Comments Add Comment

केपी ओलीविरुद्ध चुनाव लड्न त्रिचन्द्रका प्राध्यापकले राजीनामा दिए

को हुन् झापा ५ मा ओलीविरुद्ध उठ्ने डा. खगेन्द्र अधिकारी ?

१५ कात्तिक, काठमाडौं । झापा क्षेत्र नं. ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा सदस्यका लागि उठ्ने भएपछि उनीविरुद्ध लड्ने कांग्रेस नेता तत्कालै भेटिएनन् ।

केही दिनअघि त्यहाँ कांग्रेसले युवा नेता विश्वप्रकाश शर्मालाई उठाउने चर्चा चल्यो । शर्मा स्वयम्ले पनि पार्टीले आफूलाई जहाँ पठाउँछ, त्यही उठ्न तयार रहेको बताउँदै आएका थिए । तर, बुधबार कांग्रेसको संसदीय समितिको बैठकले शर्मालाई झापा-१ बाट उठाउने निर्णय गरेको छ ।

ओलीविरुद्ध कसलाई उठाउने भन्ने विषयमा कांग्रेसभित्र निक्कै कसरत भएको थियो । पूर्वसामान्य प्रशासन मन्त्री केशव बुढाथोकीलाई पनि त्यहाँ पठाउन खोजियो । तर, उनी ओलीविरुद्ध उठ्न चाहेनन् ।

त्यसो त ०७० सालमा झापा क्षेत्र नं. ६ बाट पराजित बनेकी रामकुमारी पौडेललाई पनि ओलीविरुद्ध उठाउने चर्चा कांग्रेसभित्र चलेको थियो । तर, उनलाई पनि पछि सारियो ।

अन्ततः केपी ओलीसँग नेपाली कांग्रेसका तर्फबाट डा. खगेन्द्र अधिकारी चुनावमा भिड्न तयार भएका छन् ।

प्राध्यापन छाडेर ओलीबिरुद्ध मैदानमा

बुधबार नेपाली कांग्रेसले झापा क्षेत्र नं. ५ बाट उठाउने निर्णय गर्दै गर्दा डा. अधिकारी काठमाडौंबाट झापा जाने हतारोमा थिए ।

त्रिचन्द्र कलेजमा प्राध्यापन गर्दै आएका डा. अधिकारीले टिकट पाउने लगभग निश्चित भएलगत्तै कलेजमा राजीनामा बुझाइसकेका छन् । र, टिकट हात पारेलगत्तै साढे १७ वर्षको प्राध्यापन पेशा छाडेर उनी पूर्वप्रधानमन्त्री ओलीविरुद्ध लड्न झापा छिरेका छन् ।

विसं. ३१ सालमा झापमा जन्मिएका ४३ वर्षीय डा. अधिकारीले भारतको सौराष्ट्र युनिभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधि गरेका छन् ।

डा. अधिकारीले कांग्रेसको राजनीतिक यात्रा भने ०४८ सालदेखि सुरु गरेका हुन् । उनी त्यसवेला झापाको गौरादह क्याम्पसमा नेपाल विद्यार्थी संघको इकाइ अध्यक्ष थिए ।

पछि ०५७ सालदेखि उनले प्राध्यापन पेशा सुरु गरे । उनी अहिले कांग्रेसको महासमिति सदस्य छन् ।

यसअघि उनी पार्टीको अनुसन्धान तथा अभिलेखालय विभागको केन्द्रीय सदस्य समेत बनेका थिए ।

‘सरकारको नोकर थिएँ, अब जनताको नोकर भएँ’

[sam_list] अधिकारीले आफ्ना प्रतिद्वन्दी केपी ओलीलाई चाहिँ कसरी हेरेका छन् त ? हामीले यसबारे जान्न चाह्यौं ।

वास्तवमा ओलीसँग उनको दोहोरो चिनजान रहेनछ ।

‘शीर्षनेता हुन् । त्यसमाथि पनि हाम्रै क्षेत्रको उम्मेदवार’, डा. अधिकारीले झापा जाँदाजाँदै अनलाइनखबरसँग भने, ‘म उहाँलाई चिन्छु, तर, उहाँ मलाई चिन्नुहुन्न ।’

प्राध्यापन पेशा छाडेर चुनावी प्रतिस्पर्धामा उत्रिएका उनले आफू हिजो सरकारको र आजदेखि जनताको नोकर भएको बताए ।

‘पेन्सन पाक्ने बेलाको जागिर छाडेर आफूलाई जनताप्रतिसमर्पित गराएको छु’, उनले भने, ‘कसलाई स्वीकार्ने, अब जनताका हातमा छ ।’
डा. अधिकारीले आफूलाई जनताको कठघरामा सुम्पिएको बताए ।

केपी ओली आफूसँग चुनाव हार्ने अधिकारीले दाबी गरे । विहीबार मनोनयन दर्ताका लागि बुधबार राति बिराटनगर पुगेका अधिकारीले भने- ‘म पूर्ण आत्मविश्वासका साथ केपी ओलीसँग चुनाव लड्न गइरहेको छु, मलाई चुनाव जित्नेमा पूर्ण विश्वास छ ।’

झापा क्षेत्र नम्बर ५ बाट कम्युनिष्ट पार्टी छाडेर मानिसहरु धमाधम कांग्रेसमा प्रवेश गरिरहेको र नेपाली कांग्रेसको पक्षमा लहर आएकाले वाम गठबन्धनले चुनाव हार्ने उनले दाबी गरे ।

चुनाव जितेपछि आफू यस क्षेत्रको विकासमा लाग्ने र कांग्रेसले घोषणापत्रमा उल्लेख गरेका योजनाहरु कार्यान्वयनमा लागिपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment