Comments Add Comment

टिकट खोसिएपछि कांग्रेसका पुराना नेतालेे पार्टी छाडे

१७ कात्तिक, बुटवल । फिक्स भएको टिकट अन्तिम समयमा अर्कैले पाएपछि रुपन्देहीका पुराना कांग्रेस नेताले पार्टी परित्याग गरेका छन् ।

कांग्रेसका महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद पौडेलले पत्रकार सम्मेलन गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरे । ‘मेरो टिकट आर्थिक चलखेलकै कारण अरुलाइ दिइयो,पार्टी कसैको पेवा होइन हामी कसैका गोटी होइनौं’- उनले दुखेसो सुनाए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १० निवासी पौडेलले आगामी मंसिर २१ गते हुने प्रदेशसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ को ‘ख’बाट उम्मेदवारी दर्ता गराएपछि आफूमाथी भएको अन्याय र अत्याचार सहन नसकेर उम्मेदवारी दर्ता गराएको तथा पार्टी परित्याग गरेको जानकारी गराए ।

२०३४ सालमा पार्टीको साधारण सदस्यता प्राप्त गरी राजनीति आरम्भ गरेका पौडेल २०३६ सालमा क्रियाशील सदस्य भएका थिए । उनले आफूले पार्टीका लागि धेरै योगदान गरे पनि आफ्नो योगदानको पार्टीमा कुनै मुल्याङ्कन नभएको र पैसावाला तथा नवप्रवेशीहरुको हातमा पार्टी पुगेको आरोप लगाए ।

पत्रकार सम्मेलनमा भावुक बनेका पौडेल पार्टीमा नताबाट र कृपाबादका कारण टिकट वितरणमा देखाएको अकर्मण्यताले पार्टीप्रति निष्ठाबान, प्रतिवद्ध इमान्दार नेता तथा कार्यकर्तालाई निकै ठूलो चोट परेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment