Comments Add Comment

डाइटरी सप्लिमेन्टः नवप्रचलित खाद्यपदार्थ र नियमनको आवश्यकता

असल खानपान, नियमित व्यायाम र सकारात्मक सोच स्वस्थ जीवनका आधार हुन् भन्नेमा दुईमत छैन । असल खानपानको त अझ बढी महत्व छ । खानाबाट हामीलाई ऊर्जा, विभिन्न कोष र तन्तुहरुको दैनिक निर्माण तथा क्षयीकरणलाई परिपूर्ति र बाह्य संक्रमणविरुद्ध लड्न प्रतिरोधात्मक क्षमता अभिवृद्धि सम्भव हुन्छ ।

दैनिक खाद्यपदार्थहरुबाट शरीरलाई कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन, खनिज तत्वहरु, फाइबर, एन्टिअक्सिडेन्टजस्ता साधारणदेखि जटिल किसिमका तत्वहरु प्राप्त हुने गर्छन् ।

प्रशोधित खाद्यपदार्थः कुपोषण र रोगका खानी

खाद्य पदार्थहरुको गुणस्तर र स्वच्छता कायम राख्नुपर्ने चुनौतीलाई अंगिकार गर्दै विकसित भइरहेको छ, खाद्यविज्ञान । त्यसले सिर्जना गरेका प्रशोधन प्रणाली र विविधीकरणले अत्यधिक प्रशोधित खाद्यपदार्थहरुको प्रवेश र पहुँच विश्वको हरेक कुनामा सम्भव भएको छ ।

त्यसरी उच्च प्रशोधित खाद्यपदार्थहरुको असन्तुलित उपभोग र तनावपूर्ण तथा प्रदुषित वातावरणको थप मारले मानिसको स्वास्थ्यस्थिति अझ जटिल र जर्जर बन्दै गएको छ ।

शरीरलाई आवश्यक न्यूनतम पोषकतत्वहरुको कमिले कुपोषण र त्यसका जटिलताले गाँजेको छ । अर्कोतिर असन्तुलित भोजनका कारण मोटोपन, मधुमेह, मुटुरोग, हाडजोर्नीका समस्या, क्यान्सर आदिले दिनदिनै ग्रस्त बनाउँदै लगेका छन् ।

अन्न, गेडागुडी, दूध, दही, माछामासु, सागपात, फलफूलहरुको सफा र स्वच्छ तरिकाले सन्तुलित मात्रामा नियमित सेवन गर्न सके शरीर स्वस्थ रहन्छ । तर, अहिले बजारमा पाइने विविध प्रशोधित खाद्यपदार्थहरुमा भर पर्नुपर्ने अवस्था छ । यही वास्तविकतालाई मध्यनजर गर्दै विश्वबजारमा ‘डाइटरी सप्लिमेन्ट’को प्रचलन शुरु भएको छ ।

यसकारण आवश्यक

डाइटरी सप्लिमेन्टको अवधारणाको विकास नै खाद्यपदार्थबाट अपूग हुने पोषक तत्वहरुको कमि र त्यसबाट आइपर्ने जटिलतालाई टार्ने भन्ने देखिन्छ ।

यसको प्रचलन विश्वका अधिकांश राष्ट्रहरुमा कैयौं वर्षदेखि छ । यसलाई नियमन गर्ने व्यवस्थाको शुरुवात अमेरिकामा सन् १९९४ बाट डाइटरी सप्लिमेन्टसम्बन्धि कानून बनाएपछि भएको देखिन्छ ।

नेपालमा भने डाइटरी सप्लिमेन्टको प्रचलनको इतिहासको आधिकारिक तथ्य पाइँदैन । विदेशमा रहेका आफन्तहरुले पठाएका माछाको तेल, क्याल्सियम, एन्टिअक्सिडेन्टका क्याप्सुल, प्रोटिन पाउडर आदिको सेवन गर्ने केही धनाढ्यहरुबीच यसको जानकारी छ ।

आम नेपालीले यसबारे थाहा पाएको एक दशक मात्र भएको छ ।

औषधि होइन

ट्याब्लेट, क्याप्सुलजस्ता स्वरुपका कारण डाइटरी सप्लिमेन्टलाई औषधि मान्ने चलन छ ।

नेपालको सन्दर्भमा बजारमा यसको अव्यवस्थित उपलब्धता देखिन्छ । र, त्यस्ता वस्तुको गुणस्तर र स्वच्छतामा समस्या रहेको अनुभूति हुन्छ ।

हालै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आहारपूरक खाद्यपदार्थ (डाइटरी सप्लिमेन्ट) नियमन कार्यविधि, २०७२ कार्यान्वयनमा ल्याएको छ । र, आगामी दिनमा बजारमा नियमन हुने आशा गर्न सकिन्छ ।

के हो डाइटरी सप्लिमेन्ट ?

अमेरिकाको खाद्य तथा औषधि प्रशासनका अनुसार डाइटरी सप्लिमेन्ट भन्नाले मुखबाट सेवन गरिने खाद्यपदार्थ, जसले सामान्य आहारमा पोषणको मात्रा बढाउने गर्छन् ।

भिटामिन, खनिज पदार्थ, जडिबुटी वा अन्य वनस्पति, एमिनो एसिड वा पुरक खाद्यपदार्थको मिश्रण यसमा पर्छन् । यस्ता पदार्थहरु ट्याब्लेट, क्याप्सुल, झोल, धुलो, जेली आदि स्वरुपमा पाइन्छन् । र, तिनले शरीरलाई आवश्यक पौष्टिक तत्व प्रदान गर्नुका साथै रोग लाग्ने सम्भावनालाई पनि कम गर्छ ।

विभागका अनुसार डाइटरी सप्लिमेन्ट भन्नाले दैनिक खानपानमा थप पोषक तत्वहरुको पूर्तिका लागि प्रयोग हुने खाद्यपदार्थ हुन् । कार्बोहाइड्रेट, चिल्लो पदार्थ, फ्याट्टी एसिड, भिटामिन, खनिज तत्व वा खनिज मिश्रति प्रोटिन, एमिनो एसिड वा इन्जाइम पर्छन्, यसमा ।

यस्तै, अन्य पोषक तत्वहरु, वनस्पति तथा प्राणीजन्य स्वास्थ्यवर्द्धक लाभदायक पदार्थहरु वा शरीरमा क्रियात्मक भूमिकामा रहने फाइदाजनक पदार्थहरु सम्मिलित गरी स्वरुप परिवर्तन गरिएका पाउडर, ग्रेनुल, ट्याब्लेट, क्याप्सुल, झोल, जेली, फ्लेक्स, बारजस्ता स्वरुपमा भएका र मुखबाट मात्र सेवन गरिने पदार्थ जनाउँछ ।

औषधि र डाइटरी सप्लिमेन्ट

यसको बढ्दो प्रचलनसँगै औषधि र डाइटरी सप्लिमेन्टको समानता र भिन्नताबारे विभिन्न धारणा पाइन्छन् । अमेरिका र युरोपियन युनियनलगायतले डाइटरी सप्लिमेन्टलाई स्पष्ट रुपमा खाद्यपदार्थ भनेर व्याख्या गरेका छन् ।

अमेरिकाको खाद्य, औषधि तथा प्रशाधन सामग्री ऐनले मानिसले सेवन गर्ने पदार्थहरुलाई तीन भागमा वर्गीकरण गरेको छ । पहिलोमा खाद्यपदार्थ प्रशोधन गरिँदा प्रयोग हुने वासना, रंग, स्वादमा बढोत्तरी गर्नका लागि प्रयोग गर्ने पदार्थ आदि पर्छन् ।

दोस्रो वर्गमा खाद्य तथा पेय पदार्थ पर्छन्, जसलाई पुनः खाद्य वा पेय पदार्थ, डाइटरी सप्लिमेन्ट, विशेष आहार प्रयोजनका खाद्य पदार्थ र उपचारात्मक प्रयोजनका खाद्यपदार्थ मान्न सकिन्छ । तेस्रोमा औषधिहरु पर्छन्, जुन चिकित्सकहरुको सिफारिसमा फार्मेसीमा खरिद गर्न सकिन्छ ।

यी पदार्थहरुको नियमनको व्यवस्था अलग-अलग छन् । मुलभूत रुपमा औषधि भन्नाले रोगको निदान, उपचार वा रोकथामका लागि प्रयोग गरिन्छ । डाइटरी सप्लिमेन्टको प्रयोग शरीरलाई चाहिने तर दैनिक खानपानबाट पूर्ण मात्रामा प्राप्त हुन नसकेको अवस्थामा पूरकको रुपमा गरिन्छ । तसर्थ, डाइटरी सप्लिमेन्ट औषधि होइन, केवल पूरक प्रशोधित खाद्यपदार्थ बुझ्नु जरुरी छ ।

डाइटरी सप्लिमेन्टको बजार

सन् २०१६ मा यस्ता पदार्थको विश्व बजार करिब १३ अर्ब अमेरिकी डलरको थियो । यो आठ दशमलव आठ प्रतिशतले बढेर सन् २०२२ सम्ममा २२ अर्ब अमेरिकी डलर पुग्ने अनुमान छ ।

नेपालमा डाइटरी सप्लिमेन्ट उपभोगको यकिन तथ्यांक छैन । तर, माग बढ्दो क्रममा छ । तथ्यांकको कमिका कारण फितलो सरकारी नियमन प्रणाली र व्यापारीहरुको कर छल्ने प्रवृत्ति मुख्य हुन् । डाइटरी सप्लिमेन्ट अति संवेदनशील पदार्थ भएकाले अनुचित प्रयोगबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यस्ता पदार्थको अनुगमन तथा नियमन प्रणाली चुस्त-दुरुस्त हुनुपर्ने आवश्यकता देखिन्छ ।

विश्व बजारमा नियमन प्रणाली

मानव सभ्यताले वनस्पति तथा प्राणीजन्य वस्तुहरु औषधिको रुपमा प्रयोग गरेको हजारौं वर्ष भयो । करिब तीन दशकयता मात्र सन् १९८४ मा जापानबाट फंक्सनल फुडको रुपमा पहिलो पटक शुरुवात भएको हो ।

सन् २००१ मा मात्र यससम्बन्धि कानुन बन्यो । त्यसमा विशेष आहार र विशेष पोषण प्रयोजनका खाद्यपदार्थ गरी दुई वर्गमा विभाजित गरिएको छ ।

यस्ता खाद्य पदार्थहरुले केवल स्वस्थ व्यक्तिको शारीरिक अवस्थालाई कायम वा सुधार गर्न मद्दत गर्छन् । सन् २०१५ मा जापानले यस व्यवस्थालाई अझै सहजीकरण गरेर थप खाद्यपदार्थहरुलाई डाइटरी सप्लिमेन्टको रुपमा स्थापित गरेको छ ।

अमेरिकामा सन् १९९४ मा राष्ट्रपति बिल क्लिन्टनद्वारा डाइटरी सप्लिमेन्ट, स्वास्थ्य तथा शिक्षा ऐन लागु गरेका थिए । त्यसअन्तर्गत् डाइटरी सप्लिमेन्टलाई खाद्य पदार्थजस्तै नियमन गर्नुपर्ने र औषधिजस्तो नियमन गर्न नहुने व्यवस्था छ । तसर्थ, यस्ता पदार्थहरुले औषधिले झैं रोगको निदान, उपचार वा रोकथाम गर्न सक्छन् दाबी गर्न पाइने छैन ।

युरोपियन युनियनको खाद्य सुरक्षा प्राधिकरणले डाइटरी सप्लिमेन्टलाई फुड सप्लिमेन्ट भनेर त्यस्ता पदार्थहरुको लेबलिङ र बिक्री वितरणका लागि विभिन्न किसिमका नियम बनाएको छ ।

विश्वको सबैभन्दा ठूलो मुलुक रुसले यस्ता पदार्थहरुलाई ‘बायोलोजिकल्ली एक्टिभ सप्लिमेन्ट’ भनेर औषधिभन्दा बेग्लै तरिकाबाट नियमन गर्छ ।

भारतमा खाद्य सुरक्षा तथा मानक प्राधिकरणद्वारा सन् २०१६ मा जारी गरिएको नियमावलीमा हेल्थ सप्लिमेन्ट, न्युट्रास्युटिकल्स, विशेष प्रयोजनका खाद्यपदार्थ, विशेष स्वास्थ्यप्रयोजनका खाद्यपदार्थ, फंक्सनल फुड र नोबेल फुड भनिएको छ । यसमा ६ किसिमका डाइटरी सप्लिमेन्टको व्यवस्था छ । उक्त नियमावली १ जनवरी २०१८ देखि मात्र पूर्ण रुपमा लागु हुँदैछ ।

नियमनको अवस्था र चुनौती

नेपालमा डाइटरी सप्लिमेन्टको व्यापार अन्योलमै छ । आहारपुरक खाद्यपदार्थ नियमन कार्यविधिबाट यही तथ्य छर्लंग हुन्छ । जतिबेला अमेरिकामा डाइटरी सप्लिमेन्टको कानुन निर्माणाधीन थियो, त्यस समयमा नेपालमा भिटामिन र खनिजहरुको सम्मिश्रण भएका औषधिबाहेकका टोनिक बेच्न मनाही गरिएको सूचना सार्वजनिक भएको पाइन्छ ।

दुई वा दुईभन्दा बढी किसिमका भिटामिन वा खनिज मिश्रति स्वीकृत औषधिको मात्राभन्दा फरक मात्राको बिक्री वितरण गर्न मनाही गरिएको छ । राजपत्रको सूचनाका आधारमा औषधि व्यवस्था विभागले त्यसको भावनाभन्दा पर गएर प्रतिबन्धको व्यवस्था गरेको छ ।

ट्याब्लेट, क्याप्सुल, सिरप, पाउडरको रुपमा रहने मल्टिभिटामिन, एन्टिअक्सिडेन्ट, आइरन, फोलिक एसिड, क्याल्सियम, मिनरल्स, न्युट्रास्युटिकल्स तत्वहरु भनेर कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, एमिनो एसिडमा अन्तर्निहित तत्वहरुको सम्मिश्रण रहेका डाइटरी सप्लिमेन्टहरुलाई औषधिजन्य बताएको छ, विभागले ।

विश्वमा विकसित प्रविधि तथा ज्ञानलाई आत्मसात गर्नुको साटो अझ खुम्च्याउन गरिएको प्रयासले अवश्य पनि डाइटरी सप्लिमेन्टको व्यापार व्यवसायमा तरंग ल्याएको कुरा व्यवसायीहरुले औषधि व्यवस्थाविरुद्ध दायर गरेको मुद्दाबाट प्रष्ट हुन्छ ।

डाइटरी सप्लिमेन्टमाथि प्रतिबन्ध लगाउने सरकारी सूचनाको अदालती प्रक्रियामा कुनै खाद्य विशेषज्ञ वा खाद्य पदार्थको नियामक निकायको परामर्श नलिइएका कारण यसले प्रतिबन्धित औषधिको संज्ञा पाएको खाद्य विशेषज्ञहरुको बुझाइ छ ।

जे होस्, कृषि विकास मन्त्रालयले यसको नियमनसम्बन्धि कार्यविधि लागु गरेको छ । र, त्यसबाट स्वच्छ व्यापारको अवस्था सिर्जना हुने देखिन्छ ।

डाइटरी सप्लिमेन्ट खाद्यपदार्थ भएका कारण खाद्य ऐन स्वतः क्रियाशील हुन्छ । कार्यविधिबाट खाद्य, स्वास्थ्य, पोषण वा आहारपुरक, विशेष औषधीय वा उपचारात्मक प्रयोजनका खाद्य पदार्थ, न्युट्रास्युटिकल्स र विशेष पोषण प्रयोजनका खाद्य पदार्थहरुमा अवाञ्छित मिसावट रोक्न, समिश्रति तत्वहरुको मात्रा सुनिश्चित गर्न र स्वच्छता कायम राख्न सहजता प्रदान गर्ने निर्विवाद छ ।

तथापि, डाइटरी सप्लिमेन्टबिना प्रशोधन खानुपर्ने भएको र यसमा सघन मात्रामा पोषकतत्वहरु छन् भनी दाबी गरिने भएकाले त्यसबमोजिम मात्रा तथा कुनै किसिमका हानीकारक रसायन र सूक्ष्मजीवको उपस्थिति नहोस् भनेर प्रयोगशालाबाट सुनिश्चितता गर्ने व्यवस्थाका लागि जनशक्ति र उपकरणहरुमा अभिवृद्धि गर्दै लैजान अपरिहार्य देखिन्छ ।

अब कार्यविधि मात्र नभई ऐन र नियमावली नै बनाएर प्रादेशिक एवं स्थानीय सरकारलाई समेत यस प्रक्रियामा अगाडि बढाउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment