Comments Add Comment

६ नम्बरलाई ‘ग्रिन प्रदेश’ बनाउँछुः महेन्द्रबहादुर शाही

'सहमतिकै आधारमा मुख्यमन्त्री बन्ने हो'

२० कात्तिक, काठमाडौं । माओवादीका युवा नेता महेन्द्रबहादुर शाही विनाविभागीय मन्त्री हुन् । कालीकोट (ख) बाट प्रदेशसभामा उम्मेदवार रहेका शाही प्रदेश नम्बर ६ को मुख्यमन्त्रीका दाबेदार हुन् ।

वाम गठबन्धनका उम्मेदवार रहेका मन्त्री शाहीले आफू एमाले र माओवादीको सहमतिका आधारमा मुख्यमन्त्री बन्ने दाबी गरे । मुख्यमन्त्रीका रुपमा तपाईका एजेण्डाहरु के कस्ता छन् भनेर प्रश्न गर्दा उनले ६ नम्बर प्रदेशलाई नमूना ग्रिन प्रदेश बनाउने दाबी गरे ।

प्रस्तुत छ- मुख्यमन्त्रीका दाबेदार शाहीसँग अनलाइनखबरकर्मी खेमराज वलीले गरेको कुराकानीः

मन्त्री भइसकेको मान्छे प्रदेशतिर र्झनुभयो, प्रतिनिधिसभामा टिकट नपाएर हो कि पाए पनि चुनाव हार्छु भनेर हो ?

त्यसो होइन, पार्टीले मलाई प्रतिनिधिसभाकै टिकट दिएको थियो । त्यो अहिले पनि मसँगै छ । हार्ने कुरा त झन सम्भावनै छैन । पहिले पनि जितेरै आएको हो ।

तर, उम्मेदवारी दर्ता गर्नुपूर्व मलाई पुनः प्रदेशसभाको टिकट दिइयो । प्रदेशको नेतृत्व गर्नुपर्ने भएकोले नै पार्टीले मलाई त्यसका लागि प्रदेशसभाको टिकट दिएर पठाएको हो ।

त्यसो भए ६ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने चाहनाले नै तपाई प्रदेशमा र्झनुभएको हो ?

मेरो मात्रै चाहना होइन । पार्टीले नै प्रदेशको नेतृत्व गर्नुपर्छ भनेपछि प्रदेश सदस्यका लागि उम्मेदवारी दिएको हुँ । पहिले त पार्टीले नै प्रदेशको समृद्धिका लागि नेतृत्व गर्ने गरी पठाएको हो । मेरो पनि इच्छा हो ।

मुख्यमन्त्री बन्नलाई त प्रदेशमा अरु पार्टीको भन्दा धेरै सिट जित्नुपर्ने होला ? तयारी के छ ?

पहिलो कुरा त म माओवादीको मात्र नभई वाम गठबन्धनको उम्मेदवार हुँ । यहाँ चुनावमा पराजित हुनुपर्ने कारण छैन । प्रदेश नं. ६ मा वाम गठबन्धनको प्रष्ट बहुमत छ । यहाँ माओवादीलाई धेरै सिट जिताउने भन्दा पनि गठबन्धनलाई नै जिताउने हो । यो प्रदेश कम्युनिष्टको बहुमत भएको प्रदेश हो । जित सहज छ । गठबन्धनका तर्फबाट हामी सबै उम्मेदवारलाई जिताउन जुटेका छौं ।

जहाँसम्म मुख्यमन्त्रीको कुरा छ, त्यस सम्बन्धमा एमाले र माओवादीबीच सैद्धान्तिक सहमति भइसकेको छ । प्रदेश ६ को मुख्य मन्त्री माओवादीले नै पाउने हो । गठबन्धनमा माओवादी या एमालेले बढी जित्छ भन्ने छैन । तर, गठबन्धनले सबै जित्छ । सैद्धान्तिक सहमतिका आधारमा मुख्यमन्त्री बन्ने हो, त्यसमा तलमाथि हुँदैन ।

तपाईले गठबन्धनका कारण जित सहजै छ भनिरहँदा गठबन्धनकै कारण असन्तुष्टि पनि त छन् नि ?

कहीँकतै गलत बुझाइका कारण समस्या भएको हो । त्यो सबै मत्थर भइसकेको छ । बाँकी ठाउँमा पनि ठीक हुन्छ । दुई ठूला दलहरु ध्रुवीकृत हुँदा अस्वाभाविक लाग्नु र केही असन्तुष्टि हुनु स्वाभाविक पनि हो । तर, अहिले सबैले बुझिसक्नुभएको छ ।

यो ध्रुवीकरण राष्ट्रियताका लागि हो । राजनीति स्थिरता र समृद्धिका लागि हो । फेरि पनि दलहरु आ-आफैं लड्ने हो भने त ०७० सालको जस्तै नतिजा आउँछ र अहिलेको अवस्था कायम रहन्छ । त्यसका लागि त फेरि किन चुनाव गर्नुपर्‍यो ?

तपाई प्रदेशको मुख्यमन्त्रीको दाबेदार हुँदै गर्दा केके एजेण्डा अगाडि सार्नुभएको छ ?

मैले मात्रै होइन, वाम गठबन्धनले नै प्रदेश ६ को समृद्धिका एजेण्डा अगाडि सारेका छौं । हामीले हाम्रै कारणले पछाडि परेको कुरा स्वीकार गर्दै हाम्रा कमजोरीहरुलाई सुधार गरेर देशलाई नै नेतृत्व गर्ने प्रदेश निर्माणलाई जोड दिएका छौं । त्यसमा पनि मेरो धारणा फरक छ । प्रदेश नं. ६ का आन्तरिक चुनौतीहरुको अन्य गर्न यहाँको अभावलाई अन्त्य गर्ने योजना बनाएका छौं ।

यहाँको पहिलो चुनौति भनेको भौगोलिक विकटता हो । डोल्पा जिल्ला लगायतका अरु जिल्लाका पनि केही ठाउँमा सडक छैन । सडक पुगेका ठाउँमा पनि स्तरीय छैनन् । पहिलो एजेण्डा भनेकै प्रदेश ६ का सबै जिल्लामा सडक सञ्जाल जोड्नु र त्यसको स्तरउन्नती गर्नु हो । यहाँको विकटता हटाउनु हो ।

त्यसपछि सबैजिल्लामा विद्युत विस्तार, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका सम्पूर्ण पूर्वाधार निर्माण गर्ने मेरो प्रतिबद्धता छ । कर्णालीका जिल्लामा उपचार नपाएर जनताले अकालमै मृत्यु हुनुपरेको छ । क्याम्पस पढ्न गाउँ छोडेर सहर र्झनु परेको छ । त्यसका लागि कर्णाली का हरेक जिल्लामा कम्तिमा एउटा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने, क्याम्पस निर्माण गर्ने प्रतिबद्धता हामीले गरेका छौं । त्यसो भयो भने कसैले अकालमा मृत्यु हुनुपर्ने छैन । पढ्नलाई ठूलो खर्च गरेर तराई र्झनुपर्ने छैन ।

कर्णाली प्राकृतिक स्रोतको धनी छ । तर, गरीवी व्याप्त छ । गरीबीको अन्त्य गर्न यहाँका नदीनालाबाट विद्युत उत्पादन गर्ने, जडीबुटीको प्रशोधन गर्ने, व्यवसायिक कृषि उत्पादनका योजना कार्यान्वयन गर्न योजना हामीले ल्याएका छौं ।

गरिबी अन्त्य गर्न आत्मनिर्भर अर्थतन्त्र निर्माण गरिनेछ । त्यसका लागि स्थानीय स्रोत र साधनमा आधारित उद्योगहरु सञ्चालन गरिन्छ । कणर्ाली क्षेत्र र कर्णालीका सबै क्षेत्रलाई टुरिजम क्षेत्रका रुपमा विकास गरिनेछ । यस्ता केही कामहरु सुरु भइसकेका छन् । तिनलाई पूरा गर्ने र बाँकी काम पनि समयमै सुरु गर्नेछौं । मैले पाँच वर्षभित्र यहाँका जनताको दैनिकी र जीवनशैली नै परिवर्तन गर्ने गरी आफ्ना एजेण्डाहरु लिएर जनतामा पुगेको छु ।

तपाईले बनाउन चाहेको प्रदेश ६ कस्तो हो ?

धेरै कुरा मैले आफ्ना एजेण्डामा राखेअनुसार नै हुन्छ । केही काम छिटो सम्पन्न होलान्, केही समय लाग्न सक्छ । केन्द्रीकृत राज्य प्रणालीमा केन्द्रको दृष्टि पुग्न नसकेको यो क्षेत्रलाई देशकै नमूना प्रदेश हुनेछ ।

यहाँको भौगोलिक विकटताका कारण जनताले पश्ताचाप होइन भाग्यमानी ठान्ने छन् । किनभने कर्णालीजस्तो सम्भावना भएको प्रदेश कुनै पनि छैन । प्रदेश ६ नेपालको एक मात्र ‘ग्रिन प्रदेश’ हुनेछ । हाइड्रोपावर, पर्यटन र जडीबुटी उत्पादनको केन्द्र हुनेछ ।

नेपाली अर्थतन्त्रको मुख्य हिस्सा प्रदेश ६ नै बन्छ । जुन नमूना प्रदेश हुनेछ । त्यो सम्भव छ, बन्छ । मान्छेहरु ग्रिन प्रदेश अर्थात प्रदेश ६ को भिजिटमा आउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment