Comments Add Comment

मन्थली नजिक भइरहेको भूक्षय नियन्त्रणबाहिर

६३ वर्षदेखि झरेको झर्‍यै घ्याप्चेको पहिरो

३१ असोज, रामेछाप । सदरमुकाम मन्थलीको सिरानमा रहेको गैराथोकस्थित घ्याप्चेको पहिरो फैलिँदै जाँदा जोखिम बढ्दै गएको छ । बर्सेनी फैलिँदै गएको पहिरोको कारण स्थानीय बासिन्दाको उठिबास लागेको छ ।

मन्थली ४ सालुस्थित उक्त पहिरो झर्न थालेको ६३ वर्ष बित्यो । ‘बुढापाकाहरु ०११ सालदेखि पहिरो सुरु भएको बताउँछन्,’ मन्थली नगर प्रमुख रमेश बस्नेतले भने, ‘०२२ सालयता नखसेको दिनै छैन ।’

हालसम्म हजारौं रोपनी जग्गा नष्ट गरिसकेको त, यसले । गैराथोक, सामलिस्थान, अर्चलेलगायत ठाउँका खेतीयोग्य जमिन बगिसकेका छन् ।

माथिबाट बगेको माटोले पुरेर सुनारपानी र मन्थली फाँटका खेतीयोग्य जमिन बगर बनेका छन् ।

‘जमिन धसिएर कतिपय घरका बिहान खोलेका ढोका बेलुका लाग्दैनन् । बेलुका लगाएका झ्यालढोका बिहान उठ्दा खुल्दैनन्,’ स्थानीय जगतबहादुर मगरले भने, ‘घरहरु पूरै कोल्टिएका छन् । मझेरी पटपटी फुटेका छन् । बारी धाँजा फाटेर गोरु लगाएर जोत्न हुने अवस्था छैन ।’

बाह्रै महिना पहिरो

कमेरे माटोको भूबनोट भएको घ्याप्चेको पहिरो वर्षामा मात्र होइन, हिउँदमा पनि उत्तिकै जान्छ ।

वर्षामा भन्दा हिउँदमा बढी पहिरो जान्छ । सुख्खा पहिरो गएर हिउँदभरि जमेर बसेको ढुंगामाटो वर्षाको बाढीमा बगाएर हजारांै रोपनी जग्गा पुरेर मरुभूमि बनाएको छ । माथिल्लो क्षेत्रमा कटान बढी छ भने मन्थली आसपासमा पुर्ने क्रम बढी छ ।

मन्थलीनजिक रणजोर खोलाको किनारमा समेत घर निर्माण तीव्र छ । वर्षामा उर्लिने रणजोरको लेदो माटोसहितको भेलले कहिले कुन बाटो लिन्छ भन्ने निश्चित हुँदैन । त्यसैले खोलमा बाढी आउन लागेपछि स्थानीय बासिन्दा त्रसित बन्छन् ।

घ्याप्चेको पहिरो नेपालका ठूलामध्येको एक हो । लगातार गइरहेको यो पहिरो नियन्त्रणभन्दा बाहिर छ ।

ठूलो पहिरो भएको कारण नियन्त्रणका लागि तत्काल कुनै योजना बनाउन नसकिएको नगर प्रमुख बस्नेत बताउँछन् । बाढीले मन्थली आसपासको क्षेत्रमा ठूलो क्षति नपुर्‍याओस् भनेर नगरपालिकाले डोजर लगाई खोलो हिँड्ने बाटो बनाइदिएको छ ।

‘हाम्रो बुताले पहिरो नियन्त्रण हुन सक्ने अवस्था छैन । केन्द्रलाई अनुरोध गरेका छौं, हेरौं के हुन्छ,’ नगर प्रमुख बस्नेतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment