१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले शीर्षनेताहरुको निर्वाचन क्षेत्र टुंगो लगाएको छ । संसदीय समितिले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासहितका नेताहरु चुनाव लड्ने क्षेत्र टुंगो लगाएको हो ।
कांग्रेस स्रोतका अनुसार पार्टी सभापति शेरबहादुर देउवा डडेलधुराबाट चुनाव लड्नेछन् ।
यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट चुनाव लड्दै छन् । ०४८ सालमा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका पौडेल ०५१ को निर्वाचनदेखि तनहुँ २ बाट लडेर विजयी बन्दै आएका छन् ।
यसैगरी महामन्त्री शशांक कोइराला नवलपुर १ बाट चुनाव लड्ने टुंगो कांग्रेसले लगाएको छ ।
यसैगरी काठमाडौं क्षेत्र नम्बर १ बाट प्रकाशमानसिंह चुनाव लड्नेछन् । सिंह यसअघिका निर्वाचनमा पनि काठमाडौं १ बाटै निर्वाचित भएका थिए ।
काठमाडौं २ बाट दीपक कुइँकेल, काठमाडौं ३ बाट अम्बिका बस्नेत र काठमाडौं ४ बाट गगन थापा चुनाव लड्ने निश्चित भएको कांग्रेस स्रोतले बतायो । गगन थापा दोस्रो संविधानसभा निर्वाचनमा पनि काठमाडौं ४ बाटै विजयी भएका थिए ।
काठमाडौं ५ बाट प्रकाशशरण महत, काठमाडौं ८ बाट नवीन्द्रराज जोशी, ९ बाट ध्यानगोविन्द रञ्जित र काठमाडौं १० बाट राजेन्द्र केसी चुनाव लड्नेछन् ।
केसीले दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं १० मा माओवादी अध्यक्ष प्रचण्डलाई हराएका थिए ।
कांग्रेसका एक नेताले अनलाइनखबरसँग भने, ‘अहिले टुंगो लागेको यही नै हो । नेताहरुको मन बदलिए क्षेत्र पनि बदलिन सक्छ ।’
कांग्रेस मुख्यसचिव भन्छन्- दुई दिनमा सार्वजनिक गर्छौं
कांग्रेसले जिल्लाबाट आएको सिफारिसको आधारमा उम्मेदवार छनोट गर्न २२ सदस्यीय समिति बनाएको थियो । सोही समिति अहिले पनि छलफलको प्रक्रियामै छ ।
कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले पहिलो चरणमा शीर्ष नेताहरुको निर्वाचन क्षेत्र टुंगो लगाइएको जानकारी दिए । तर, उनले कुन नेताको कुन निर्वाचन क्षेत्र हो भनेर खुलाउन भने चाहेनन् ।
कांग्रेस मुख्य सचिव पौडेलले अनलाइनखबरसँग भने, ‘पहिलो चरणमा शीर्ष नेताको टुंगो लागेको छ । अर्को चरणमा अरु नेताहरुको टुंगो लाग्छ । हामी एक-दुई दिनमा सबै सार्वजनिक गर्छौं । अहिले पनि बैठकमै छौं ।’
प्रतिक्रिया 4