Comments Add Comment

टान महाधिवेशन राजधानीमा सुरु, अध्यक्षमा दाहाल र लम्साल भिड्दै

अध्यक्षका प्रत्यासीद्वय नवराज दाहाल र मोहन लम्साल (दायाँ)।

१२ कात्तिक, काठमाडौं । ट्रेकिङ एजेन्सिज् एसोसिएसन नेपाल (टान) को महाधिवेशन आजबाट राजधानीमा सुरु भएको छ । टान पर्यटन व्यवसायीहरुको संगठन हो ।

आइतबार बिहान पर्यटन सचिव महेश्वर न्यौपानेले राजधानीको हायात होटलमा टान महाधिवेशनको उदघाटन गरेका हुन् । एक दिन मात्रै चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयनलगायत महत्त्वपूर्ण निर्णयहरु गर्नेछ ।

टानका अध्यक्ष चन्द्र रिजालका अनुसार, ८ पदाधिकारी र ९ सदस्यसहित कूल १७ पदका लागि आजै निर्वाचन हुँदैछ ।

पर्यटन व्यवसायीहरुको छाता संगठनको नेतृत्व हत्याउनका लागि वाम र लोकतान्त्रिक समूह आ–आफ्नो प्यानल खडा गरेर मैदानमा उत्रिएका छन् । वाम गठबन्धनको तर्फबाट नवराज दाहाल अध्यक्षका उम्मेदवार बनेका छन् भने लोकतान्त्रिक समूहले मोहन लम्साललाई अघि सारेको छ ।

टान अध्यक्ष रिजालका अनुसार, वाम गठबन्धनबाट वरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र भुसाल, प्रथम उपाध्यक्षमा जीवन थापा मगर, द्वितीय उपाध्यक्षमा ऋषि नेपाल, महासचिवमा आङपेम्बा शेर्पा र सचिवमा सुजन लामिछानेको उम्मेदवारी परेको छ । त्यस्तै, कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना र सह(कोषाध्यक्षमा तारा रानाको उमेदवारी दर्ता भएको छ ।

मोहन लम्सालको नेतृत्वमा चुनावी मैदानमा होमिएको प्रजातान्त्रिक समूहबाट वरिष्ठ उपाध्यक्षमा खुमबहादुर सुवेदी, प्रथम उपाध्यक्षमा बाबुकाजी सिटौला, महासचिवमा सेवन देवकोटा, सचिवमा सुरेन्द्रबहादुर कार्कीको उम्मेदवारी परेको छ । यस्तै, कोषाध्यक्षमा सुवास केसी र सह(कोषाध्यक्षमा किरण धरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment