Comments Add Comment

कति सुरक्षित छन् मुख्यमन्त्रीका दावेदार कँडेल र ज्वाला ?

कँडेलको मैदान खाली, ज्वालालाई अप्ठेरो

२१ कात्तिक, काठमाडौं । एमाले नेता यमलाल कँडेल र प्रकाश ज्वाला दुबै प्रदेश नं. ६ को मुख्य मन्त्रीका दाबेदार हुन् ।

पार्टी पोलिटब्यूरो सदस्य समेत रहेका यमलाल कँडेललाई एमालेले वाम गठबन्धन हुनुपूर्व नै प्रदेश ६ को मुख्यमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको थियो ।

एमालेले कँडेललाई मुख्यमन्त्रीकै उम्मेदवारका रुपमा अघि सार्दै सुर्खेत क्षेत्र नं. २ को ‘क’ को प्रदेशसभा सदस्यका लागि सर्वसम्मत सिफारिस गरेको थियो । सोहीअनुसार उनी उम्मेदवार बनेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका कँडेलले मुख्यमन्त्रीका लागि भन्दै आफ्नो चुनावी अभियानलाई व्यापक बनाएका छन् ।

व्यवस्थापिका संसदका अर्थ समिति सभापति समेत भइसकेका प्रकाश ज्वाला भने माओवादीसँगको गठबन्धनपछि प्रदेशसभाको उम्मेदवार बनेका छन् । कँडेल भन्दा पछि एमालेका तर्फबाट ज्वाला पनि मुख्यमन्त्रीको दावेदार बनेका हुन् ।

ज्वाला एउटा मात्रै निर्वाचन क्षेत्र रहेको सल्यानको प्रदेश (ख)बाट उम्मेदवार बनेका छन् ।

प्रदेश नं. ६ का एमालेका यी दुईजना ‘हेभीवेट’ नेताहरु प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएपछि प्रतिस्पर्धा रोचक बनेको छ ।

मुख्यमन्त्री बन्नका लागि पहिले प्रदेशसभामा जित्नुपर्ने हुन्छ । प्रदेशको चुनावमा कँडेल र ज्वालाको जित सहज छ या असहज ? यसबारे प्रदेश नम्बर ६ मा विभिन्न अड्कलबाजी गर्न थालिएको छ ।

थानीले मैदान खाली गरिदिएपछि कँडेल सुरक्षित

यमलाल कँडेल अहिलेसम्म प्रतिस्पर्धा गरेका चुनावहरु मध्ये यसपटक निकै सुरक्षित देखिन्छन् । ३४ वर्षदेखि कँडेलसँग निरन्तर प्रतिस्पर्धामा रहेका कांग्रेसका हृदयराम थानीले यसपटक कँडेललाई मैदान खाली गरिदिएका छन् ।

थानी क्षेत्र नं. २ कै प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । तर, कँडेल मुख्यमन्त्री बन्नका लागि प्रदेशसभामा झरेका छन् । यसपटक कँडेलले थानीसँग प्रतिस्पर्धा गर्नु परेन । कँडेलका प्रतिस्पर्धीका रुपमा यसपटक कांग्रेसबाट जिल्ला सभापति कमलराज रेग्मी छन् ।

शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा ०४० मा प्रतिस्पर्धी भएदेखि कँडेल र थानी ०७० को चुनावसम्म आमने–सामने भइरहे । जसमध्ये तीनवटा चुनावमा थानीले बाजी मारे भने दुईवटा चुनावमा कँडेल विजयी भएका थिए ।

कँडेल र थानीको अहिलेसम्मको अन्तिम प्रतिस्पर्धा ०७० को संविधानसभा चुनाव हो । यो चुनावमा थानीले जीत हात पारे भने कँडेल प्रतिस्पर्धामा आन्तरिक कारणले कमजोर देखिए ।

कँडेलविरुद्ध ०७० सालमा बागी उम्मेदवारी दिएका एमालेका शिवप्रसाद उपाध्यायले ४५६५ मत ल्याएपछि एमालेकै कारण थानीको जित सहज बनेको थियो । तर, यसपटक भने कँडेलका मुख्य प्रतिस्पर्धी थानी मैदानमै छैनन् ।

एमाले आन्तरिक रुपमा समेत एकतावद्ध भएको छ । असन्तुष्ट बनेका शिवप्रसाद उपाध्याय लगायतका नेताहरुलाई समानुपातिकको बन्द सूचीमा राखेर एमालेले असन्तुष्टि मत्थर पारेको छ ।

पार्टी संगठन समेत बलियो भएकाले प्रदेशमा आफ्नो जित सुनिश्चित भएको नेता कँडेलको दाबी छ ।

कँडेलले गणितीय रुपमा आफ्नो जित भइसकेको भन्दै अब औपचारिक रुपमा घोषणा गर्न मात्र बाँकी रहेको बताएका छन् ।

गठबन्धनले कँडेललाई सहज

पार्टी संगठन नै बलियो भएकाले जित सुनिश्चित भएको दावी गरेका कँडेलाई वाम गठबन्धनले थप फाइदा पुगेको छ । एमाले–माओवादीका साझा उम्मेदवार भएपछि कँडेललाई जित्न सहज देखिन्छ ।

स्थानीय तहको मतको विश्लेषणका आधारमा वाम गठबन्धन कांग्रेस भन्दा अगाडि छ । वीरेन्द्रनगर नगरपालिकाका १५ र १६ नम्बर वडाहरु छुट्याएर क्षेत्र नं. २ को प्रदेश (क) बनेको छ ।

वीरेन्द्रनगर नगरपालिकामा कांग्रेसका मेयरका उम्मेदवारको मत १४ हजार ४०५ र एमालेका उम्मेदवारको मत १३ हजार ८९९ हो । तर, उपमेयरमा भने एमालेको मत बढी छ । यसका आधारमा हेर्दा कांग्रेस–एमालेको मत उस्तै देखिन्छ ।

वीरेन्द्रनगरमा माओवादीको मत ५२ सय ३७ छ । यो मत थपिँदा कँडेल कांग्रेसका रेग्मी भन्दा करिब ५ हजार मतले अगाडि देखिन्छन् ।

यो क्षेत्रबाट अलग गरिएको १५ नं. वडामा एमालेको ३९९, कांग्रेसको ३४२ र माओवादीको ४९ मत छ । यस्तै वडा नम्बर १६ मा कांग्रेसको ४९९, एमालेको ४८८ र माओवादीको ४२ मत छ ।

प्रदेशबाट अलग गरिएको मतले एमाले र कांग्रेस कसैलाई पनि खासै फरक पर्दैन ।

स्थानीय मतका मतका आधारमा पनि कँडेल बलिया देखिन्छन् । योसँगै कँडेल कमलराज रेग्मी भन्दा ‘हेभीवेट’ उम्मेदवार भएकाले पनि उनी सुरक्षित रहेको एमाले–माओवादीको दाबी छ ।

सल्यानका ज्वाला अप्ठेरोमा

एमाले–माओवादी गठबन्धन हुँदा सल्यानमा प्रतिनिधिसभा सदस्यका लागि माओवादीका टेकबहादुर बस्नेतले टिकट पाए ।

गठबन्धनभित्र भागबण्डा गर्दा प्रकाश ज्वाला प्रदेश (ख) बाट चुनाव लड्दै छन् । तर, ज्वालाले भने आफूलाई प्रदेश (ख) भागमा परेपछि झरेको नभई आफ्नो चाहना अनुसार चुनाव लड्न लागेको बताएका छन् ।

यसअघि दुई पटक जिल्लाका फरक फरक क्षेत्रबाट चुनाव जितेका ज्वालाले यसपटक पनि सहजै चुनाव जित्ने दाबी गरेका छन् ।

यसअघिका चुनावमा एक्लै प्रतिस्पर्धा गर्दा चुनाव जितेका ज्वालाले यसपटक सहजै जित्न सक्छन् भन्न सक्ने अवस्था देखिँदैन ।

गठबन्धन नै अभिशाप

एमाले–माओवादीको गठबन्धन भए पनि सल्यानमा गठबन्धनका सबै उम्मेदवारविरुद्ध वागी उम्मेदवार छन् ।

प्रकाश ज्वालाविरुद्ध माओवादीका पूर्वछापामार जीतबहादुर पुनले उम्मेदवारी दर्ता गराएका छन् । सिट बाँडफाँट र उम्मेदवार छनोटमा असन्तुष्ट माओवादीको जिल्ला समितिको निर्णयअनुसार नै उम्मेदवारी दिइएकाले माओवादीको भोट ज्वालालाई नआउने करीव पक्का जस्तै छ ।

गठबन्धन भनिए पनि ज्वालालाई एमालेको मत र आफ्नो ‘हेभीवेट’मै भर पर्नुपर्ने बाध्यता आइपरेको छ । तर, यसले मात्रै पनि ज्वालालाई त्यति सहज देखिँदैन ।

ज्वालाका मुख्य प्रतिस्पर्धी कांग्रेसका डिल्ली रेग्मी छन् ।  राप्रपाबाट राजेन्द्रवीर राय उम्मेदवार छन् ।

स्थानीय तहको मतअनुसार सल्यानमा राप्रपाको मत पनि कम छैन । शारदा नगरपालिकाका केही वडाहरु प्रदेश (ख)मा रहेकाले यहाँ राप्रपाको मत पनि राम्रो छ ।

स्थानीय तहको चुनाव अनुसार एमाले एक्लैको मत १५ हजार ७१६ छ । कांग्रेस एक्लैको १३ हजार ४६७ मत छ भने माओवादीको मत ११ हजार ४३४ छ । राप्रपाको करीब २५ सय मत छ ।

यो मतमध्ये असन्तुष्ट रहेकाले माओवादीको मत वागीलाई जान सक्छ । कांग्रेसले राप्रपाको समर्थन खोजिरहेको छ । राप्रपाले अरू दुर्इ क्षेत्रमा उम्मेदवारी फिर्ता लिए पनि यो क्षेत्रमा भने लिएको छैन् । यसले गर्दा ज्वालार्इ केही सहज हुने देखिन्छ ।

वाम गठबन्धनको असन्तुष्टि र राप्रपाले अन्त्यमा कांग्रेसलार्इ समर्थन गर्ने हो भने यसपटक ज्वालालाई चुनावी प्रतिस्पर्धा केही असहज बनेको छ । तर, गठबन्धनमा रहेको माओवादीबाट केही भोट तान्न सके भने ज्वालाको जित हुनेछ ।

एमालेबाट प्रदेश नम्बर ६ मा को मुख्यमन्त्री बन्ने भन्ने प्रतिस्पर्धा छ । यसमा ज्वाला र कँडेल आपसका दाबेदार हुन् । यीमध्ये कुनै एक नेताले प्रदेशमै पराजय व्यहोरे भने जित हात पार्ने व्यक्ति नै एमालेबाट मुख्यमन्त्रीको एकमात्र दाबेदार ठहरिनेछन् ।

यो पनि पढ्नुहोस्

६ नम्बरलाई ग्रिन प्रदेश’ बनाउँछुः महेन्द्रबहादुर शाही

कर्णाली प्रदेश समृद्धिका पाँच ब’: जीवनबहादुर शाही

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment