Comments Add Comment

३ सातादेखि वेपत्ता छोरा खोजिदिन आग्रह

३१ असोज, सप्तरी । सप्तरीको बिष्णुपुर गाउँपालिकाका एक बालक गएको तीन सातादेखि बेपत्ता छन् । उनको खोजी गरिदिन उनका परिवारले सबैसँग आग्रह गरेका छन् ।

बिष्णुपुर गाउँप्ालिका वडा नम्बर ५ निवासी ११ वर्षीय महेश कुमार यादव असोज ९ गतेदेखि वेपत्ता रहेका पिता रामेश्वर यादवले बताए । लहानस्थित सडक विभाग कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत रामेश्वर चाडपर्वको समयमा छोरा बेपत्ता हुनुको पीडामा छन् ।

‘अहिले घरमा खाना समेत पाक्दैन । पाकेपनि खान मन लागिरहेको छैन’ उनले भने, ‘प्रहरीलाई पनि जानकारी गराइयो, आफैंले पनि सबैतिर खोजबिन गरियो, तर, छोरो पत्तो लागेन ।’

वेपत्ता महेश राजविराजस्थित वल्र्डभिजन स्कुलको कक्षा ५ मा अध्ययनरत छन् । असोज ९ गते बिहान साढे ६ बजे राजविराजस्थित कोठाबाट निस्केका थिए महेश त्यस यता सम्पर्कमा छैनन् ।

वेपत्ता भएका महेश आफ्नो दाजु सचिन र काकाका छोरा महेन्द्र यादवसँगै राजविराजमा बसेर अध्ययन गरिरहेका थिए ।

कुखुरा फार्मका मालिकमाथि आशंका

महेशका पिता रामेश्वरले रुपनी गाउँपालिकामा कुखुरा फार्म संचालन गर्दै आएका राजविराज ८ निवासी राहुल यादवले आफ्नो छोरालाई वेपत्ता बनाएको आरोप लगाए । ‘महेशलाई राहुलले यसअघि पनि आफ्नो कुखुरा फार्म दुई पटक लगेका थिए’ रामेश्वरले भने, ‘यस बिषयमा राहुलसँग मेरो नोकझोक पनि परेको थियो ।’

आफ्नो छोरालाई किन कुखुरा फार्म लगेको ? भनेर आफूले राहुललाई भनेको बताउँदै उनले कुखुरा फार्मका एक जना कर्मचारी पनि महेश वेपत्ता भएकै दिनदेखि हराइरहेकाले राहुलको यसमा हात भएको बताए ।

‘कुखुरा फार्ममा काम गर्ने भारतीय नागरिक उमाशंकर चमार पनि महेश हराएकै दिनदेखि गायव छ’ उनले भने, ‘यसैले राहुल र उमाशंकर मिलेर आफ्नो छोरालाई वेपत्ता बनाएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment