Comments Add Comment

‘काम गरेर आफूलाई योग्य प्रमाणित गर्ने छु’

'म पहिले नै सीईओ भएको भए टहराको बासबाट मुक्त गराइसक्थें'

७ कात्तिक, काठमाडौं । राजनीतिक चलखेल गर्ने थलो बनेकाले भूकम्पपीडितको पक्षमा प्रभावकारी काम हुन नसकेको गुनासो आइरहेको बेला सरकारले पूर्व सचिव युवराज भुसाललाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । भुसालले आजबाट आफ्नो कार्यभार सम्हालेका छन् ।

अनलाइनखबरले मंगलबार बिहान टेलिफोन गर्दा भुसाल कार्यालय जाने हतारोमा थिए । पूर्वसीईओ सुशील ज्ञवालीलाई पदमुक्त गर्दा पनि प्राधिकरणमा जाने आकांक्षा देखाएका भुसालले अनलाइनखबरसँग भने, ‘म पहिले नै सीईओ भएको भए धेरै भूकम्प पीडितलाई टहराको बासबाट मुक्त गराइसक्थें ।

हामीले उनलाई सोध्यौं- भूकम्प पीडितले राहत महसुस गर्ने कामको शुरुआत कहाँबाट हुन्छ ?

म पहिलोपटक पुर्निर्माण प्राधिकरणको नेतृत्व सम्हाल्न जाँदैछु । हिजोमात्रै नियुक्ति पाएकाले आजदेखि काम शुरु गर्दैछ । अहिले म अफिस जाने तयारी गरिरहेको छु ।

तसर्थ पहिले मैले अहिलेसम्म भएका कामको अपडेट लिनुपर्ने हुन्छ । कर्मचारीहरुसँग ब्रिफिङ लिनुपर्छ । त्यसपछि के-के काम भएका छन् के-के बाँकी छन् त्यसलाई हेरेर योजना बनाएर अघि बढ्छु ।

विगतका सीईओ भन्दा तपाईंको नेतृत्वले के फरक काम गर्ने छ  ?

मेरो नियुक्तिलाई राजनीति र नातावादसँग जोडेर प्रचार गरिएको छ अब मैले आफ्नो कामबाट आफूलाई योग्य प्रमाणित गराउने छु ।

अहिलेसम्म पनि भूकम्प पीडित जनताले पहिलो किस्ताकै रकम नपाएको गुनासो छ । अढाई वर्ष नाघिसक्दा पनि जनताले किन राहत पाउन सकेनन् ? यसको कारण खोजेर जनतालाई टहराको बासबाट मुक्त गराउन म प्रतिवद्ध भएर लाग्ने छु । निजी आवाससँगै साँस्कृतिक धरोहर र सार्वजनिक संरचना निर्माणमा पनि तिव्रता ल्याउने छु । यदि म पहिले नै सीईओ भएको भए अहिलेसम्म भूकम्प पीडितलाई टहराको बासबाट मुक्त गराइसक्थेँ ।

सरकारले भूमिहीन किसानलाई जग्गा उपलब्ध गराउने निर्णय त गर्‍यो तर, अहिलेसम्म कार्यान्वयन भएको छैन । तपाईसँग कुनै योजना छ ?

भूमिहीन पीडितलाई जग्गा उपलब्ध गराउन सरकारले दुई लाख दिने घोषणा त गर्‍यो तर सरकारी प्रतिवद्धता बमोजिम निर्णय कार्यान्वयन हुन नसकेको गुनासो छ । यसलाई मैले सम्वोधन गर्नेछु । प्राधिकरणका यसअघिका निर्णय कार्यान्वयनमा पनि मेरो ध्यान जाने छ ।

प्राधिकरण ऐन निकै झन्झटिलो भएको गुनासो छ यसलाई कसरी सरल र सहज बनाउनुहुन्छ ?

प्राधिकरण ऐन र कानुनी व्यवस्था निकै अप्ठ्यारा र जटिल छन् भन्ने कुरा मैले पनि सुनेको छु, यदि त्यस्तै रहेछ भने यसलाई सहजीकरण गरेर जनतालाई सक्दो छिटो सुरक्षित आवासमा स्थानान्तरण गर्नेछु ।

मसँग लामो प्रशासनिक अनुभव छ । यसलाई पूर्णरुपमा प्राधिकरण र भूकम्पपीडितको हितका लागि खर्चिने छु । कर्मचारी व्यवस्थापन अन्तर निकाय समन्वय गरेर काममा चुस्तता ल्याउने छु ।

आगामी असारभित्र घर बनाइसक्नुपर्ने बाध्यकारी ब्यवस्था सरकारले बनाएको छ । जबकि भूकम्पपीडित मध्ये करिब आठ प्रतिशतले मात्रै घर बनाएका छन् । कसरी सम्भव छ पुनर्निर्माण ?

मैले अघि भनिसकें सबैभन्दा पहिला म तथ्य पहिल्याउँछु । सबै पीडितलाई भूकम्प प्रतिरोधी घरमा सार्नु मेरो पहिलो कर्तव्य हुनेछ । यसका लागि सबै प्रकारका उपाय अबलम्बन गर्ने छु र यो कामका लागि सबै क्षेत्रबाट रचनात्मक सहयोगको अपेक्षा पनि गरेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment