Comments Add Comment

कामेश्वर चौरसियालाई नभइ हुन्न बफ मःम

औसतभन्दा अलि होचो कदका कामेश्वर चौरसिया अभिनय कलाकै ताकतले फिल्मीवृत्तमा हावी छन् । सहायक भूमिका नै सही, उनको अभिनय र उपस्थिति चलचित्रमा बिशेष बन्ने गरेको छ । सोही कारण कामेश्वरलाई अहिले भ्याइनभ्याई । एकपछि अर्को चलचित्रको अफरले उनलाई विश्राम गर्न दिएका छैनन् । उनै कामेश्वरसँग गरिएको कुराकानीः

घरमा खाना कसले बनाउँछ ?

प्रायः घरबाहिरकै खाना खाइन्छ ।

घरमा भएको बेला ?

म आफै बनाउँछु ।

खाना बनाउन आउँछ ?

मिठो बनाउँछु नि । मैले पकाएको खानुभयो भने तपाईको दिन शुभ हुन्छ ।

के छ त्यस्तो ट्रिक ?

टि्रक होइन, प्राक्टिस हो ।

भेज, ननभेज कस्तो खानेकुरा बनाउँन जाँगर चल्छ ?

भेज । मासु पनि मिठो बनाउँछु । भात, तरकारी, अचार, साग सबै प्याकेज नै बनाउँछु ।

कसरी पकाउँदा मिठो हुन्छ ?

मधुरो आगोमा पकाउनुपर्छ, टाइम लगाएर । मनले पकाउनुपर्छ क्या, मनले ।

खानामा मन लगाउनुपर्छ ?

मरमसलाभन्दा बढी मन लगाउनुपर्छ । मन लगाएर पकाएको स्वादिलो हुन्छ, स्वस्थ्यकर हुन्छ । मन लगाएर पकाएको खाना औंला चाटेर खाइन्छ नि ।

तपाई विवाहित होइन ? किन आफै खाना बनाउनुहुन्छ ?

म विवाहित हो । ८ महिनाकी छोरी पनि छिन् । उनले (पत्नी)ले भन्दा मै मिठो पकाउँछु । मैले पकाएको उनलाई पनि मनपर्छ ।

तपाईका खानामा नछुट्ने भेराइटी के हो  ?

गोलभेडाको अचार । प्याज, लसुन, खुर्सानी, अदुवा मिसाएर बनाउँदा मिठो हुन्छ । पुदिना भयो भने झन् दामी ।

एकदमै फरक वा नयाँ परिकार कत्तिको टेस्ट गर्नुहुन्छ ?

खाइन्छ । घरबाहिर भएपछि यो वा त्यो भन्ने हुँदैन । जस्तो भेट्यो त्यस्तै खानुपर्छ ।

ननभेजमा चाहि के के चल्छ ? बिदेशमा त गाइ-गोरुको मासु पनि चल्छ भन्छन् नि ? 

राम, राम, राम । त्यस्तो सोच्दा पनि नसोच्नु । विफ खाने कुरै भएन । बरु, पोर्क खाइन्छ । भैंसी खाइन्छ । भैंसी त काठमाडौंमा बसेपछि खानैपर्‍यो । अहिलेसम्म कतिवटा भैसी खाइसकियो, हिसाबै नगरौं ।

बिहानको खाना कतिबजे खानुहुन्छ ?

बिहान १० बजेतिर खान पाइयो भने राम्रो । त्यो सहि समय हो । तर, हामी बाहिर हिँडडुल गरिरहने भएकाले आफ्नो मर्जी अनुसार चल्दैन ।

नास्तामा के लिनुहुन्छ ?

नास्ता ? नास्तामा नरिवल बोक्छु । कुटुकुटु खाइरहन्छु ।

पेट अघाउँछ त ?

पेट अघाउनका लागि त मःम खाइन्छ नि । बफ मःम । बाटोमा हिँड्दै गर्दा ममको बास्ना आयो भने मन थाम्नै सकिदैन, मागेर खाइहालिन्छ । भोक लागेपनि, नलागे पनि मम देखेपछि मुख कन्ट्रोल गर्न सकिदैन ।

बच्चा सानै रहेछ, कसरी हुर्काइरहनुभएको छ ?

सानै भएकाले बढी हेरबिचार गर्नुपर्छ । ख्वाउनुपर्‍यो, दुःखबिराम भए, नभएको ख्याल गर्नुपर्‍यो । समय समयमा खोप लगाउनुपर्‍यो । डाइपर चेन्ज गरिदिनुपर्‍यो । हेरचाह त गर्नैपर्यो नि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment