Comments Add Comment

चितवनको चुनावः प्रचण्डविरुद्ध कांग्रेस-राप्रपा गठबन्धनको तयारी

२९ असोज, चितवन । जिल्ला नै खाली गराएर काठमाडौं पुगेका अधिकांश चितवनका नेताहरु यतिबेला धमाधम जिल्ला फर्कन थालेका छन् । कतिपय अझै काठमाडौंमै छन् भने केही फर्कने तयारीमा छन् ।

कांग्रेस चितवनका सचिव उत्तम जोशी झण्डै एक साता काठमाडौं बसेर चितवन आए । उनी फेरि काठमाडौं पुगे । क्षेत्र नम्बर २ को प्रदेश ‘ख’बाट जोशीको पनि नाम सिफारिस भएको छ ।

यता, एमाले चितवनका पूर्व अध्यक्ष जगन्नाथ थपलिया, विजय सुवेदी चितवन आए । सांसद कृष्णभक्त पोखरेल पनि चितवनमा नै छन् ।

राप्रपा नेता एवम् वनमन्त्री विक्रम पाण्डे जिल्लामा नै भएका कार्यक्रममा सहभागी भएका छन् ।

३ निर्वाचन क्षेत्र रहेको चितवनमा अहिले चुनावी तापक्रम बढ्दै गएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट उठ्ने भएकाले भरतपुर महानगरपालिकाको निर्वाचन जस्तै चर्चा यो क्षेत्रको पनि हुने देखिएको छ । फरक यत्ति हो कि, कांग्रेससँग गठवन्धन गरी छोरीलाई मेयर जिताएका प्रचण्ड यसपटक एमालेसँग गठवन्धन गरी आफैं उठ्दैछन् ।

५ महिनाको वीचमा नै माओवादी अध्यक्ष प्रचण्डको राजनीतिक गठवन्धन कांग्रेस हुँदै एमालेसम्म आइपुगेको छ । हिजो प्रचण्डपुत्रीलाई जिताउन मतपत्र च्यात्न राज्यसत्ताको समेत दुरुपयोग गरेको आरोप खेपेको कांग्रेसले अहिले प्रचण्डलाई हराउन राप्रपाको साथ लिँदैछ । उता मतपत्र च्यातेर हराइएको भनिएका एमालेका देवी ज्ञवाली नै प्रचण्ड जिताउन मैदानमा उत्रिनुपर्ने दुःख छ ।

प्रचण्डसँगै साविक क्षेत्र नम्बर ५ का सांसद एवम् हालका वनमन्त्री विक्रम पाण्डे सोही क्षेत्रबाट उठ्दैछन् । उनी कांग्रेससँग गठवन्धन गरेर चुनाव लड्ने तयारीमा रहेको चर्चा जिल्लामा छ ।

रुख चिन्ह नै लिएर निर्वाचन लडे प्रचण्डका लागि पाण्डे खतरा बन्न सक्छन् । तर, हलो चिन्हबाट लिएर उठे प्रचण्डको जितलाई रोक्ने तागत उनीसँग हुने देखिँदैन । राप्रपा प्रजातान्त्रिकको खास प्रभाव भएको क्षेत्र यही हो । अरु क्षेत्रमा राप्रपाका उम्मेदवारलाई ३ हजार भोट कटाउन पनि मुस्किल पर्छ ।

चितवन ३ मा एमालेले जिल्लास्तरीय केही नेताहरु घनश्याम भट्टराई, शंकर थपलिया, शारदा कुमाल, विना तिमल्सिनाको नाम सिफारिस गरेको छ । एमालेसँग तालमेल र प्रचण्ड नै स्वयम् सोही क्षेत्रबाट निर्वाचन उठ्ने भएपछि यो सिफारिसका लागि सिफारिस मात्रै हुने देखिन्छ ।

माओवादीले क्षेत्र नम्बर ३ को प्रदेश क्षेत्रबाट कुनै पनि उम्मेदवार उठाएको छैन । एमालेले प्रदेश क्षेत्र ‘क’ बाट कृष्ण भुर्तेल र ‘ख’ बाट रामप्रसाद न्यौपाने, श्याम बिष्ट लगायतका नेताहरुको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ३ मा कांग्रेसबाट सांसद रामकृष्ण घिमिरे, कृष्णलाल सापकोटा, अञ्जनी श्रेष्ठ, पृथ्वीमान गुरुङमध्ये एक जनाले टिकट पाउनेछन् । तर, यहि क्षेत्रको प्रदेश ‘क’ बाट सिफारिसमा परेका दिनेश कोइराला क्षेत्रमा पार्टीले टिकट दिए माओवादी अध्यक्ष प्रचण्डसँग भिड्न तयार रहेको भन्दै नेताहरु माथि दवाव बढाइरहेका छन् ।

दिनेश कोइराला तीनै युवा हुन्, जो भरतपुर महानगरपालिकामा कांग्रेसबाट मेयरको टिकट पाएर पनि रेणु दाहाल जिताउनका लागि उम्मेदवारी फिर्ता लिन बाध्य भएका थिए । उनलाई फकाउने क्रममा प्रचण्डले आमसभाबाटै भनेका थिए, ‘तपाईं युवा हुनुहुन्छ, भोलि तपाईंलाई हामी उपयुक्त जिम्मेवारी दिन्छौं ।’

चितवन क्षेत्र नम्बर २ मा माओवादीबाट रामबहादुर थापा ‘बादल’ र एमालेबाट सांसद एवम् जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलको नाम सिफारिस भएको छ । तर, बादल समानुपातिकमा बस्ने मुडमा छन् ।

कांग्रेसले भने क्षेत्र नम्बर २ बाट शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, दीर्घमान श्रेष्ठ, प्रकाश अधिकारी, राजेश्वर खनाल, जगन्नाथ पौडेल, केशव कँडेल, गौरी श्रेष्ठको नाम केन्द्रमा पठाएको छ ।

चितवन क्षेत्र नम्बर १ बाट एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले टिकट पाउने निश्चित प्रायः छ ।

माओवादी केन्द्रले यो क्षेत्रबाट कसैको नाम सिफारिस नगरेको जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले बताए । उनले भने, ‘प्रदेश सभाका लागि अहिलेसम्म कसैको नाम सिफारिस गरिएको छैन, तालमेल भएकाले केन्द्रबाट ठाउँ निर्क्योल भएर आउनासाथ नाम तोक्न हामी तयार छौं ।’

कांग्रेसले क्षेत्र नम्बर १ मा त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ, राजेन्द्र बुर्लाकोटी र भीमप्रसाद थपलियाको नाम प्रतिनिधिसभाका लागि सिफारिस गरेको छ । बुर्लाकोटी यसअघि पनि एमाले नेता सुरेन्द्र पाण्डेसँग प्रतिस्पर्धी बनेर पराजित भएका नेता हुन् । कांग्रेसमा यसपटक पनि बुर्लाकोटीले नै टिकट पाउने सम्भावना रहेको जिल्लाका एक नेताले बताए ।

कांग्रेसले समानुपातिक र प्रत्यक्षसहित २ सय ७४ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ । एमालेले चितवनका जिल्लाका ३ निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर १ र २ मा आफ्नो दाबीलाई बलियो बनाएको छ ।

एमाले पार्टी सचिव पार्वती रावलका अनुसार १ र २ एमालेलाई र ३ नम्बर क्षेत्र माओवादी अध्यक्ष प्रचण्डलाई छाडिनेछ । एमालेले समानुपातिक, प्रदेश र प्रतिनिधिसभासहित करिब ९० जनाको नाम सिफारिस गरी केन्द्रमा पठाएको रावलले जानकारी दिइन् ।

चितवनको क्षेत्र नम्बर १ मा राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्नननगर नगरपालिका पर्छन् । यी तीनओटै नगरपालिकामा एमालेले जितेको छ ।

क्षेत्र नम्बर २ मा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका १० वटा वडा पर्छन् । त्यस्तै क्षेत्र नम्बर ३ मा माडी नगरपालिका र भरतपुर महानगरका १९ वडा समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment