बलिउडका बादशाह शाहरुख खान अहिले बलिउडका ‘एक्लो घोडा’ जस्ता छन् । हरेक उमेरका ब्यक्तिले उनलाई उस्तै प्रेम गर्छन् । २ नोभेम्बर १९६५ मा भारतको दिल्लीमा जन्मिएका साहरुख आजबाट ५२ वर्षमा प्रवेश गरेका छन् ।
साहरुखको जन्मदिनको अवसर पारेर वुधबार रातीदेखि नै उनको घर ‘मन्नत’ अगाडि फ्यानको भीड लागेको छ । साहरुख भने परिवारसँग जन्मदिन मनाउन घर भन्दा बाहिर छन् । साहरुख बलिउडका यस्ता कलाकार हुन्, जो कुनै साथ र सहयोग विना नै यो उचाइमा पुगेका छन् । पहिलो चलचित्र ‘दिवाना’मा काम गरेपछि साहरुखलाई कहिल्यै पनि निराश हुनु परेन । बलिउडबाट नै उनले नाम, दाम सबै कमाए । उनी, विश्वका दोश्रो धनी कलाकार हुन् ।
२ छोरा र १ छोरीका पिता साहरुख पारिवारिक छन् । बलिउडमा उनलाई ‘किङ अफ रोमान्स, वादशाह, किङ खान’ जस्ता नामले बोलाइन्छ । उनै, साहरुखको जन्मदिनको अवसर पारेर हामीले यहाँ उनका २० किस्सा प्रस्तुत गरेका छौः
१. साहरुख खानको जन्म २ नोभेम्बर १९६५ मा ताज मोहम्मद खान र लतीफ फातिमाको घरमा भएको थियो ।
२. उनकी आमा हैदरावादकी हुन् भने बाबा पेशावरका हुन् । यस्तै, उनकी हजुरआमा काश्मिरी हुन् ।
३. दिल्लीमा हुर्किएका साहरुखले सेण्ट कोलम्बस स्कुलमा पढे । स्कुल पढ्दा उनको खेलकुदप्रति निकै रुची थियो । हंशराज कलेजबाट अर्थशास्त्रमा स्नातक उत्तिर्ण गरेका साहरुखले मिलिया इस्लामियामा मास कम्युनिकेशनमा भर्ना भए । तर, पुरा गरेनन् ।
४. साहरुख १५ वर्षको हुँदा उनको बुबाको क्यान्सरवाट मृत्यु भएको थियो । उनको बुबा वकिल एवं स्वतन्त्र सेनानी थिए । उनका बुबा १४/१५ वर्षको उमेरमा स्वतन्त्रता आन्दोलनको क्रममा जेल गएका थिए । पछि मौलाना अबुल कलाम आजादको बिरुद्ध चुनाव पनि लडे । तर, जितेनन् ।
५. साहरुखको नेशनल स्कुल अफ ड्रामासँग नजिकको सम्बन्ध थियो । उनका बुबाले १९७४ मा एनएसडी मा मेस चलाएका थिए । त्यहि वेला साहरुख आफ्नो बुबासँगै एनएसडी जान्थेँ । त्यहि वेला उनले रोहिणी हटंगडी, सुरेखा सिकरी, रघुवीर यादव, राज बब्बर जस्ता कलाकारले अभिनय गरेको हेरे । त्यही बेलादेखि उनको अभिनयप्रतिको झुकाव बढेको थियो ।
६. साहरुखको पहिलो कमाई ५० रुपैयाँ थियो । उनले पंकज उदासको कन्सर्टमा काम गरेर ५० रुपैयाँ कमाइ गरेका थिए ।
७. लेख टण्डनले कपाल काट्ने सर्तमा सन् १९८८ मा उनलाई हिन्दी सिरियल ‘दिल दरिया’मा काम दिएका थिए ।
८. उनको पहिलो सिरियल ‘फौजी’ थियो । निर्देशक कर्नल कपुरले केहि युवाहरुलाई दौडाएर अडिसन लिएका थिए ।
९. सानोमा साहरुख सेनामा जान चाहन्थेँ । उनले आर्मी स्कुल कलकत्तामा भर्ना पनि गरेका थिए । तर, उनकी आमा यसका लागि राजी थिइनन् ।
१०. एक सैनिककी छोरी गौरी छिब्बासँग स्कुलमै साहरुखको चिनाजानी भएको थियो । एक डान्सपार्टीमा उनीहरुले कुराकानी गरेका थिए । उनीहरुको विवाह २५ अक्टुवर १९९१ मा भएको थियो ।
११. साहरुखले टीभी सिरियल ‘सर्कस’मा काम गरेको बेला उनको आमा गम्भिर बिरामी भइन् । उनले ‘सर्कस’को एक भाग आमालाई देखाउने अनुमति लिए । उनको आमा रोगले ग्रष्त थिइन् अन्तिममा साहरुखलाई पनि चिन्न नसक्ने अवस्थामा पुगिन् ।
१२् आमाको निधनपछि पीडा भुलाउन मुम्बई गएका साहरुख त्यसपछि कहिल्यै फर्किएनन् ।
१३. साहरुखको पहिलो चलचित्र हेमा मालिनीको ‘दिल आसना हे’ थियो । तर, एकसाथ ५ चलचित्र साइन गरेका साहरुखको पहिलो रिलिज भने ‘दिवाना’ भयो । यसपछि, उनी यहि चलचित्रबाट स्टार बने ।
१४. साहरुख अहिले पनि कठिन मेहनत गर्छन् । उनी दिनमा ४/५ घण्टा मात्रै सुत्छन् । सुत्नु भनेको जीवनलाई खत्तम पार्नु हो भन्ने उनको मान्यता छ ।
१५. साहरुख एक दशकदेखि आफ्नो जीवनीसँग सम्बन्धित किताब लेख्दैछन् । निर्माता/निर्देशक महेश भट्टको आग्रहमा उनले पुस्तक लेख्न सुरु गरेका हुन् ।
१६. ‘डीडीएलजे’को सुटिङ खेतमा भएको वेला हरियाणाका किसानले विरोध गरेका थिए । जब साहरुखले हरियाणी लबजमा किसानसँग आग्रह गरे, उनीहरुले सुटिङ गर्न दिए ।
१७. ‘फ्यान’बाट लुक्नका लागि साहरुखले एक पटक गाडीको डिक्कीमा बसेर यात्रा समेत गरेका थिए ।
१८. लस एन्जल्सको एउटा शोमा जब म्याडोना आफ्नो शो हेर्न आएको साहरुखले देखे, उनले आफ्नो डान्स स्टेप नै भुलेका थिए ।
१९. स्कुल पढ्दा साहरुख हिन्दीमा कमजोर थिए । एकपटक १० मा १० नम्बर ल्याएपछि आमाले देवानन्दको चलचित्र ‘जोशीला’ देखाएकी थिइन् ।
२०. साहरुखलाई अहिले पनि घोडचढी र चुम्बनको दृष्य गर्दा डर लाग्छ ।
प्रतिक्रिया 4