Comments Add Comment

दूध, घडी र किताब बेच्ने पसलबाट पटाका बरामद !

पटाका बिक्री गर्ने पसलेहरु समातिए

बरामद पटाका नष्ट गर्दै प्रहरी । फाइल तस्वीर

३० असोज, काठमाडौं । राजधानीको सतुंगल चोकमा डेरी सञ्चालन गरी बस्ने धनबहादुर तामाङलाई दूध बेच्दाबेच्दै पटाका बेच्ने र पैसा कमाउने सुर चढ्यो । आइतबार प्रहरीले उनको डेरीमा खानतलासी गर्दा दूधको साटो विभिन्न खाले पटाका फेला परे ।

प्रहरीले धनबहादुरको दुग्ध डेरीबाट रकेट बम पटाका २० थान, क्यान्सिल बारुद पटाका सात थान र गमला बारुद पटाका १० थान बरामद गर्‍यो । डेरी सञ्चालक धनबहादुर पनि पक्राउ परे ।

काठमाडौं थानकोटमा चन्द्रबहादुर थापाको घडी पसल छ । घडीको विक्री एवं मर्मत गर्दागर्दै थापालाई पनि तिहारका बेला पटाका बेच्ने रहर जाग्यो । तर, उनी पनि पटाकासहित प्रहरीको फन्दामा परे ।

ललितपुरको प्रयागपोखरीमा कोपिला खनालको स्टेशनरी पसल छ । किताब कापी बेच्दाबेच्दै उनी पनि पटाका बेच्न सुरिइन् । ललितपुर प्रहरीले कोपिलालई पटाकासहित गिरफ्तार गर्‍यो ।

ललितपुरकै थसीखेलस्थित गंगादेवी गुरुङको एबी मार्ट पसलबाट पनि प्रहरीले पटाका बरामद गरेको छ । प्रहरीले गंगादेवी र उनका श्रीमान भीमलाल गुरुङ दुबैलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरी टोलीले काठमाडौंको मरुढोकास्थित एक पसलबाट ५० वषर्ीय मोहनकृष्ण शाहीलाई पनि पटकासहित पक्राउ गरेको छ । शाहीका साथबाट बोल्ट पटाका २६ थान, सकेट पटाका २१५ थान ग्राउन चक्कोर पटाका १२ थान, रोल क्याप ८ प्याकेट र झिरझिरे एक प्याकेट बरामद गरिएको प्रहरीले बताएको छ ।

त्यसैगरी प्रहरीले सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै गरेको ना ५ ख २७७० नम्बरको बसबाट करिब १ लाख रुपैयाँ बराबरको पटाका बरामद गरेको जनाएको छ ।

तिहारका बेला भारतबाट पटाका नेपाल भित्रिने गरेकाले सीमा नाकामा प्रहरीले कडाइ गर्न थालेको छ ।

यसैवीच प्रहरीले राजधानीका विभिन्न चोकमा माइकिङ गर्दै पटाका विक्री वितरण र प्रयोग नगर्न आग्रह गरेको छ । पटाका बेचेको या पट्काएको पाइएमा पक्राऊ गरी कारवाही गरिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment