Comments Add Comment

भाइटीकामा पनि वाग्मती सफाइ

३ कात्तिक, काठमाडौं । तिहारको मुख्य दिन कात्तिक ४ गते शनिबार पनि वाग्मती सफाइ महाअभियानको कार्यक्रमले निरन्तरता पाउने भएको छ ।

महाअभियानले भाइटीकाका दिन पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघिको नदी किनारमा सफाइ गर्ने अभियानकर्मी एवम् नेपाल विज्ञापन संघका महासचिव नारायण श्रेष्ठले राससलाई जानकारी दिए। विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ शनिबारदेखि नै २३२ हप्ता पार गर्दै छ । विसं २०७० जेठ ४ गते विज्ञापन संघ र नेपाल चलचित्र संघबीच सफाइका लागि सहयोग जुटाउने एवम् प्रचारप्रसार गर्ने उद्देश्यले भकुण्डो भीडन्तको नारासहित मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगितामा एस ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत अर्जुन धरेलले सफाइ महाअभियानकै लागि रु चार लाख सहयोग गरेको उनले जानकारी दिए । अन्य प्रायोजकबाट समेत गरी जम्मा रु १० लाखले शुरु गरिएको सफाइ महाअभियानले अहिले देशव्यापी सफाइ अभियानको रुप ग्रहण गरेको छ ।

सफाइका लागि हाल कसैसँग पैसा उठाइँदैन । आवश्यक पर्ने सामग्री सहयोगी संस्थाले दिँदै आएका छन् । सफाइमा स्वयंसेवी भावनाका मानिस सहभागी हुने गरेका छन् । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हाल देशका ३५ भन्दा बढी स्थानमा नदी एवम् शहर सफाइ भइरहेको छ । निजी क्षेत्रका अभियानकर्मीले शुरु गरेको अभियानको नेतृत्व तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले लिएपछि सफाइ अभियानमा जनसहभागिता जुटेको थियो ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाल टेलिकम, मुक्तिनाथ विकास बैंक, एस ट्राभल्स लगायतका संस्थाको निरन्तर सहभागिता छ ।

सफाइ अभियानमा कुनै समिति छैन । हाल कुनै पनि आर्थिक कारोबार नगरिने र कुनै राजनीतिक तुल वा झण्डा लिएर प्रवेश गर्न नदिइने अभियानकर्मी श्रेष्ठले जानकारी दिए । यसअघि विजयादशीका दिन शनिबार परे पनिसफाइ अभियानलाई निरन्तरता दिइएको थियो । अभियान शुरु भएपछि हालसम्म कुनै पनि शनिबार सफाइ नटुटेको सफाइ महाअभियानका प्रवक्ता उमेश बोहराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment