

क्याप लगाउनु उनको स्टाइल हो ।

अर्थात्, नवीन के. भट्टराई स्टाइल ।

बैठक कोठामा झ्यालमाथिको भित्तामा लहरै क्याप टाँगिएका थिए । लाग्थ्यो, उनले घरमा क्याप पसल नै थापेका हुन् ।

कुनैबेला नवीनको घरमा एक थान होइन, दर्जन होइन, १७ सय क्याप थिए । आफूले किनेको होइन, साथीभाइ-फ्यानले ‘गिफ्ट’ दिएको । नवीनले आफ्ना प्रशंसक र साथीभाइलाई तिनै क्याप गिफ्ट दिन थाले । यसरी सयौं क्याप सकिए । अहिले उनको कोठामा डेढ सय थान क्याप सजाइएका छन् ।

नवीन प्रायः क्याप नै लगाउँछन् । हरेक कन्सर्टमा उनी नयाँ क्याप लगाउँछन्, अपवादबाहेक एउटै क्याप दोहोर्‍याउँदैनन् ।

क्याप लाउनैपर्ने उनको रहर हो कि बाध्यता ?

‘यो एक किसिमको लतजस्तै हुँदोरहेछ । लगाएपछि फुकाल्नै मन नलाग्ने । आफैंलाई कस्तो कस्तो लागिहाल्ने,’ उनी भन्छन् ।

साँझपख एकान्तमा

उनीसँग कुराकानी भइरहँदा बाहिर नजिकै कुनै भवन निर्माण चलिरहेको थियो । त्यहाँ चलाइएको उपकरणको घ्यार्रर आवाजले हाम्रो ध्यान बिथोल्यो ।

‘यो आवाजले पुरै डिस्टर्ब भइरहेको छ । मलाई यस्तोमा बस्नै गाह्रो हुन्छ,’ नवीन भन्दै थिए ।

हुन पनि, उनी एकान्त र शान्त वातावरण मन पराउँछन् ।

‘म प्रकृतिप्रेमी हुँ । मलाई फूल, बगैंचा मनपर्छ । फूलबारीमा डुल्न मन लाग्छ,’ उनी भन्छन्, ‘पहिले तल बगैंचा थियो ।’

‘साँझपख एकान्तमा…
आफैंलाई बिर्संदा’

चितवन, सौराहामा राप्ती नदीपारि घाम डुब्दै गर्दाको मनोरम दृश्य हेरिरहँदा नवीनको चेतनामा यही गीतको धुन फुरेको थियो ।

शान्त, एकान्त र साँझ, नवीनको पि्रय पल हो ।

अझ, साँझको बेला झमझम पानी वषिर्एको होस् । त्यसबेला उनलाई ओछ्यानमा पल्टिएको हुनुपर्छ । भुईंमा तप्किने पानीको एकनासे आवाज उनलाइ ‘लोरी’जस्तै लाग्छ ।

‘क्या मीठो निन्द्रा लाग्छ,’ उनी भन्छन् ।

रात छिप्पिन नपाई उनी मस्त निन्द्रामा हुन्छन् । साँझ ६ बजे खाना खाइसकेका हुन्छन् । त्यसको एक घण्टापछि त आँखा लोलाउन थालिहाल्छन् । कसैगरे पनि जागा बस्न सक्दैनन् । आठ बजे ओछ्यानमा पस्छन् । निदाई पनि हाल्छन् । बच्चादेखिको बानी ।

‘कन्सर्ट भएको बेला राति अबेरसम्म बस्नुपर्छ । त्योचाहिँ मेरा लागि ठूलो सजाय नै हुन्छ,’ उनी फिस्स हाँसे ।

ए झरी….

नवीनलाई मनपर्ने मौसम पनि वषर्ायाम नै हो । फुलचोकी डाँडातिर बादलका सेता टुक्राहरु बत्तिइरहेका बेला उनको मन यसै रोमाञ्चित हुन्छ ।

‘ए झरी नझरिदेउ त्यसरी…’ भनेर गाए पनि उनलाई झरीमा रुझ्न औधी मनपर्छ । रुझेका पनि छन्, थुप्रै पटक ।

‘कहिले यसै भिज्न रहर लाग्छ,’ उनी भन्छन्, ‘पानी दर्किरहेका बेला भिज्दै हिँड्छु ।’

कुराकानी हुँदै गर्दा बाहिर बादलले झरी पर्ने संकेत गरिरहेको थियो । र, भनिरहेको थियो, मनसुन अझै लम्बिँदैछ है !

यदि गितार नसमाएको भए

हरेक बिहान काठमाडौं शहर निद्राबाट जाग्ने तरखर गरिरहँदा नवीन दरबारमार्गको फुटपाथ वा डिल्लीबजारको उकालोमा पसिना चुहाइरहेका हुन्छन् । उनको हिँडाइको रफ्तार तीव्र भइरहेको हुन्छ । उपत्यकालाई कलिलो घामले स्पर्श गर्नुअघि नै नवीनले घर आसपासको क्षेत्रमा एक चक्कर लगाइसकेका हुन्छन् ।

घर र्फकंदा पाँच बजेको हुन्छ ।

फ्रेस हुन्छन् । चिया पिउँछन् । अनि गितारमा कर्ड खेलाउन थाल्छन् । कहिले गितारमा धुन खोज्छन्, कहिले गीत गाउने अभ्यास गर्छन् । अनि कहिलेकाहीं अरुको गीत सुन्छन् । जसरी हुन्छ, बिहानको एक घण्टा ‘संगीतमय’ हुनुपर्छ, उनका लागि ।

‘त्यसले मलाई आनन्द दिन्छ, मन शान्त हुन्छ,’ भन्छन्, ‘एक हिसाबले मेरो मेडिटेसन त्यही हो ।’

हुन पनि, नवीन के. भट्टराईको यस्तो ‘क्रेज’ कहाँ हुन्थ्यो र, यदि उनले गितार नसाएको भए !

गितार नै हो उनको शास्त्र र शस्त्र ।

दिनहुँ गितारमै रियाज गर्छन् । गितारका स्ट्रिंग्सहरुलाई अलि लुज बनाएर सितारको ट्युन निकाल्न पनि उनी माहिर छन् । गितारप्रतिको आफ्नो अनुराग झल्काउँदै उनले गाए,

‘साथ तिम्रो यो यस्तै हुन्थ्यो र ?
दूरी यो यस्तो घट्थ्यो र ?
आवाजले तिमीलाई नलठ्याएको भए
यदि मैले गितार नसमाएको भए’

ब्रेकफास्ट नै लन्च

बिहान आठ बजे उनको टेबलमा तात्तातो दाल, भात, तरकारी, अचार आइपुग्छ । यसलाई ब्रेकफास्ट भने पनि भो, लन्च भने पनि भो ।

नवीन ननभेज हुन् । तर, छाकमा मासु हुनैपर्छ भन्ने छैन । बरु, नभई नहुने चाहिँ गोलभेंडाको अचार हो । धनियाँ मिसाएर बनाएको गोलभेंडाको ताजा अचारमै उनको जिब्रो लोभिएको छ । भातमा दाल चाहिन्छ भन्ने छैन । बरु, तरकारीको रस स्वादिलो लाग्छ ।

‘साँझ ६ बजे खाना खाइसकेका हुन्छन् । त्यसको एक घण्टापछि त आँखा लोलाउन थालिहाल्छन् । आठ बजे ओछ्यानमा पस्छन्’

नवीन खानपानमा सतर्क छन् । उनले खानामा मासु कटौती गर्दै आएका छन् । तेलको मात्रा घटाएका छन् । माछा भने खान्छन् । माछामा पौष्टिक तत्वका साथै ओमेगा थि्र फ्याट्टी एसिड हुन्छ । यही कारण स्वाद र स्वास्थ्य दुवैका लागि माछा उत्तम भएको उनको अनुभव छ ।

बिहान भरपेट खाना खाएपछि एकैपटक साँझमा मात्र हो, उनलाई भोक लाग्ने । त्यसबीचमा उनलाई खाजाको उस्तो तलतल लाग्दैन । बरु १/२ कप दूधचिया पिउँछन् । त्यो पनि अचेल घटाएका छन्, शरीरमा सुगर बढ्ने भयका कारण । साँझ पनि दालभात नै चाहिन्छ । रोटीमा उनको जिब्रो खासै अभ्यस्त छैन ।

नवीन खानपानका पारखी भने होइनन् । पाककलामा पनि खासै रुची छैन । केही समयअघि पत्नी विदेश गएका बेला भने पाँच वर्षे छोराका लागि खाजा बनाउने जिम्मा उनको भागमा परेछ ।

‘त्यो त सामान्य हो, जसले पनि बनाइहाल्छ नि,’ नवीन भन्छन्, ‘मीठो बनाउन पो गाह्रो ।’

सम्झना तिम्रो मिठो छ


२० वर्ष पहिलेको कुरा ।

‘आँखामा तिमीलाई’ बोलको एउटा पपगीत सुपरहिट भयो ।

न्युरोडको तास स्टुडियोमा रेकर्ड गरिएको त्यो गीत नेपाली पप गायनमा ‘माइल स्टोन’ नै सावित भयो । ओमविक्रम विष्ट, हरिश माथेमा र सञ्जय श्रेष्ठहरुले सुरु गरेको नेपाली पप गायनलाई यसले ‘नवीन’ उचाइ र लोकपि्रयता प्रदान गर्‍यो ।

यसपछि लगातार ‘सम्झना तिम्रो मिठो छ’, ‘रात बित्यो’, ‘साँझपख एकान्तमा’, ‘तिमीलाई म दोबाटोमा’, ‘तिमीले हेर्दा कसैलाई’लगायत गीत हिट भए । अनि त हातमा गितारसँगै क्याप ढल्काएको एउटा ठिटो गायक स्टेज र टीभी स्क्रिनमा छाउन थालिहाल्यो ।

रकमा राग मिसाएर गाउनसक्ने त्यो गायकले एकपछि अर्को मेलोडियस र मिठा गीतहरु दिन थालेपछि पप गीतका ‘विरोधी’ पनि मजाले झुम्न थाले ।

यसरी क्याप, गितार र नवीन के. भट्टराईको ‘कम्बिनेसन’ पप गायनको पर्याय नै बन्न पुग्यो ।

काठमाडौं विश्वविद्यालयमा पाश्चात्य संगीत र प्रभुराज ढकाललगायत गुरुसँग शास्त्रीय संगीतको समेत ज्ञान हासिल गरेका नवीनको विशेषता के थियो भने उनले पप गायनमा पूर्व र पश्चिमलाई ‘फ्युजन’ गरे । भ्वाइस टोन पनि मिठो । गहकिलो कम्पोजिसन अनि प्रभावकारी गायन ।

यही कारण अहिले पनि नवीनका फ्यानहरु घटेका छैनन् । सपिङ मलदेखि पाँचतारे होटेल अनि अस्ट्रेलियादेखि अमेरिकासम्म उनी कन्सर्टमा व्यस्त भइरहेकै हुन्छन् । किनकि,

‘सम्झना तिम्रो मिठो छ
म भुल्नचाहीं सक्दिनँ’

लेखकको बारेमा
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?