काठमाडौं । मैदा अर्थात् रिफाइन्ड आँटा स्वास्थ्यका दृष्टिकोणले खानयोग्य मानिँदैन । यदि तपाईं पनि दैनिक रुपमा मैदाबाट बनेका खानेकुरा सेवन गर्नुहुन्छ भने बुझ्नुहोस्, तपाईं रोगलाई निमन्त्रणा गर्दै हुनुहुन्छ । किनकि, मैदाको सेवनले शरीरमा विभिन्न प्रकारका असर पुर्याउने गर्छ, जुन समयको उत्तरार्द्धमा शरीरमा देखा पर्न थाल्छ ।
मैदाको प्रयोग विशेषगरी समोसा, कचौरी, मःम, चाउमिन बनाउन प्रयोग गरिन्छ । यी मैदा गहुँको पिठोझैं आटाबाटै बन्ने गर्छ । त्यसका लागि सबैभन्दा पहिले गहुँलाई राम्ररी सफा गरिन्छ र यसको माथिल्लो भागलाई पूर्ण तरिकाले हटाइन्छ ।
त्यसपछि उक्त पिठोलाई बेन्जोल पेरोक्साइडद्वारा ब्लिच गरिन्छ, जसले गर्दा पिठोको रङ पूरै सेतो हुन्छ । त्यसपछि यसलाई पिसेर पूरै मसिनो बनाइन्छ । त्यसमा भएको फाइबरलाई समेत बाहिर निकालिन्छ, जसले गर्दा मैदा हानिकारक बन्न पुग्छ ।
स्मरण रहोस्, बेन्जोल पेरोक्साइडले क्यान्सर गराउने भएकाले चीन र युरोपमा यसको प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।
मैदाले स्वास्थ्यमा पुर्याउने असर
प्रतिरोधात्मक क्षमता कम गर्छ । मैदाबाट बनेका खानेकुराको सेवनले रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । शरीरमा रोग लाग्ने सम्भावना बढेर जान्छ । मैदाबाट बनेका परिकारको सेवनले बारम्बार रोग लाग्न सक्छ ।
मुटु रोग र बाथ रोग बढाउँछ । मैदाबाट बनेका खानेकुराको सेवनले रगतमा ब्लड सुगरको मात्रा बढ्न थाल्छ, जसले गर्दा रगतमा ग्लुकोज जम्मा हुनथाल्छ । त्यसका कारण रसायन प्रतिक्रिया उत्पन्न भई बाथ र मुटु रोगको जोखिम बढ्छ ।
पेटका लागि हानिकारक हुन्छ । पेटमा हानी पुर्याउने खानेकुरामा मैदा सबैभन्दा अग्रपंक्तिमा आउँछ । यसमा फाइबर रत्तिभर पनि नहुने हुँदा कब्जियतको समस्या निम्त्याउँछ ।
मधुमेहको समस्या ल्याउँछ । मैदाको सेवनले रगतमा ब्लड सुगरको मात्रा तुरुन्तै बढ्ने गर्छ । यसमा ग्लाइसेमिक इन्डेक्स अधिक हुने गर्छ, जसले गर्दा मधुमेहको खतरा बढ्छ । तपाईं पनि मधुमेहबाट बच्न चाहनुहुन्छ भने मैदाको प्रयोग सकेसम्म कम गर्नु नै फाइदाजनक छ ।
मोटोपना बढाउँछ । मैदाबाट बनेका खानेकुराको अधिक सेवनले तौल बढ्ने समस्या अधिक हुन्छ । मैदाको अधिक प्रयोगले रगतमा कोलेस्टेरोल बढ्नुुका साथै ट्राइग्लिसराइडको तह पनि उच्च हुन्छ ।
हड्डी कमजोर बनाउँछ । मैदा बनाउँदा प्रोटिन पूर्ण नष्ट हुँदा मैदा एसिडिक बन्न पुग्छ । त्यसले हड्डीमा भएको क्याल्सियम सोस्छ र हड्डीलाई कमजोर बनाउँछ ।
मैदामा अधिक मात्रामा ग्लुटन पाइन्छ, जसले मैदालाई लचिलो बनाउँछ । जबकि, कैयौं मानिसलाई ग्लुटनका कारण फुड एलर्जीको समस्या हुने गर्छ । जबकि, यसको ठीकविपरीत गहुँमा प्रोटिन र फाइबर ज्यादा मात्रामा पाइन्छ ।
प्रतिक्रिया 4