Comments Add Comment

हैट ! बुढी छैन, लाइफ भद्रगोल

यस्तो छ, हास्य कलाकार बुद्धी तामाङको दिनचर्या

स्थान- अनामनगरस्थित एक रेस्टुराँ
समय- साँझ ६ बजे

हैट, कलाकार बुद्धि तामाङ साह्रै हतारमा थिए ।

‘भोलि युरोप लाग्नुछ,’ उनी छटपटिँदै थिए ।

सामान्य किनमेल गर्नसमेत भ्याएका रहेनछन् । भेटघाट, भलाकुसारी, अन्तर्वार्ता, हाई-हेल्लोमै दिन ढल्किएछ । साँझ किनमेलमा निस्किनुअघि उनी हामीसँग गफिँदै थिए ।

‘हैट’ उपनामले चिनिने सानो काँटका उनी धर्के गाढा रंगको सर्टमा थिए । आँखामा वर्गाकार चस्मा ।

जतिसुकै हतार भए पनि उनी हाँस्न भने लोभ गरिरहेका थिएनन् । हरेकजसो वाक्यांशमै खितिति हाँसिरहेका थिए, मिलेका मसिना दाँत देखाउँदै ।

बुढीबिनाको वैंश

चलचित्रमा उनी विवाहित हुन्छन्, पत्नीसँग खटपट परिरहन्छ । ‘छक्कापञ्जा’की बुढीले त उनलाई तास खेलेको देख्यो कि लखेट्थिन् । तैपनि, माया गर्थिन् ।

कबड्डी ‘फेम’ बुद्धीको अफस्क्रिनभने त्यस्तो रहेनछ । रियल लाइफमा त्यसरी ‘लभ एन्ड हेट’ गर्ने बुढी रहिनछन् । घट्टेकुलोमा एक्लै डेरा जमाएका रहेछन् । भात पकाउने, लुगा धुने, सिरक मिलाउने, कोठा सफा गर्ने काम सबै आफैं गर्दारहेछन् ।

‘अल्छि लाग्दैन,’ उनले भने ‘हैट, बानी परिसक्यो ।’

वषौर्ं भएछ, यसरी एक्लै बसेको । पहिले टोलमा कसैले चिन्दैनथे । अहिले सबैले चिन्छन् । तरकारी किन्न अनामनगर चोकतिर निस्कँदा माक्स लगाउँछन् । तैपनि धेरैले ‘हैट’ भनिहाल्छन् ।

‘धेरै भयो यतै बसेको, त्यही भएर चिन्छन्,’ उनले भने ।

बाबुआमा काभ्रेको तिमाल गाउँमा छन् । उनी शहर पसे, यतै जमे । नाटक खेल्दाखेल्दै फिल्ममा अफर आयो । खेलिदिए । उनको उपस्थितिमा दर्शक रमाए । हिरो त भएनन् तर एकपछि अर्को फिल्मले उनलाई पच्छ्याइरहे । सायद यही व्यस्तताले गर्दा बिहे गर्ने फुर्सद भएन कि ?

‘खै, त्यतातिर ध्यान दिएको छैन,’ उनले भने ।

बाआमा पहिले ‘बिहे गर्नुपर्छ’ भन्थे । अचेल भन्न छाडे । ‘छोरोले काम गरिरहेकै छ भनेर ढुक्क परेका होलान्,’ मिलेका सेता दाँत देखाएर उनी एक राउन्ड हाँसे ।

भद्रगोल दिनचर्या

बुद्धीको दिनचर्या पहिले ठीकठाक थियो । बिहान ११ बजे खाना खाइसक्थे । मध्यान्ह एक पटक खाजा । राति आठ बजेतिर फेरि दालभात ।

अहिले यो रुटिनको सन्तुलन खलबलिएको छ । उनको कोठामा चुल्हो बल्न छाडेको छ ।

‘अहिले भद्रगोल छ । न सुत्ने ठेगान, न खाने,’ उनले भने, ‘सुटिङकै खानाले पालिएको छु ।’ उनी फेरि फिस्स हाँसे ।

सुटिङका बेला उनको कोठामा भात पाक्दैन । सेटमा खान्छन् । तर, कतिबेला खाने भन्ने टुंगो हुँदैन । बिहान भात खाएपछि दिउँसो मःम, चाउमिन खान्छन् । उनलाई बफ मःम असाध्यै मनपर्छ ।

राति कोठामा पुगेपछि भात पकाएर खान्छन् । कहिले उल्कै जाँगर चल्छ । दाल, तरकारी, अचार बनाउँछन् । स्वाद लिएर खान्छन् । कहिले अल्छि लाग्छ, तरकारीमा झोल हालेर खान्छन् । कहिले त्यति पनि गर्न जाँगर चल्दैन । चाउचाउमा झोल हाल्छन् र त्यसैले अघाउँछन् ।

‘आज यस्तो मीठो खाना बनाउँछु कि भनेर आफैं भन्छु र पकाउन थाल्छु,’ बुद्धीले भने, ‘जस्तो पाक्छ कपाकप खाइदिन्छु ।’

आफूले पकाएको खानामा गुनासो गर्ने कुरा भएन । उनी प्रायः मासु खान्छन्, छाकैपिच्छे । उनलाई मासु भुटेर खान स्वाद लाग्छ ।

‘हैट, एक्लै बस्दा त मासु भुटेर खाइन्छ,’ उनले भने ।

लुगाको छैन लोभ

आफूलाई कस्तो लुगाले सुहाउँछ भन्ने बुद्धिलाई थाहै छैन रे । त्यही कारण उनलाई कपडा किन्न झ्याउ लाग्छ ।

‘यस्तो राम्रो, उस्तो नराम्रो भन्ने थाहै छैन,’ उनले भने, ‘जुन पहिला हेरेको छ, त्यही किन्छु । आफूलाई फिट होस् कि नहोस् मतलब हुन्न ।’

न लुगाको रंग हेर्छन्, न डिजाइन । सजिलो लाग्ने किन्छन् । त्यो पनि चाहिएपछि मात्र ।

‘लुगा चाहिएपछि मात्र किन्ने हो,’ उनले भने ।

साथीभाइको गुनासो हुन्छ, ‘लुगा अलि मिलाएर लगाउनुपर्‍यो क्या ।’

कसरी मिलाउने ? उनलाई थाहा छैन । कोठामा जे भेट्यो, त्यही लगाएर निस्कन्छन् ।

‘अगाडि देखेको लुगा नै उठाउँछु, छानेर, मिलाएर लगाउने गरिँदैन,’ उनले भने ।

कहिलेकाहीं नयाँ लुगा लगाएर साथीभाइमाझ प्रकट हुन्छन् । त्यतिबेला साथीहरु जिल्याउँछन्, ‘अहो ! आज त पुरै हेन्डसम देखियो त ।’

अनि, बुद्धी लजाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment