+
+
Shares

गोरखामा बाबुराम र नारायणकाजीमध्ये को बलियो ?

मनोनयन दर्ताकै दिन दुई नेतावीच घोचपेच

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ६ गते ५:५०

५ कात्तिक, गोरखा । पहिलो चरण अन्तरगत मंसिर १० गते हुने निर्वाचनमा अहिले धेरै मानिसको ध्यान गोरखा क्षेत्र नम्बर २ तर्फ खिचिएको छ । नखिचियोस् पनि किन ? यो क्षेत्रमा नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ चुनावी भिडन्तमा उत्रिएका छन् ।
गोरखा २ मा ‘हेवी वेट’ नेताहरु डा. भट्टराई र श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएकाले धेरै मानिसहरुको ध्यान यस निर्वाचन क्षेत्रमा खिचिएको छ । कतिपय मानिसहरुले यी दुबै नेताहरु आगामी संसदमा चाहिने भएकाले एकै टाउँमा नभिडे हुन्थ्यो भन्ने पनि सोचेका थिए । तर, त्यो ईच्छाविपरीत श्रेष्ठ र भट्टराई एकले अर्कालाई हराउने अभियानमा लागेका छन् ।एउटै जिल्लाका बासिन्दा एवं माओवादी पार्टीमा शीर्षतहमा बसेका काम गरेका डा. भट्टराई र श्रेष्ठ दुबैजना वाम आन्दोलनका हस्ती एवं केन्द्रीय राजीनितिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने नेताहरु हुन् । तर, अब निश्चित छ आगामी चुनावमा यी दुईमध्ये एकजना प्रतिनिधिसभामा आउन अयोग्य ठहरिने छन् ।

दुई नम्बर क्षेत्रअन्तरगत पालुङटारका बाबुराम र जौवारीका नारायणकाजी बीचको बहुप्रतिक्षित भिडन्तलाई दुवै पार्टीले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।

गोरखा-२ मा डा. बाबुराम भट्टराईलाई समर्थन गर्न माओवादी केन्द्रले नमानेपछि बाम गठबन्धनमा बाहिरिएर उनी कांग्रेससँग सहकार्य गरी प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका हुन् । यसबापत क्षेत्र नम्बर १ र चारवटै प्रदेशमा नयाँ शक्तिले नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्नेछ ।

गोरखा क्षेत्र नम्बर २ भित्र पर्ने स्थानीय तहहरुमा पार्टीहरुले पाएको मतको हिसाव गर्दा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच खासै फरक छैन

गोरखाका साविकका २ नम्बर प्रदेश र साविकको ३ नम्बर प्रदेशको आधा क्षेत्र समावेश गरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ तय भएको छ । गोरखाका जिल्लामा कुल १ लाख ८९ हजार ४४८ मतदाता छन् । क्षेत्र नम्बर २ मा ९० हजार ८२६ मतदाता छन् । गोरखा-२ का प्रदेश ‘क’ मा ४३ हजार ५७५ र प्रदेश ‘ख’ मा ४७ हजार २५१ मतदाता छन् ।

स्थानीय चुनावका आधारमा को कति बलियो ?

गत बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय चुनावमा गोरखा क्षेत्र नम्बर २ भित्र पर्ने स्थानीय तहहरुमा पार्टीहरुले पाएको मतको हिसाव गर्दा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच खासै फरक छैन ।

गोरखा २ मा लोकतान्त्रिक गठबन्धन भन्दा वाम गठबन्धन जम्मा १३२ मतले मात्रै अगाडि देखिन्छ । तर, अबको चुनावमा उम्मेदवारको व्यक्तित्वका कारण स्थानीय चुनावको भन्दा केही फरक परिणाम आउन सक्ने अनुमान गरिएको छ ।

गत स्थानीय चुनावमा नेपाली कांग्रेसले यस क्षेत्रमा कुल १७ हजार ७० मत पाएको थियो भने नेकपा माओवादी केन्द्रले १७ हजार ८९४ मत पाएको थियो । त्यस्तै नयाँ शक्तिले ७ हजार ९०० र नेकपा एमालेले ७ हजार २०८ मत पाएको थियो ।

स्थानीय चुनावको यो मतका आधारमा हेर्दा कांग्रेस र नयाँशक्तिको कुल मत २४ हजार ९७० हुन्छ भने माओवादी र एमालेको २५ हजार १०२ मत हुन्छ ।

गोरखा-२ मा पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका, सुलीकोट गाउँपालिका तथा गोरखा नगरपालिकाका ८ देखि १४ वडा समावेश छन् ।

पालुङटार नगरपालिमा गत स्थानीय चुनावमा कांग्रेसले ४ हजार ६९८ मत पाएको थियो । माओवादी केन्द्रले ४ हजार ४९१, एमालेले २ हजार ४१० र नयाँ शक्तिले ३ हजार ९७६ मत पाएका थिए ।

सिरानचोक गाउँपालिकामा कांग्रेसले ३ हजार ४०२ मत पाएको थियो भने एमालेले १ हजार ७४०, माओवादी केन्ऽले ३ हजार २३५ र नयाँ शक्तिले १ हजार ४३१ मत पाएका थिए ।

त्यस्तै अजिरकोट गाउँपालिकामा कांग्रेसले ३ हजार ३३, एमालेले ३ सय ४७, माओवादी केन्द्रले २ हजार ७०२ र नयाँ शक्तिले १ सय ५० मत पाएका थिए ।

सुलीकोट गाउँपालिकामा कांग्रेसले ३ हजार २२, माओवादीले ४ हजार ६५९, एमालेले ८ सय ८५ र नयाँ शक्तिले १ हजार १६ मत पाएका थिए ।

गोरखा नगरपालिकाको वडा नम्बर ८ मा कांग्रेसले ४९८, एमालेले ४०५, माओवादीले ४३९ र नयाँशक्तिले ४५५ मत पाएका थिए । वडा नम्बर ९ मा कांग्रेसले ४६७, एमालेले १७५, माओवादीले ३६६ र नयाँ शक्तिले १७७ मत पाएका थिए ।

वडा नम्बर १० मा कांग्रेसले ३६७, एमालेले ३७३, माओवादीले ३०९ र नयाँ शक्तिले १८२ मत पाएका थिए । वडा नम्बर ११ मा कांग्रेसले ३४७, एमालेले ३२७, माओवादी केन्द्रले ४२८ र नयाँ शक्तिले ६८ मत पाएका थिए ।

यस्तै वडा नम्बर १२ मा कांग्रेसले ५३६, एमालेले १२२, माओवादीले ४८७ र नयाँ शक्तिले २१ मत पाएका थिए । वडा नम्बर १३ मा कांग्रेसले ४०४, एमालेले ९७, माओवादी केन्द्रले ५६४ र नयाँ शक्तिले ३२८ मत पाएका थिए ।

र, वडा नम्बर १४ मा कांग्रेसले २९६, एमालेले ३२७, माओवादीले २१४ र नयाँ शक्तिले ९६ मत पाएका थिए ।

बाबुरामको आधार

पहिलो संविधानसभा निर्वाचनमा डा. भट्टराईले नेकपा माओवादीबाट सबैभन्दा लोकप्रिय मत हासिल गर्दै विजय हासिल गरेका थिए । त्यसयता ०७० को दोस्रो संविधानसभामा क्षेत्र नम्बर १ बाट पनि माओवादीबाटै चुनाव जितेका भट्टराईले अहिले कांग्रेसको समेत साथ पाएका छन् ।

उम्मेदवारी दर्ता गराएपछि नयाँशक्तिका बाबुराम भट्टराई कांग्रेस नेता चिनकाजी श्रेष्ठ लगायतसँग । तस्वीर: विकास मरहट्ठा/अनलाइनखबर

तथापि थोरै मतदाता रहेको पार्टीका उम्मेदवारका लागि धेरै मतदाता रहेको पार्टीको सबै मत खस्ने सम्भावना कम रहने हुनाले बाबुरामका लागि यो चुनाव चुनौतीपूर्ण हुने देखिन्छ ।स्थानीय चुनावको मतपरिणाम हेर्दा नयाँ शक्तिको संगठनात्मक भोटले मात्रै एमाले र माओवादी गठबन्धनलाई जित्न कठिन छ । तर, संगठनात्मक भोट कम भए पनि भट्टराई ‘हेवी वेट’ नेता हुन् । र, ग्रामीण क्षेत्रमा उनको क्रेज अझै उस्तै देखिन्छ ।

गत स्थानीय चुनावमा सिरानचोक गाउँपालिका र गोरखा नगरपालिकाको वडा नम्बर ८ र १३ बाट पनि नयाँ शक्तिले सम्मानजनक मत पाएको थियो । यो बाबुरामका लागि केही सकारात्मक संकेत हो । तर, बाम गठबन्धनबाट चुनावमा जाने निर्णय र साता नवित्दै कांग्रेससँगको तालमेलले बाबुरामलाई केही अप्ठेरोमा पारेको भने पक्कै छ ।

तर, यो चुनावमा बाबुरामको व्यक्तित्वले प्रभाव पार्न सक्ने कतिपयको विश्लेषण छ । अर्को थरीको मत के छ भने माओवादी छाडेर नयाँशक्ति खोलेको अनि कहिले वाम त कहिले कांग्रेससँग तालमेल गर्न पुगेका कारण बाबुरामको लोकपि्रयता खस्किएको छ ।

विगतमा कांग्रेस र नयाँशक्तिवीच तीतो सम्बन्ध रहेकाले त्यसको असर यो चुनावमा पर्न सक्ने र वामपन्थी एवं कांग्रेसहरुले बाबुरामलाई भोट नदिने दाबी एमाले र माओवादी केन्द्रका नेताहरुको छ । यसका साथै गोरखा जिल्ला वाम जनमत भएको ठाउँ भएकाले वाम गठबन्धनले नै जित्ने दाबी बाबुरामका विपक्षीहरुको छ ।

नारायणकाजीको आधार

स्थानीय चुनावको मतलाई आधार मानेर विश्लेषण गर्दा माओवादी केन्द्र एक्लै पनि नेपाली कांग्रेसको हाराहारीमा देखिन्छ । यसमा एमालेको समेत मत थपिँदा नारायणकाजीको पल्ला स्वतः भारी हुने विश्लेषण माओवादीको छ

माओवादीको आधार इलाकाको रुपमा परिचित गोरखा, दुई वर्षअघि बाबुरामले पार्टी छाडेसँगै स्थानीय चुनावमा निक्कै कमजोर देखियो । गोरखाका ११ मध्ये ९ स्थानीय तहमा कांग्रेसले जित्यो ।

सिरानचोक गाउँपालिका जौबारी घर भएका नारायणकाजीले यस क्षेत्र जित्ने मुख्य आधार भनेको सुलीकोट र सिरानचोक गाउँपालिकाको मत हो । सुलीकोटमा स्थानीय तह माओवादीले जितेको छ भने सिरानचोक नारायणकाजीको आफ्नै गृहनगर हो ।

त्यसो त बाबुरामको प्रभाव रहेको भनिएको पालुङटार नगरपालिकामा पनि माओवादीले स्थानीय चुनावमा नयाँ शक्तिले भन्दा ५ सय मत बढी र कांग्रेस भन्दा २ सय मत कम पाएको थियो । तथापि अहिले बाबुराम आफैं चुनाव लड्दाखेरि स्थानीय चुनावको मत हेरफेर हुन सक्छ ।

गोरखा नगरपालिकाका ७ वडामध्ये स्थानीइ चुनावमा २ वटामा एमाले र २ वटामा माओवादीले जितेको छ । वडा नम्बर १० र १४ मा एमाले तथा ११ र १३ मा माओवादीले जितेको छ भने ७ मध्ये ५ वडामा एमाले माओवादीको मत जोड्दा कांग्रेस र नयाँशक्तिको मतभन्दा बढी छ ।

स्थानीय चुनावको मतलाई आधार मानेर विश्लेषण गर्दा माओवादी केन्द्र एक्लै पनि नेपाली कांग्रेसको हाराहारीमा देखिन्छ । यसमा एमालेको समेत मत थपिँदा नारायणकाजीको पल्ला स्वतः भारी हुने विश्लेषण माओवादी निकट नेताहरुको छ ।

यसका साथै नारायणकाजी आफैं पनि गोरखाकै बासिन्दा हुनु, उनले सादगी नेताको छवि बनाउनु र वाम एकतामा महत्वपूर्ण भूमिका खेलेको नेता भएकाले व्यक्तित्वको प्रभावले समेत थप भोट तान्न सक्ने बुझाइ माओवादी कार्यकर्ताहरुको छ ।

जे होस् गोरखा क्षेत्र नम्बर २ मा एमालेको साथ लिएर लड्न लागेका माओवादी नेता नारायणकाजी श्रेष्ठ र कांग्रेसको साथ लिएर लड्न लागेका पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराईवीचको प्रतिस्पर्धा निकै रोचक र घोचक हुने कुरामा अब कुनै शंका रहेन ।

दुबै नेताहरुले आइतबार मनोनयन दर्ताका क्रममा एकअर्काप्रति प्रहार गरेका शब्दवाणले नै प्रष्ट पारिसकेको छ कि गोरखा २ को चुनाव रोचक घोचक मात्रै होइन, दुःखद एवं भीडन्ततर्फ उन्मूख हुने ‘रिस्क’ पनि उत्तिकै छ । विगतको स्थानीय चुनावमा पनि यहाँ झडप र कुटाकुटका घटना भएका थिए ।

यो पनि पढ्नुहोस् 

गोरखाबाट कांग्रेस र कम्युनिष्टको मेलमिलाप सुरु भयोः बाबुराम

खिचडी गठबन्धनबिरुद्ध समान्य जितले मात्र पुग्दैनः नारायणकाजी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?