Comments Add Comment

यस्तो छ ७ नम्बर प्रदेशमा एमाले-माओवादी सिट बाँडफाँट

देउवाविरुद्ध खगराज भिड्दै, एमालेबाट मुख्यमन्त्रीमा कर्ण थापा प्रस्तावित

२ कात्तिक, धनगढी । नेकपा एमाले र माओवादी केन्द्रले ७ नम्बर प्रदेशका सबै जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभातर्फको सिट बाँडफाँड अनौपचारिक रुपमा टुंगो लगाएका छन् । कार्यदलमा सहभागी एक नेताका अनुसार प्रतिनिधिसभाका १६ मध्ये ६ सिट माओवादीले मागेकोमा ५ सिटमा टुंगो लागिसकेको छ ।

प्रदेशसभामा माओवादीले १२ सिट मागेकोमा ११ सिट पाउने टुंगो लागेको छ ।

प्रतिनिधिसभाः एमाले ११, माओवादी ५ सिट

स्रोतका अनुसार माओवादीले कैलालीमा प्रतिनिधिसभाका ५ मध्ये २ सिट पाउनेछ । माओवादी नेता लेखराज भट्ट कैलाली ४ बाट लड्नेछन् भने ३ नम्बर निर्वाचन क्षेत्र पनि माओवादीले पाउनेछ ।

त्यस्तै कञ्चनपुरमा प्रतिनिधिसभाका तीन सिटमध्ये माओवादीले क्षेत्र नम्बर १ पाउने निश्चित भइसकेको छ । सो क्षेत्रबाट प्रचण्डकी बुहारी बिना मगर चुनाव लड्ने चर्चा छ । माओवादीले कञ्चनपुरमा अर्को एक क्षेत्र पनि दावी गरिरहेको छ ।

एमाले र माओवादीबीच भएको तालमेलको सहमतिअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुरा माओवादीले पाउने भएको छ । सो क्षेत्रबाट माओवादी नेता खगराज भट्ट उम्मेदवार बन्नेछन् ।

त्यस्तै माओवादीले अछाम २ पनि पाउने भएको छ । माओवादीले बाजुरामा प्रतिनिधिसभा र प्रदेशसभा दुवै पदमा दावी गरेको छैन ।

प्रतिनिधिसभातर्फ एमालेले कैलालीमा ३ सिट, कञ्चनपुरमा २ सिट पाउने भएको छ । त्यस्तै बैतडी, दार्चुला, बझाङ, बाजुरा र डोटीमा पनि प्रतिनिधिसभातर्फको सिट एमालेले पाउने भएको छ । यी सबै जिल्लामा प्रतिनिधिसभा एक सिट मात्र रहेको छ ।

त्यस्तै ७ नम्बर प्रदेशका पहाडी जिल्लामध्ये २ निर्वाचन क्षेत्र रहेको एकमात्र जिल्ला अछामको क्षेत्र नम्बर १ एमालेले पाएको छ । त्यहाँ एमालेका उपाध्यक्ष तथा ७ नम्बर प्रदेश संयोजक भीम रावल उम्मेदवार बन्नेछन् ।

कार्यदलमा सहभागी एक नेताले भने- प्रतिनिधिसभाका १६ सिटमध्ये एमालेले ११ र माओवादीले ५ सिट पाउने मोटामोटी सहमति भएको छ । माओवादीले कञ्चनपुरमा एक सिट दावी गरिरहेको छ ।

प्रदेशमा एमाले २०, माओवादी १२ 

७ नम्बर प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये माओवादीले १२ सिट पाउने भएको छ । एमालेले १२ सिट भने पनि माओवादीले १३ को दावी छाडेको छैन । एमालेले २० सिट पाउने भएको छ ।

स्रोतका अनुसार माओवादीले कैलालीमा प्रदेशसभाका १० सिटमध्ये ३ पाउने भएको छ । कञ्चनपुरमा ६ मध्ये २ सिट पाउनेछ । त्यस्तै डडेलधुरा, डोटी, बैतडी, दार्चुला, अछाम र बझाङमा पनि एक-एक सिट पाउने समझदारी भएको छ ।

एमालेले कैलालीमा ७, कञ्चनपुरमा ३ सिट पाउने भएको छ । माओवादीले कैलालीमा एक सिट थप पाए एमालेले ६ सिट पाउनेछ ।

एमालेले बैतडी, दार्चुला, डोटी, बझाङ र डडेलधुरामा एक-एक सिट पाउने छ भने अछाममा ३ र बाजुरामा २ सिट पाउने भएको छ ।

मुख्यमन्त्रीमा कर्ण थापाको दाबी 

प्रतिनिधिसभा र प्रदेशसभाका सिट बाँडफाँड टुंगोमा पुग्दै गर्दा ७ नम्बर प्रदेशको भावी मुख्यमन्त्रीमा वामपन्थी गठबन्धनबाट एमाले पोलिटव्यूरो सदस्य कर्णबहादुर थापालाई अगाडि सारिएको छ ।

एमाले र माओवादीका मुख्य नेताहरु सबै प्रतिनिधिसभाको उम्मेवार बनेपछि कर्ण थापा मुख्यमन्त्रीका बलिया दाबेदार देखिएका हुन् ।

एमालेका भीम रावल, भानुभक्त जोशी लगायतका नेता प्रतिनिधिसभाको उम्मेदवार बन्दैछन् । त्यस्तै माओवादीका लेखराज भट्ट, खगराज भट्ट लगायतका नेता पनि प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।

बाजुराबाट प्रत्यक्ष चुनाव जितेर उद्योगमन्त्री बनेका थापा यसपटक प्रदेशसभा तर्फ समानुपातिकमा बसेका छन् ।

एमालेका शीर्ष नेता तहमै थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने समझदारी भएको स्रोतले जनाएको छ । उनी एमाले ७ नम्बर प्रदेश सहसंयोजक पनि हुन् ।

तर, माओवादीले यो प्रदेशमा मुख्यमन्त्रीको दाबी छाड्ने औपचारिक घोषणा गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment