काठमाडौं । आज २५औं विश्व मानसिक स्वास्थ्य दिवस । विश्व मानसिक स्वास्थ्य महासंघले त्यसबारे वकालत गर्ने उद्देश्यले सन् १९९२ देखि १० अक्टोबरमा उक्त दिवस मनाउँदै आएको छ ।
यस वर्षको नारा ‘कार्यक्षेत्रमा मानसिक स्वास्थ्य’ छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार संसारको करिब ५० लाख जनसंख्या कुनै न कुनै मानसिक समस्याबाट ग्रसित छ । त्यसमध्ये करिब एक लाख मानिस कडा मानसिक रोगको शिकार हुने गर्छन् ।
यस्तै, हरेक चार युवामध्ये एक जनालाई मानसिक समस्या देखिने गरेको छ । उक्त समस्या भएका ८० प्रतिशत मानिस बेरोजगार छन् । तीमध्ये ७० प्रतिशतले चाहेर पनि काम पाउँदैनन् ।
नेपालमा मानसिक रोगीको तथ्यंाक यकिन छैन । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा दैनिक करिब सय जना कुनै न कुनै प्रकारको मानसिक समस्या लिएर आउने गर्छन् ।
करिब २० प्रतिशत कडा मानसिक रोगी हुने गर्छन् । करिब ९० प्रतिशतलाई नियमित औषधी खाँदा रोग निको हुन्छ ।
धेरैलाई यसबारे जानकारी नहुँदा आफ्नो स्वास्थ्यलाई शारीरिक तन्दुरुस्तीसँग मात्र जोडेर हेर्न गर्छन् । तर, मानिस स्वस्थ रहन शारीरिक र मानसिक दुवै हिसाबबाट तन्दुरुस्त हुनु जरुरी छ ।
मानसिक रुपमा मानिस स्वस्थ नभएसम्म उत्पादनमुलक काम गर्न सक्दैन ।
मानसिक स्वास्थ्यबारे जनमानस रहेको भ्रम हटाएर यसको उपयोगिताबारे चेतना जगाउनु आवश्यक छ ।
कार्यक्षेत्रमा मानसिक स्वास्थ्य
नेपालका करिब ७० प्रतिशत युवा रोजगारीमा छन् । कार्यशैलीमै उनीहरुको समग्र विकास लुकेको हुन्छ । अहिलेका युवाको पहिलो घर नै कार्यक्षेत्र वा कार्यस्थल बन्ने गरेको छ । उनीहरुको व्यक्तित्व पनि काम र काम गर्ने वातावरणसँग निर्भर रहन्छ ।
कार्यथलो र त्यहाँको वातावरण सकारात्मक सोचयुक्त छ भने काममा रमाउने र आत्मसन्तुष्टी पैदा हुने गर्छ । त्यस्तो वातावरणबाट मानसिक उत्पादनशीलता बढ्छ ।
काम गर्ने वातावरण नकारात्मक, डर, त्रास र तनावपूर्ण छ भने त्यसले व्यक्तिको कार्यक्षमतामा असर पुर्याउँछ । र, मानसिक उत्पादनशीलतामा ह्रास आउँछ ।
कार्यक्षेत्र र स्थलको तनावका कारण व्यक्तिमा आत्मसन्तुष्टी नमिल्ने, रिस उठ्ने, डर लाग्ने, काममा ध्यान नपुग्ने, नकारात्मक सोच बढ्ने, दिक्क लाग्ने, काम गर्ने जाँगर नचल्ने, एकाग्रता नहुने, राति निद्रा नलाग्ने, भोक नलाग्नेलगायत समस्या आउँछन् ।
त्यस्ता समस्याले काममा असर मात्र नभई शारीरिक र मानसिक स्वास्थ्यमा पनि असर पुर्याउँछन् ।
यस्ता समस्यालाई समयमै व्यवस्थापन गर्न नसके मानिसमा एन्जाइटी र डिप्रेसनको समस्या निम्तिने गर्छ । एन्जाइटी र डिप्रेसन मानसिक समस्यामध्यको प्रमुख हुन् ।
यी दुवै समस्याले व्यक्तिको काम गर्ने खुबी र उत्पादनशीलतामा असर पार्छन् । एक तथ्यांकअनुसार मानसिक समस्यासित जोडिएका सयभन्दा बढी प्रकारका समस्या छन् । ती मनोविज्ञानसित पनि सम्बन्धित छन् ।
व्यक्तिको सोच, भावना र व्यवहारले मनोविज्ञानमा गम्भीर असर पार्छन् ।
रोकथामका लागि कार्यथलोमा हुने तनाव र डर कम गर्न मानसिक स्वास्थ्यबारे छलफल आवश्यक छ ।
(त्रिवि शिक्षण अस्पतालको मानसिक रोग विभाग प्रमुख डा. ओझासँग कुराकानीमा आधारित)