Comments Add Comment

‘भोजपुरमा शेरधन र राजेन्द्र राईमाथि सुरक्षा थ्रेट’

वाम गठबन्धनका उम्मेदवारको सुरक्षामा लापरवाही गरिएको आरोप

४ मंसिर, भोजपुर । भोजपुरमा केहिदिनयता वाम गठबन्धनका उम्मेद्वार र सभालाई लक्षित गरी श्रृंखलाबद्ध बम विष्फोट तथा आक्रमण भएपछि गठबन्धनका उम्मेदवारको सुरक्षामा प्रश्न उठेको छ । प्रहरी प्रशासनले वामपन्थी गठबन्धनका उम्मेदवारको सुरक्षामा चासो नदिएको आरोप समेत लागेको छ ।

आफूहरुले पटकपटक स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदा पनि उम्मेद्वारमा सुरक्षाको प्रत्याभुति दिलाउन नसकेको नेताहरुले बताएका छन् । विशेष गरी एमाले पोलिटव्यूरो सदस्य तथा १ नम्बर प्रदेशका भावी मुख्यमन्त्रीका दाबेदार शेरधन राई र एमाले केन्द्रीय सदस्य राजेन्द्र राईमाथि लगातार आक्रमण बढेको छ ।

शेरधन राईको गाडीमा वम हमला गरे लगत्तै राजेन्द्र राईको क्षेत्र नम्बर १ को सभामा विष्फोट भयो । शनिबार दिउँसो साल्पासिलिछो गाउँपालिका वडा नं. २ को कुलुङ्ग सहकारी भवनमा वाम गठबन्धनको चुनावी सभा चल्दै गर्दा एक सयमिटर नजिकै बम विस्फोट गराइयो । भोजपुर प्रदेश नं. १ का उम्मेद्वार राजेन्द्र राईले बोल्दै गर्दा गराईएको सो बम विस्फोटनपछि कार्यकर्ता तथा सभामा उपस्थित स्थानीय आतंकित भएर तितरवितर भएका थिए ।

त्यस्तै सोही दिन दिउँसो षडानन्द नगरपालिका वडा नं. १३ तीनतले नजिकैको भीरथाप्लामा बाटोमा थापिएको एम्वुस पड्कँदा राजेन्द्र राईलाई कार्यक्रम स्थल पुर्‍याएर मोटरसाइकलमा फर्कदै गरेका युवा संघका कार्यकर्ता विक्रम राई टाउकोमा चोट लागेर गम्भीर घाइते भए ।

उनलाई भोजपुर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि धरान लगिएको छ । बमको छर्रा लागेर गम्भीर घाइते भएका राईलाई हेलिकोप्टरमा लगिदिन वामपन्थी गठबन्धनका नेताहरुले कांग्रेस नेता गगन थापालाई आग्रह गरेका थिए ।

सदरमुकामस्थित टुँडीखेलको लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न हेलिकप्टर चडेर आएका नेपाली कांग्रेसका नेता गगन थापाले चुनावी प्रतिस्पर्धाका कारण लैजान नसक्ने जवाफ दिएपछि उनलाई एम्बुलेन्स खोजेर पठाइएको हो ।

बाटोमा झ्यासले छोपेर राखेको एम्बुसको प्रकृति हेर्दा कुलुङ्गको आमसभा सकेर फर्कने क्रममा नेता कार्यकर्तालाई लक्षित गरेर पड्काउने योजनाका साथ राखेको आशंका छ । धराप थाप्दै गर्दा स्थानीय एक व्यक्तिले देखेको कारण मात्र गाउँले मिलेर प्रहरीलाई खबर गरेकाले आक्रमणकारीको खास उद्देश्य पूरा हुन पाएन ।

यसअघि चुनावी सभामा जाँदै गर्दा पूर्व सूचना तथा सञ्चार मन्त्री तथा प्रदेश नं. २ का उम्मेद्वार शेरधन राईमाथि पनि बम प्रहार भएको थियो । सो घटनामा राईका अंगरक्षक घाइते भएका थिए । बम विस्फोटनका जति पनि घटनामा प्रहरीसँग दोहोरो फायरिङ्गसमेत भएका छन् ।

वाम गठबन्धनका उम्मेद्वार र कार्यकर्तामाथि मात्र लक्षित गरेर गराईएको बम विस्फोट रहस्यमय रहेको माओवादी नेता सुदन किराँतीले बताए । ‘हाम्रो जनमतबाट हतास भएर यो बुझिनसक्नुको खेल हुन थालेको छ हामी अध्ययन गर्दैर्छौ प्रमाण नजिकै पुगिसकेका छौं तथ्यसहित सार्वजनिक गर्नेछौं ।’-माओवादी नेताले भने ।

नेकपा एमाले भोजपुरका सचिव शरणकुमार राईले सर्वदलीय बैठकमा प्रहरी प्रशासनले उम्मेद्वारको सुरक्षामा प्रतिवद्धता जनाएको तर अनुभूत गर्ने खालको सुरक्षा नभएको टिप्पणी गरेका छन् ।

‘हामीले नेता राजेन्द्र राईलाई समेत सुरक्षा थ्रेट बढेपछि सशस्त्र प्रहरीको माग गर्‍यौं, त्यसलाई बेवास्ता गरिएको छ अहिले उहाँमाथि नै निसाना बनाएर आक्रमण भइरहेका छन् ।’ सचिव राईले अनलाइनखबरलाई भने ।

सुरक्षा संवेदनशिल भनेर तोकिएका क्षेत्रहरुमा समेत आमसभा तथा चुनावी कार्यक्रमहरुमा पर्याप्त सुरक्षा नदेखिएकाले प्रशासनमाथि शंका गर्ने प्रशस्त आधारहरु रहेको उनको दावी छ ।

चुनावी अभियानमा भोजपुरमै रहेका प्रेस चौतारी नेपालका महासचिव राजेश राईले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन उम्मेद्वार र मतदाताको सुरक्षाको प्रम्ख जिम्मेवारी लिएको प्रहरी प्रशासन एकदमै लाचार बनेको बताए । उनले सीडीओ, डीएसपीलाई फोन गरेर्र सुरक्षा खतरा भयो पुलिस पठाइदेउ भन्दापनि वास्ता नगरेको बताएका छन् ।

भोजपुरका निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले आफूहरुले सबै उम्मेद्वारहरुलाई फोन गरेर चुनावी कार्य तालिका लिएर सोही अनुसार सुरक्षा रणनीति बनाएको र सुरक्षाकर्मी परिचालन गरेको बताए ।

पटकपटक बम विस्फोट र आक्रमणका घटना भइरहेको प्रसंगमा निमित्त प्रजिअ न्यौपानेले उम्मेद्वारलाई स्कर्टिङ्ग गर्ने गरिएको भन्दै भए गरेका घटनालाई गम्भीर रुपमा लिएर थप छलफल भइरहेको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment