Comments Add Comment

भाइटीकामा कति प्रकारका रंग लगाउने ? सात वा पाँच ?

सँस्कृतिविदको बिचार बाझियो

४ कात्तिक, काठमाडौं । तिहारको गीत नै छ ‘निधारमा लर्काएर सप्तरंगी टीका…।’ तर, तिहारमा सात प्रकारका रंगको टीका लगाउने कि पाँच प्रकारको भन्नेमा शास्त्र र सँस्कृतिका जानकारहरुको मत बाझिएको छ ।

हिन्दू धर्म सँस्कृतिमा मनाइने सबै प्रकारका चाडबाडको तिथी मिति निकाल्ने र शुभसाइत जुराउने आधिकारिक सरकारी निकाय नेपाल पञ्चांग निर्णायक समितिका अनुसार तिहारमा सप्तरंगी टीका लगाउने भनेर उल्लेख छैन ।

समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले शास्त्रमा तिहारमा लगाइने टीकाको रङ रातो, सेतो, पहेंलो, हरियो र नीलो गरी पाँच प्रकारको मात्र उल्लेख रहेको जानकारी दिए ।

तर, सँस्कृतिविद डा. वासुदेवकृष्ण शास्त्री भने यसलाई मान्न तयार छैनन् । उनका अनुसार तिहारमा सात प्रकारका रंगको टीका नै लगाउनुपर्दछ ।

तिहारमा लगाइने सेतो रंग शान्तिको प्रतीक हो । निलो आरोग्य, कालो विरोध वा फौज, पहेंलो अध्यात्म, हरियो विकाश, बैजनी स्वतन्त्रता र रातो साहसको प्रतीक हो । त्यसैले यी सातै प्रकारका रंगको टीका तिहारमा प्रयोग गरिने शास्त्री बताउँछन् ।

नेपाली ज्ञान सभाका प्रवक्तासमेत रहेका शास्त्रीले अनलाइनखबरसँग भने, ‘हाम्रा सारा पर्वहरु सूर्य र चन्द्रमासँग सम्वन्धित छन् । त्यसैले सूर्यको किरणमा सात रंग भएजस्तै तिहारमा पनि सप्तरंगी टीका नै लगाउनुपर्छ ।’

शास्त्रीका अनुसार तिहारमा सात प्रकारका रंगको टीका लगाइदिएपछि ६ प्रकारका स्वादको समिश्रण भएको परिकार खानु/खुवाउनुपर्छ । संसारमा गुलियो, टर्रो, अमिलो, पिरो, नुनिलो र तितो गरी ६ प्रकारका स्वाद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment