Comments Add Comment

प्रचण्डलाई चितवनमा विक्रम पाण्डेको चुनौती

एमालेसँग गठवन्धनपछि प्रचण्ड कति सुरक्षित ?

१३ कात्तिक, चितवन । वाम गठवन्धनका तर्फबाट चितवन ३ मा उम्मेदवारी दिने तयारीमा रहेका माओवादी अध्यक्ष प्रचण्डविरुद्ध राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष एवं वनमन्त्री विक्रम पाण्डे चुनावी प्रतिस्पर्धामा उत्रने भएका छन् ।

मन्त्री पाण्डे हलो चिन्ह लिएर कांग्रेसको सर्मथनमा प्रचण्डका विरुद्ध चुनावी मैदानमा होमिने छन् । ३ वटा निर्वाचन क्षेत्र रहेको चितवनमा कांग्रेसले क्षेत्र नम्बर ३ मा राप्रपा (प्रजातान्त्रिक) उम्मेदवार विक्रम पाण्डेलाई सर्मथन गर्नेछ भने, क्षेत्र नम्बर १ र २ मा राप्रपा (प्रजातान्त्रिक)ले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्नेछन् ।

मन्त्री पाण्डेले साविक चितवनको निर्वाचन क्षेत्र नम्बर ५ बाट विजयी भएका पूर्वसांसद हुन् । राप्रपा (प्रजातान्त्रिक) का नेता पाण्डेलाई कांग्रेसले समेत सर्मथन गर्ने भएपछि यहाँको चुनावी प्रतिस्पर्धा अझै बढी रोचक हुनेछ ।

यसअघि पाण्डे प्रचण्ड नेतृत्वको सरकारमा भूमिसुधार तथा व्यवस्था मन्त्री समेत थिए । अहिले देउवा सरकारमा उनी वनमन्त्री छन् ।

लोकतान्त्रिक गठबन्धनले मन्त्री पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । चितवनका कांग्रेस सभापति जितनारायण श्रेष्ठले कांग्रेसले क्षेत्र नम्बर ३ मा राप्रपा (प्रजातान्त्रिक) का नेता विक्रम पाण्डेलाई सर्मथन गर्ने जनाए ।

श्रेष्ठले भने, ‘क्षेत्र नम्बर ३ मा कांग्रेसको उम्मेदवार रहँदैन, बाँकी २ वटा क्षेत्रमा कांग्रेसले उम्मेदवार उठाउँछ र त्यसमा राप्रपा (प्रजातान्त्रिक)को समर्थन रहन्छ ।’

ठेकेदारको समेत पहिचान बनाएका विक्रम पाण्डे, प्रचण्डका लागि वलिया प्रतिस्पर्धी मानिने छन् । पाण्डेलाई कमल थापा नेतृत्वको राप्रपाले पनि सर्मथन गर्ने जनाइएको छ ।

राप्रपा (प्रजातान्त्रिक) को कुनै संगठित मत नभए पनि पाण्डेले लोकप्रिय मतका आधारमा यसअघि उनले एमाले उम्मेदवार दानबहादुर तामाङलाई पराजित गरेका थिए ।

माडी नगरपालिका र भरतपुर महानगरको जगतपुर, मेघौली, शुक्रनगर लगायतका क्षेत्रमा पाण्डेको प्रभाव छ । क्षेत्र नम्बर ३ मा नै पर्ने वडा नम्बर ६, १४, १५, १७, १८, १९, २० मा कांग्रेसको प्रभाव छ । एमालेभित्र थोरै मात्रै असन्तुष्टि कायम रहँदा चुनावी प्रतिस्पर्धा निकै साघुरो अंकबाट अघि बढ्ने छ । यस क्षेत्रका मतदाता भने उत्साहित देखिएका छन् ।

प्रचण्ड कति सुरक्षित ?

गत असोजमै चितवन आएका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनबाट निर्वाचन लड्ने घोषणा गरेका थिए । अहिले उनी ३ निर्वाचन क्षेत्रबाट वाम गठबन्धनको साझा उम्मेदवार बनेका छन् ।

प्रचण्डले चितवनको विकासमा प्याकेजका रुपमा जति रकम लगानी गरेका छन्, त्यो अधिकांश यही ३ नम्बर क्षेत्रमा पर्छ । क्षेत्र नम्बर ३ को माडी नगरपालिकाको मेयर माओवादी केन्द्रले जितेको छ । त्यहाँ कांग्रेस, एमाले र राप्रपा माओवादीकै हाराहारीमा छन् ।

नगरपालिकाको बोर्डमा एमालेको स्पष्ट बहुमत छ । अधिकांश वडा एमालेले जितेको छ । भरतपुर महानगरमा माओवादीले ३ वटा मात्रै वडा जितेको छ । जसमा वडा नम्बर २५ र २६ मा वडाध्यक्ष मात्रै र वडा नम्बर १३ मा प्यानलसहित जितेको हो ।

माओवादीले वडा नम्बर २६ मा एमालेसँग तालमेल गरेर वडाध्यक्ष जितेको थियो भने बाँकी २ वडा आफ्नै तागतले जितेको हो । महानगरका १९ वटा वडा हाल क्षेत्र नम्बर ३ मा पर्छन् । माओवादीले जितेका ३ वटै वडा क्षेत्र नम्बर ३ मा नै परेका छन् । एमालेले १९ मध्ये ६ वटा र कांग्रेसले ११ बटा वडा जितेका छन् ।

गठवन्धनपछिको क्षेत्र नं. ३

भरतपुर महानगरका १९ वटा वडामा माओवादीको मत १३ हजार ६ सय ३६ छ । यसमा माडी नगरपालिकाको माओवादीले प्राप्त गरेको मत ३ हजार ८ सय ७२ थप्दा १७ हजार ५ सय ८ हुन आउँछ । यो माओवादीको एक्लो मत हो ।

महानगरको १९ वडामा एमालेको मत २१ हजार १ सय ३० र माडी नगरपालिकाको मत ३ हजार ८ सय २६ थप्दा २४ हजार ९ सय ५६ हुन्छ । यो दुवै मतलाई जोड्दा वामगठवन्धनको मत ४२ हजार ४ सय ६४ पुग्छ ।

यता, भरतपुर महानगरका १९ वटा वडाको कांग्रेसको मत २३ हजार २ सय ३७ छ । माडी नगरपालिकामा कांग्रेसले ल्याएको मत ३ हजार ८ सय २९ हो । यो जोड्दा कांग्रेसको कुल मत २७ हजार ६६ हुन्छ ।

माओवादी अध्यक्ष प्रचण्डमाथि एमालेसँग तालमेल गर्नेवित्तिकै जोखिम नै छैन भन्ने ठाउँ छैन । साविकको क्षेत्र नम्बर ४ कांग्रेसको सबैभन्दा बलियो पकड क्षेत्र हो ।

तत्कालीन कांग्रेस सभापति सुशील कोइराला देशकै सुरक्षित क्षेत्र खोज्दै बाँकेबाट यहीँ आएर उठेका थिए । अहिले विक्रम पाण्डे कांग्रेसको रुख चिन्ह लिएर चुनाव लड्ने अवस्थामा प्रचण्डका लागि असजिलो हुने पहिल्यैदेखि कतिपयले अनुमान गर्दै आएका छन् ।

तर, विक्रम पाण्डेलाई पनि प्रचण्डसँग चुनाव लड्नु कम जोखिमपूर्ण छैन । देशकै ठूलो नेता, सम्भावित प्रधानमन्त्री अनि भोलि बन्ने एकीकृत वाम पार्टीको सम्भावित अध्यक्षजस्तो व्यक्तित्वसँग पाण्डेले प्रतिस्पर्धा गर्नु निकै चुनौतीपूर्ण खेल हो । अझ यसमा पनि पाण्डेको आफ्नै पार्टीको संगठनात्मक भोट कमजोर छ ।

कांग्रेसको मतको बलमा चुनाव लड्न लागेका उनले कांग्रेसबाट सबै भोट आफूतिर तान्न सक्छन् या प्रचण्डतिर जान्छ भन्ने कुराले उनको हारजितलाई निर्क्यौल गर्नेछ । एमालेको हकमा पनि उनले माओवादी र एमालेवीचको असन्तुष्टिमा खेल्ने प्रयास पक्कै गर्लान् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment