Comments Add Comment

‘भोक लाग्यो’ भन्ने देवीरामको दुःख


२६ कात्तिक, काठमाडौं । बाको सपना थियो, छोराले धेरै पढोस्, पण्डित बनोस् र कुलको इज्जत राखोस् ।

बाको चाहनाबमोजिम छोरोले धेरै पढ्यो, कुलको इज्जत पनि राख्यो तर पण्डित बनेन । छोरो त कलाकार पो भयो ।

हो, देवीराम पराजुलीले कक्षा ८ माथिको पढाइ तीनधारा पाठशालाको छात्रावासमा बसेर पूरा गरे । वाल्मिकी क्याम्पसमा आचार्य गर्दासम्म उनको बास छात्रावासमै भयो । संस्कृत पढेर उनी पण्डित त भएनन् तैपनि उनका बा बेखुशी छैनन् ।

बुद्ध दर्शनमा आचार्य गरेका देवीरामको गेटअप हेर्दा लाग्छ उनी पढाइमा खासै ध्यान दिन्नन् । तर, सिरियल होस् या स्टेज जहाँसुकै ‘भोक लाग्यो…’ भन्दै पिरोलिइरहने देवीराम पढ्ने मामलामा जाँगरिला विद्यार्थीको कोटीमा पर्छन् ।

अभिनयमा लाग्ने उनको कुनै सोच थिएन । ‘झुक्किएर कलाकार भएँ,’ उनी भन्छन् ।

कक्षा ९ मा पढ्दै गर्दा पाठशालाले संस्कृत भाषामा ‘गुरु दक्षिणा’ नामक नाटक मञ्चन गर्ने योजना बनायो । डा. घनश्याम खतिवडाले निर्देशन गर्ने भए । छात्रावासमै रिहर्सल शुरु भयो । नाटक र सांगीतिक कार्यक्रमको रिहर्सल प्रायः साँझमा हुन्थ्यो ।

तीनधारा पाठशालाको छात्रवासमा बस्नेले भात खाँदा धोतीपाटा फेरेर मात्रै भान्सामा पस्नुपथ्र्यो । खाना खाएर देवीरामले अन्य कपडा फेर्नै भ्याएका थिएनन् । रिहर्सल शुरु भइसकेकाले उनी धोतीपाटामै गए ।

देवीरामका एक साथी नाटकमा अनुबन्ध थिए । तर, उनलाई संवाद बोल्न निकै गाह्रो भइरहेको थियो । निर्देशकको आदेशपछि संवाद त बोल्थे तर अक्मकिन्थे । छेउमा उभिएका देवीरामले प्वाक्क भने, ‘यति डाइलग बोल्न पनि के अप्ठ्यारो मान्या । भन्देन फटाफट ।’

देवीरामको कुरा सुन्नेबित्तिकै निर्देशक खतिवडाले भने, ‘ए देवीराम तिमी आउ ।’ देवीरामको कलाकारिताको शुरुवातको विन्दु त्यही थियो । फटाफट संवाद बोलेर उनी नाटकमा छनोट भए ।

रेडियोमा बोल्न थालेको दुई महिनापछि लेखा शाखामा गए । उनको नामको पारिश्रमिक त अरु नै कसैले बुझिसकेको रहेछ ।

विश्व हिन्दु महासंघको आयोजनामा भारतको उज्जयनस्थित कालीदास एकेडेमीमा उक्त नाटक मञ्चन भयो । पहिलो झमटमै अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुन पाएका देवीरामले सोचेका थिएनन्, नाटकमा अभिनय गरेर स्यावासी पाइन्छ ।

विभिन्न विश्वविद्यालयका विद्वानहरु दर्शक थिए । उनीहरुले देवीरामलाई अंगालो मार्दै भने, ‘कति राम्रो अभिनय गरेको ।’ उनलाई लाग्यो, अभिनयमा त गज्जबै हुँदो रहेछ । नाटक मञ्चन सकेर नेपाल आएलगत्तै घनश्यामलाई आग्रह गरे, ‘दाइ मलाई रेडियो नेपाल लगिदिनु न ।’

पारिश्रमिक अर्कैले लगेछ


घनश्यामकै पछाडि लागेर देवीराम रेडियो नेपाल गए । दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, दमन रुपाखेती त्यहीं काम गर्थे । उनीहरुको चर्चा छुट्टै थियो । र, देवीरामभन्दा सिनियर पनि ।

देवीराम उनीहरुले बोलेको हेर्थे अनि जान्थे । धेरै दिन त्यसै गरे ।

‘यो एउटा केटो आउँछ, हेर्छ, जान्छ यसलाई किन डाइलग नदिएको ?’ एकदिन नाटक निर्देशक मदनदास श्रेष्ठले सहायक निर्देशक आरजे सिंह र मनोज बुढाथोकीलाई सोधेछन् ।

त्यसपछि मात्र देवीरामले संवाद पाउन थाले । शुरुमा बोल्नेलाई रेडियो नेपालले ‘घ’ श्रेणीको कलाकारको उपाधि दिन्थ्यो । एउटा नाटकमा बोलेवापत उनी सय रुपैयाँ पारिश्रमिक पाउँथे ।

नाटकमा बोल्न थालेपछि पैसा पाइन्छ भन्ने थाहा थियो उनलाई । रेडियोमा बोल्न थालेको दुई महिनापछि लेखा शाखामा गए । उनको नामको पारिश्रमिक त अरु नै कसैले बुझिसकेको रहेछ ।

‘अरु कसैले मेरो पारिश्रमिक फलानोलाई दिनु भनेर मञ्जुरीनामा नै लेखेको रहेछ,’ उनी भन्छन्, ‘मेरो नामको सही गरेको चिट्ठी थियो तर सही मेरो थिएन ।’

नयाँ कलाकारको पारिश्रमिक पुरानाले खाने रोग रेडियो नेपालमा अझै हटेको छैन भन्नेहरु धेरै छन् ।

दुई महिना बितेपछि भने उनको पारिश्रमिक आफ्नै हात पर्‍यो । अरु केही महिना रेडियो नेपालबाट बुझेको पैसा सिंहदरबारको गेट कटेर बाहिर आएन । त्यहीं ‘आदरणीय’हरुलाई चिया, खाजा खुवाएर सकिन्थ्यो । लगभग तीन सय नाटकमा बोलेका देवीरामले एउटा नाटकबाट चार सय रुपैयाँसम्म बुझे ।

भट्टराई दाइको ठोसा परेको दाह्रीले देवीरामको गालाको कलिलो छालामा मज्जैको दख्खल दियो । देवीराम क्वाँ क्वाँ रोए ।

रेडियोमा काम गर्दा गर्दै उनले स्टेज र सडक नाटकमा पनि काम गरे । सडक नाटक गरेपछि मात्रै कलाकार पोख्त हुन्छ भनिन्थ्यो । पोख्त हुन भन्दै उनी सर्वनामका अशेष मल्ललाई भेट्न पुगे ।

मल्लले काम दिए, सडक नाटकको । भनेजस्तै भयो देवीरामलाई । सर्वनामको नाटकमार्फत पूर्वपश्चिम यात्रा गरे भने एउटा नाटकमा काम गरेवापत पाँच सय रुपैयाँ पारिश्रमिक पनि पाए ।

‘कहिलेकाहीं त एकै दिन दुइटा नाटकसम्म गर्न सकिन्थ्यो,’ उनी भन्छन् ।

पहिलो छाकमै खुर्सानी

रेडियो, सडक नाटक जहाँ पुगे पनि बास तीनधारा छात्रवासमै थियो । छात्रवासका केही आफ्नै र केही त्यहीं बस्ने सिनियरहरुले बनाएका नियमले उनी रोमाञ्चित थिए । कतिपय उटपट्याङ काम हुन्थे र त्यस्ता काममा विद्यार्थीदेखि कर्मचारीसमेत सहभागी हुन्थे ।

संस्कृत विद्यालयमा कक्षा ८ मा भर्ना भएका देवीराम छात्रावास छिरेको पहिलो दिनै क्वाँ क्वाँ रोएका थिए ।

देवीराम छात्रावास छिरे । मोहन भट्टराई भन्ने दाइसँग भेट भयो ।

‘के छ त बाबु ?’ उनले मायालु पारामा सोधे ।

‘ठीक छ दाइ,’ देवीरामले भने ।

झ्याप्प दार्‍ही पालेका थिए भट्टराईले । देवीरामलाई नजिकै बोलाए र माया गरेको स्टाइलले दार्‍ही दल्दिए । उनको ठोसा परेको दार्‍हीले देवीरामको गालाको कलिलो छालामा मज्जैको दख्खल दियो । देवीराम क्वाँ क्वाँ रोए ।

बद्री पाण्डेकै कोठामा थियो उनको बसाइ । पहिलो दिन साथीहरुसँगै खाना खान गए । पिर्कामा बसेर भात खाँदै थिए, भान्सेले एकमुठी तारेको खुर्सानी ल्याएर थालमा राख्दै भने, ‘पहिलो दिन यो सबै खुर्सानी खानुपर्छ ।’

ग्याङ फाइट कति कति


ग्याङ फाइट हुनलाई खास विषय चाहिँदैनथ्यो । पूर्वेली र पश्चिमेलीको द्वन्द्व पहिल्यैदेखि थियो । बेलाबेलामा ग्याङ फाइट यही कारण हुन्थ्यो । हिमाचल, पश्चिमाञ्चल, पण्डित र गोर्खाली टोल भनेर छात्रावासले एक सय ६ जनालाई चार टोलमा विभाजित गरेको थियो ।

पछि त्यही टोलका विषयमा झगडा पथ्र्यो । एउटा विषेशता भने गज्जबको थियो । बाहिरको मान्छेले कसैलाई केही गरे भने एक सय ६ जनाकै टोली रामधुलाइमा जुट्थ्यो ।

एउटा घटना उनलाई अहिले पनि सम्झना छ । गोर्खाली टोलमा थिए, बासु कोइराला । निकै सोझा थिए । सोझो भएकै कारण सबैले हेप्थे । सबैले हेपेकामा उनलाई साह्रै पीडा भएछ । बक्सिङ सिक्न गएछन् । बक्सिङ सिकिसकेपछि उनको कला छात्रावासमा मात्रै होइन, राष्ट्रिय खेलमा समेत काम लाग्यो । केही राष्ट्रिय पुरस्कारसमेत जिते, उनले ।

डीएसपी कुटेको रात

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । प्रधानमन्त्रीको सवारी भएको बेला माथिबाट हेर्न हुँदैन भनेर प्रहरीले नियम बनाएको रहेछ । छात्रावासमा बस्ने नवराज बरालले सवारी भएको बेला झ्यालबाट मस्तले हेरेछन् । प्रहरीलाई के चाहियो । ‘छात्रावास भित्रबाट किन हेरेको ?’ भन्दै डीएसपी बराल भाइलाई तान्नै आए ।

‘कांग्रेसका नेता सवारी भएको हेरेवापत नेविसंघले प्रहरीको कुटाइ खानुपर्ने ?’ विद्यार्थीहरुको कन्पारो तात्यो । उनीहरु आक्रोशित र उत्तेजित भए ।

पहिले गि्रल लगाए अनि डीएसपीलाई रामधुलाइ गरे ।

छात्रावासका विद्यार्थीले डीएसपी कुटेको खबर बालुवाटारसम्म पुग्यो । प्रधानमन्त्री कोइराला आफैंले फोन गरेर भने, ‘के भएको हो मिलाउनु ।’

राति एक बजे प्रहरी र छात्रावासबीच वार्ता भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment