Comments Add Comment

धुलिखेलकी शुकुमायाको चिन्ता– घर नदेखी मर्ने भएँ

पहिलो किस्ताले जग उठेन, अधिकांश भूकम्पपीडित टहरोमै


२० कात्तिक, काभ्रे । धुलिखेल नगरपालिका ३, कुत्तालकी ७९ वर्षीया शुकुमाया तामाङलाई यो जाडो सिजन कसरी टर्ला भन्ने चिन्ताले सताएको छ । भूकम्पपछिका दुई हिउँद जसोतसो कटाएकी शुकुमायालाई यसपालि कात्तिकमै शूरु भएको चीसोले अत्याइसकेको छ ।

‘दुईटा जाडो त टहरोमै काटियो, अब यसपालि कात्तिक नसकिँदै जस्ताबाट झरेको शिततले भिजाउन थाल्यो,’ नयाँ घर देख्ने चाहना पालेकी उनले चिन्ता व्यक्त गर्दै भनिन्, ‘नयाँ घर नदेखी मर्ने भएँ ।’

मण्डन देउपुरका ७१ वर्षीय भूकम्पपीडित सुनबहादुर दनुवारको कथा–व्यथा पनि शुकुमायाको जस्तै छ । उनले भने, ‘५० हजार राहतले मैले घरको जग खन्न सकिनँ, छोरा–नातीले कमाएपछि घर बनाउलान्, दुई जाडो टहरोमै गुजारियो । अब त भगवान भरोसा ।’

०७२ साल वैशाख १२ गतेको विनासकारी भूकम्पले बस्ने बास नै गुमाएका भूकम्प पीडितहरुलाई वर्षातभन्दा हिउँदे महिना कष्ठकर बन्ने गरेको छ । २ वर्षात् र २ हिउँद जस्ताको टहरामा कष्ठकर रुपमा गुजारेका भूकम्पपीडितहरुलाई सरकारी निकायबाट समयमा नै व्यवस्थापन गर्न नसक्दा उनीहरु सकसमा पर्दै आइरहेका छन् । भूकम्पको २ वर्ष ६ महिना बितिसक्दासमेत पीडितहरुले बस्नेबासको कुनै जोहो गर्न सकेका छैनन् ।

भूकम्पपीडितहरुका लागि सरकारले उपलब्ध गराउने पहिलो किस्ताअन्तर्गतको ५० हजार पाए पनि ५० हजार रकमले घरको जग राख्न समेत अपुग भएको गुनासो जिल्लाका भूकम्पपीडितहरुको गुनासो छ । सरकारी निकायबाट घरको जग राख्न पुग्ने रकमसमेत आउन नसक्दा समस्यामा परेको धुलिखेलका ढोलबहादुर तामाङले बताए ।

जस्ताको टहरामा बस्नुपर्ने बाध्यताका कारण विषेशगरी सुत्केरी महिला, बालबालिका र वृद्धावृद्धहरुलाई विभिन्न खाले समस्या हुने गरेको छ । हिउँदे सिजनमा जस्ताको टहराबाट आउने शितले बालबच्चा हुर्काउन नै कठिनाइ परिरहेको धुलिखेलकी सविना भुजेलले बताइन् ।

अनुदान रकम सम्झौता भएको लामो समयसम्म पनि पुनर्निर्माणको कामले गति लिन सकेको छैन । दोस्रो किस्ता लिन योग्य परिवारले समेत अmभैm रकम पाउन सकेका छैनन् । दोस्रो र तेस्रो किस्ता लिन योग्य परिवारहरुको सिफारिस आए पनि कोष तथा लेखा नियन्त्रण कार्यालयमा कर्मचारी अभावले रकमान्तर केही ढिला हुन गएको भूकम्पीय आवास पुनर्निर्माण आयोजना कार्यान्वयन इकाईका प्रमुख लोकनाथ रेग्मीले बताए ।

काभ्रे जिल्लामा लाभग्राही संख्या ७२ हजार ४ सय १७ मध्ये ६४ हजार ७ परिवारले अनुदान सम्झौता गरी पहिलो किस्ताअन्तर्गतको ५० हजारसमेत लिइसकेका छन् । जसमध्ये ७ हजार २ सय ७२ परिवारले दोस्रो किस्ता प्राप्त गरेका छन् । सरकारी तथा गैरसरकारी निकायको अनुदानबाट जिल्ला भर १५ सय ११ परिवारले आवास निमार्ण गरिसकेका छन् । ती परिवारले तेस्रो किस्ताको रकम प्राप्त गरिसकेको भूकम्पीय आवास पुननिर्माण आयोजना जिल्ला कर्यान्वयन इकाईको तथ्याङमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment