+
+
Shares

चुनावी परिणामले एमालेसँगको एकता भाँडिदैनः प्रचण्ड

सुवास पण्डित सुवास पण्डित
२०७४ कात्तिक १३ गते १७:५९

१३ कात्तिक, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी निर्वाचनको परिणामले एमालेसँगको पार्टी एकतामा कुनै असर नगर्ने प्रष्ट पारेका छन् ।

भरतपुरमा प्रेस चौतारी र प्रेस सेन्टर चितवनले गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समिति समेत बनिसकेको भन्दै एकता प्रक्रियामा शंका नगर्न अपील गरे ।

एमाले र माओवादीले गरेको वाम गठवन्धनले देश र जनताको हित गर्ने उनको दावी छ ।

विगतमा कांग्रेससँग गरिएको निर्वाचन केन्द्रित तालमेल र अहिले एमालेसँग गरिएको गठवन्धन फरक भएको उनको भनाइ छ ।

प्रचण्डले भने, ‘एमाले र माओवादीबीच गरिएको वाम गठवन्धन र एकता जो गरिएको छ यसमा बैचारिक र राजनीतिक अर्थ छ । यसको छुट्टै विषेशता छ । यो एकता कुनै ट्याक्टिक कुरा होइन ।’

अध्यक्ष प्रचण्डले थपे, ‘देशमा धेरै पार्टी हुनुभन्दा कम पार्टी हुनु देश र जनतको आवश्यकता हो । यो प्रकृयाको शुरुवात हामीले गर्‍यौं, कांग्रेसमा पनि त्यो प्रक्रिया सुरु भएको छ, यो देश र जनताको हितमा छ ।’

अब निर्वाचन हुँदैन कि भन्ने संशय नरहेको भन्दै प्रचण्डले भने, ‘निर्वाचन आयोगले नै प्रत्यक्षतर्फको मतपत्र दुईवटा छाप्ने भएपछि निर्वाचन नहुने शंका रहेन ।’

चितवन क्षेत्र नम्बर ३ मा माओवादी तेस्रो स्थानमा छ कसरी निर्वाचन जित्नुहुन्छ ? भन्ने प्रश्नमा अध्यक्ष प्रचण्डले भने, ‘विगतको कुरा छाडौं, अब चितवनका जनताको विश्वासको मत लिएर देशको नेतृत्व गर्ने हो ।’

चितवन निर्वाचन क्षेत्र न. २ का विषयमा अध्यक्ष प्रचण्डले यो कुनै जटिल कुरा नभएको बताए । ‘आजै म एमाले अध्यक्ष केपी ओलीसँग भेट्दैछु । समयको चापले मात्रै निर्णय नभएको हो । आजैं टुंगो लाग्छ,’ उनले भने ।

माडीको बाँदरमुडे घटनाका पीडितहरुका लागि आफुले सत्तामा हुँदा र नहुँदा भेटेको र राहात समेत दिएको उनले बताए । उनले अब फेरी माडी जाने बताए ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?