Comments Add Comment

‘कान्छी’मा दयाहाङ र स्वेताको छमछमी(फोटो र भिडियो)


ललितपुरमा रहेको श्रीकाली चौर अरु बेलामा पनि यूवायूवतीदेखि पूजापाठ गर्ने वृद्धावृद्धको आगमनले व्यस्त नै देखिन्छ । यूवायूवतीका लागि मनको कुरा गर्ने स्थान मात्र होइन, श्रीकाली चौरमा रहेको मन्दिरमा पूजा गर्न पुग्ने भक्तजनको भिड पनि उस्तै रहन्छ ।

काठमाण्डौ भन्दा केही टाढा रहनेपनि श्रीकाली चौर पुग्न त्यती गाह्रो भने छैन । तर शुक्रबार, शनिबार र आइतबार भने श्रीकाली चौरको माहोल संगीतमय बन्यो । अनलाइनखबरको टिम रिपोटिङका क्रममा श्रीकाली चौर पुग्दा त्यहाँको सजावट गजबको थियो ।

१०० भन्दा बढी कोरस विभिन्न रंगका पहिरनमा सजिएका थिए । छेउमै कुर्सीमा बसेर गर्मिलो घामसँग लुकामारी गर्दै थिए, नायक दयाहाङ राई ।

 

श्रीकाली चौरमा शुक्रबार, शनिबार र आइतबार चलचित्र ‘कान्छी’मा समावेश एक लोकलयको गीतको छायांकन गरिएको थियो । शनिबार अनलाइनखबरको टिम पुग्दा नायक दयाहाङ राइ नृत्य गर्नमा व्यस्त देखिए ।

अहिलेका चर्चित संगीतकार राजनराज सिवाकोटीको शब्द, संगीत र स्वरमा समावेश ‘चरी चट्ट परि भुरुरु खोली तिरैतिर’ बोलको गीतको भिडियोको छायांकनमा दयाहाङ व्यस्त थिए । यो गीतमा राजनसँगै गायिका अन्जु पन्तले स्वर भरेकी छिन् । दयाहाङ नृत्य गर्दै गर्दा चलचित्रकी नायिका स्वेता खड्का भने छाता ओढेर चलचित्रको टिमका सदस्यसँग गफिनमा व्यस्त थिइन् ।

 

दयाहाङ र स्वेतासँग गरिएको कुराकानी र सुटिङको भिडियो यहाँ हेर्न सक्नुहुनेछः

 

केही समयपछि दया घामसँग लुकामारी खेल्न थाले भने स्वेता नाङ्लोमा कनिका भरेर नाच्न थालिन् । नृत्य निर्देशक बसन्त श्रेष्ठले १, २, ३ भन्दै टेक लिन थाले । उनले गीतमा चुरा, नाङ्लो, कनिकाको प्रयोग गरे ।

दया र स्वेतासँगै चलचित्रकी अर्की कलाकार भूमिका श्रेष्ठ पनि नृत्यमा मस्त थिइन् । यी कलाकारको निकै आकर्षक नृत्यलाई छायांकार पुरुषोत्तम प्रधान क्यामेरामा कैद गर्न तल्लिन देखिए ।

दिउँसोको पारिलो घाममा ठूला ठूला लाइट बालिएको थियो भने श्रीकाली चौरलाई सजाइएको थियो । वुझ्दै जाँदा थाहा भयो कि, नायिका स्वेता खड्काले नै यसको डिजाइन गरेकी रहिछन् ।

गीतको छायांकन भएकाले केही समय सेटमा बसेका चलचित्रका निर्देशक आकाश अधिकारी इनडोर लोकेशन हेर्नु छ भन्दै निस्किए । ५० दिन भन्दा बढी मुस्ताङमा चलचित्रको छायांकन गरेर यो टिम काठमाण्डौ फर्किएको हो । चलचित्रका अर्का कलाकार प्रज्वल सुजल गिरी, यो गीत गाउँमा आफू आउँदा गाउँलेले गर्ने स्वागतका क्रममा चलचित्रमा आउने बताइरहेका थिए ।

चलचित्र ‘कोहिनुर’बाट निर्मात्री बनेकी स्वेताले केही बर्षको अन्तरालपछि ‘कान्छी’ चलचित्र निर्माण गरेकी हुन् । चलचित्रलाई माघ २६ गते रिलिज गर्ने तयारी उनको छ ।

अनलाइनखबरसँग कुराकानी गर्दै नायिका खड्काले अघिल्ला चलचित्र भन्दा यो अझ उत्कृष्ट बनेको बताइन् । उनले भनिन्-‘यसपटक दर्शक चलचित्र हेरेर निकै हाँस्नुहुनेछ । साथमा, मलाई देखेर रुनु पनि हुनेछ ।’ नायक दयाहाङ राइले आफूले अभिनय गरेका केही चलचित्रमध्ये ‘कान्छी’ पनि पर्ने बताए । उनले, यो चलचित्र २ घन्टा ढुक्कले हेर्न सकिने सुनाए । स्वेता चलचित्रबाट ढुक्क छिन् । साथमा, दयाहाङ राइसँगको जोडी पर्दामा जम्ने कुरामा पनि विश्वस्त छिन् ।

तस्बिर तथा भिडियोः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment