Comments Add Comment

बाजुरामा वाम गठबन्धनको प्रतिबद्धताः प्रत्येक घरको मासिक आम्दानी २० हजार

२३ कात्तिक, अछाम । आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावलाई केन्द्रीत गरेर बाजुरामा वाम गठबन्धनले पाँच वर्षे प्रतिबद्धता सार्वजनिक गरेको छ ।

एमाले र माओवादी केन्द्रले संयुक्त पत्रकार सम्मेलन गर्दै जिल्लामा पाँच बर्षे योजना र नीतिसहितको १२ पृष्ठको प्रतिबद्धता जारी गरेका हुन् ।

प्रतिबद्धता पत्रमा पाँच वर्षभित्र एक घर, एक रोजगारीसहित प्रत्येक घरको आम्दानी मासिक २० हजार पुर्‍याउने उल्लेख छ ।

सबै वडामा सडक, प्रत्येक घरमा बिजुली, करेसाबारी, सर्वसुलभ शिक्षा, स्थानीय रैथाने कृषिबालीको प्रबर्द्धन, तरकारीमा आत्मनिर्भरता र बाटो पुर्‍याउने परिकल्पनासहितको प्रतिबद्धता गरिएको छ ।

प्रतिबद्धतामा प्रत्येक स्थानीय तहमा बैंक र वडामा सहकारी स्थापना, बीऊ पूँजीकोष, दुई वर्षभित्र जिल्लाका सबै स्थानीय तहलाई मुख्य सडकसँग जोड्ने, सस्तो हवाई सेवा, बिजुलीको संयुक्त पावर संञ्चिती र व्यवस्थापन, वनजन्य उत्पादनमार्फत महिला र युवा स्वरोजगारी प्रबर्द्धन, कृषि उत्पादन वृद्धि र बजारिकरणसँगै एक गाउँ, एक उत्पादनसहित जैतुन पकेट क्षेत्रलाई सुपर जोनका रूपमा विकास गर्ने भनिएको छ ।

वैज्ञानिक भू-व्यवस्थापन, स्थानीय तहमा नमुना कृषि र पशुपंक्षी फार्म, पशुजन्य उत्पादन निर्यात गर्न सक्ने उल्लेख गरिएको छ ।

पूर्ण साक्षर जिल्ला घोषणा, प्राविधिक शिक्षालयको अनिवार्य स्थापना, जिल्ला अस्पतालको स्तरोन्नति गरी एक सय शय्या बनाउने, वाषिर्क १ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा, सडकको १५/१५ किलोमिटरको दूरी पानी र शौचालयको व्यवस्था गर्ने उल्लेख गरिएको छ ।

धार्मिक पर्यटकीय गन्तव्यको विकासँगै खप्तड-रारा पदमार्गलाई थप विस्तार र व्यवस्थित गरी पर्यटकीय गुरुयोजना निर्माण गरिने उल्लेख छ ।

नदी नियन्त्रण, एकीकृत बस्ती विकास गर्दै जीवन निर्वाह ज्यालाका साथै श्रमिक बैंक स्थापना, युवालाई सहुलियतमा ऋण, हरेक व्यक्तिलाई न्यूनतम सय दिन रोजगारी सुनिश्चित गराइने लक्ष्य लिइएको छ ।

सरकारी कार्यालयहरुमा स्थानीय भाषामा नागरिक वडापत्र, घुम्ती सेवा, उत्तरदायित्व, जवाफदेहिता र पारदर्शितालाई प्रोत्साहित गर्ने नीति लिएको छ ।

भाषणमा मात्र जनताको विश्वास नभएकोले जनतालाई विश्वस्त पार्न जिल्ला तहमा प्रतिवद्धता पत्र जारी गरिएको बाम गठबन्धनका नेता सुरेश विकले बताए ।

प्रतिनिधिसभा निर्वाचनमा एक क्षेत्र रहेको बाजुरामा आउँदो १० गते पहिलो चरण अन्र्तगत मतदान हुँदैछ ।

मुख्य रुपमा वाम गठबन्धन र कांग्रेसबीच प्रतिष्पर्धा हुने बाजुरामा यसपटक ६९ हजार ८३४ जनाले मतदान गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment