Comments Add Comment

भीरबाट ढुंगा लडाएर वर्षमानको गाडी रोक्ने तीन युवक पक्राउ

वर्षमानलाई लक्षित गरी एक राउण्ड फायरिङ

२६ कात्तिक रोल्पा । पूर्वमाओवादी नेता नेत्रविक्रम चन्दका कार्यकर्ताले आफ्नै पूर्वसहकर्मी वर्षमान पुनको चुनावी अभियानमाथि निरन्तर अवरोध गर्न थालेका छन् ।

शनिबार वर्षमान चढेको गाडीलाई लक्षित गरेर माइन बिस्फोट गराइएको थियो भने आइतबार भीरबाट ढुंगा लडाउने र सानो हतियारबाट फायरिङ गर्ने काम भएको छ ।

अनलाइनखबरलाई प्राप्त जानकारी अनुसार आइतबार दिउँसो रामचीबाट दुईखोलीतर्फ आमसभाका लागि हिँडेको वर्षमान पुनको टोलीलाई भीरबाट ढंगा लडाएर विप्लवका कार्यकर्ताले करिब २ घण्टासम्म बाटैमा रोकेका छन् ।

पुनसँगै टोलीमा रहेका एक माओवादी कार्यकर्ताले अनलाइनखबरलाई दिएको जानकारी अनुसार विप्लवका कार्यकर्ताले भीरबाट ढुंगा लडाएर गाडी रोकेपछि छोटो हतियारबाट फायरिङ गरेका थिए । प्रहरीले जवाफी फायरिङ गरेर उनीहरुलाई धपाएको थियो ।

यसक्रममा ३ जना विप्लवका कार्यकर्तालाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको छ । आक्रमणकारीलाई प्रहरीले भीर आसपासबाट सर्च गरेर पक्राउ गरेको हो ।

वर्षमान पुनको चुनावी टोलीमाथि दिनहुँ आक्रमणको प्रयास भइरहे पनि विप्लव समूहले अहिलेसम्म घटनाको जिम्मेवारी लिएको छैन ।

तर, आफ्नै मित्रशक्तिमाथि सिलसिलेवार रुपमा सांघातिक हमला हुन थालेपछि यस्तो घटना विप्लव समूहले नै गराइरहेको छ या उनका नाममा वाम गठबन्धन विरोधी शक्तिले गरिरहेको छ भन्नेबारे गम्भीर प्रश्न उठेको माओवादी केन्द्रका एक जिल्ला नेताले बताए ।

शनिबार वर्षमानको टोलीलाई तर्साउने नियतले नभई सखाप नै पार्ने नियतले शक्तिशाली माइन बिस्फोट गराइएको थियो भने आइतबार गोली हान्ने प्रयास भएको थियो ।

घटनाको प्रकृति हेर्दा सामान्य अवरोध गर्ने मात्रै नभएर पुनमाथि सांशातिक आक्रमणकै षड्यन्त्र भइरहेको संकेत देखिएको सुरक्षा स्रोतको आँकलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment