Comments Add Comment

‘काठमाडौंको मुटुमा रहेका ठाउँको हालत यस्तो हुन्छ ?’

४ मंसिर, काठमाडौं । दोस्रो संविधानसभामा मन्त्रिपरिषदबाट मनोनित सभासद रहेका डा. राजन भट्टराई जनताबाट अनुमोदित हुन पहिलो पटक चुनावमा होमिएका छन् । विद्यार्थी राजनीतिबाट आएका भट्टराईका लागि चुनाव नौलो होइन, तर आफैं उम्मेदवार भएर जाँदा जनताबाट पाएको प्रतिक्रियाले उनी हौसिएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ४ मा वाम गठबन्धनको उम्मेदवार बनेका भट्टराईका प्रतिस्पर्धी कांग्रेस नेता गगन थापा छन् । भट्टराई भन्छन्, क्षेत्र नम्बर ४ का जनताले विकल्प खोजेको पाएको छु । मैले सकारात्मक प्रतिक्रिया पाएको छु । स्थानीय चुनाव र वाम गठबन्धन सबै हेर्दा जित्नका लागि ठूलो समस्या ठानेको छैन । ‘

चुनावी घरदैलोमा व्यस्त एमाले नेता भट्टराईसँग अनलाइनखबरले गरेको कुराकानीः

स्थानीय चुनावलगत्तै प्रदेश र प्रतिनिधिसभाको चुनाव भइरहेको छ । जनताका अपेक्षा के रहेछन् ? उम्मेदवारलाई सांसदका रुपमा हेर्दा रहेछन् कि वडा अध्यक्षका उम्मेदवारहरुलाई जस्तो सडक ढल र खानेपानीको कुरा बढी आउँदोरहेछ ?

जनता आफ्ना समस्या सम्बोधन होस् भन्ने पक्षमा छन् । तपाईले राष्ट्रिय राजनीतिमा खेलेको भूमिका वा राष्ट्रिय नीतिहरुमा तपाईको धारणा भन्दा पनि अब हाम्रो पनि पालो आयो, हाम्रा विषय पनि सुनिदिनुपर्‍यो भनेका छन् ।

हामी यो (खराब) अवस्थामा बसिरहने, तपाईहरु चुनाव जितेर गइरहने ! चुनावअघि मीठामीठा कुरा गर्ने, जितेपछि फर्किएर नआउने ! कतिसम्म भने यत्रो ठूलो भूकम्प जाँदा पनि सान्त्वना दिनसमेत आउनुभएन, तपाईहरुलाई किन भोट दिने ? सबै उस्तै हुन् । राजनीतिज्ञहरु इमानका हुँदारहेनछन् भन्नेसम्म पाएको छु ।

यद्यपि स्थानीय तहको चुनावपछि जनप्रतिनिधिहरु आएका छन् र उनीहरुले केही काम पनि भएका छन् । यसप्रति सकारात्मक धारणा पनि छन् ।

उसोभए भन्ने गरिएको जस्तो, प्रतिनिधिसभाका सदस्यले नीति निर्माणको काम गर्ने हो, विकासका काम स्थानीय तहबाटै हुन्छ भन्ने बुझाइ पाइएन मतदातामा ?

म जहाँ उठेको छु, त्यहाँका जनताले जे समस्या भोगेका छन्, त्यसको प्रतिनिधित्व मैले गर्ने हो । ३ नम्बरमा के भएको छ ? अर्को ठाउँमा के भएको छ ? त्यसको मैले जवाफ दिन म देशैभरि उम्मेदवार भएको छैन

एउटा त, स्थानीय तहले आफ्नो अधिकार अनुसार काम गर्न पाएका छैनन् । राज्यले जति दिनुपर्ने हो दिन सकेको छैन, बजेटमै कन्जुस्याइँ भइरहेको छ । स्थानीय स्तरमा डेलिभरी दिने कार्यालयहरु गएका छैनन् । स्थानीय तहका कर्मचारीहरुको कार्यशैलीमा पनि परिर्वतन आएको छैन ।

दोस्रो, स्थानीय तहको स्रोत साधन सीमित छ । वडाध्यक्षका नाममा खाता समेत खुल्दैन । उनीहरुलाई अधिकार दिन कन्जुस्याइँ भइरहेको छ । उनीहरुले मास्टर प्लान बनाएर आफ्नो क्षेत्रको काम स्वतन्त्र रुपमा गर्न पाएका छैनन् । पूर्वाधार नै बनेको छैन, अफिससमेत छैन । यसले मानिसहरुको सोचमा पनि समस्या छ ।

स्थानीय निकाय नहुँदा त्यो भूमिका जनप्रतिनिधिले खेलिदिनुपर्थ्यो, खेलेनन् भन्ने गुनासो छ । त्यसैले विकास निर्माण तल्लो तहको र नीति निर्माण माथिल्लो तहको भन्ने छैन । स्थानीय तहको आफ्नो सीमा हुन्छ । ठूला बजेटका प्रोजेक्टहरु त केन्द्रसँग समन्वय गर्नैपर्छ । त्यसैले मतदाताले भोलि स्थानीय तहसँग समन्वय गरेर काम गर्नुहुन्छ कि हुन्न भनेर सोधेका छन् ।

भनेपछि भोट माग्दा, हिजोको जस्तै म ढल बनाउँछु, बाटो बनाउँछु, पानी ल्याइदिन्छु भन्नुपर्ने अवस्था छ ?

जरुर । मेरो निर्वाचन क्षेत्र काठमाडौंको मुटुमा पर्छ, जसको आधा क्षेत्र काठमाडौं महानगरमा पर्छ भने आधा बूढानीलकण्ठ नगरपालिकामा पर्छ । तर, यहाँका नागरिकहरुले पाउनुपर्ने न्यूनतम सुविधाहरु छैनन् । बिहान हिँडेर बेलुका फर्कन सक्ने बाटो छैन, बर्षामा हिलो छ, हिउँदमा धूलो र खाल्डाखुल्डी छन् । खानेपानीको समस्या भयावह छ । कहिँ २/४ महिना भयो पानी नआएको भन्छन् त कहिँ १०/१५ दिनमा आउँछ भन्छन् ।

ढलको समस्या त्यस्तै छ । धुलो, ट्राफिक जामको त कुरै नगरौं । चाबहिलमै सबैभन्दा धेरै जाम हुन्छ, धेरै धुलो उड्छ । त्यसको विकल्प नखोजिएकोमा जनतामा आक्रोश छ ।

त्यतिमात्र होइन, चाबहिल चोकमा बुढाबुढीले बाटो क्रस गर्न नसक्ने अवस्था छ । आकासे पुल पनि बन्न सकेन । हामी यति अप्ठ्यारोमा छौं तर, हाम्रा समस्या किन सम्बोधन हुँदैनन् भन्ने प्रश्न जनताले गरेका छन् ।

तपाईले चाहिँ मलाई जिताउनुस्, म गर्छु भन्ने त होला नि । होइन ?

स्वभाविक रुपमा …। जनताको मत लिएर जित्ने तर, उनीहरुको चासो र समस्यालाई जोड्न सक्नुभएन भने तपाई उहाँको प्रतिनिधि हुन सक्नुहुन्न । हिजोको ग्याप भनेकै राजनीतिज्ञहरुले जनताको भावनासँग जोडिन सक्नुभएन ।

१० वर्ष लामो हिंसा, शान्ति प्रक्रिया, संक्रमणकाल यो भयो, त्यो भयो भन्न सक्नुहुन्छ । तर, यसले जनतालाई कति छुन्छ ? उनीहरुका लागि त दैनिक भोग्नु परेका समस्या ठूला हुन सक्छन् । त्यसैले हामीले गर्ने हरेक काममा जनताको भावना जोड्न सक्नुपर्छ । म प्रतिनिधिसभा सदस्य हुँ, कानुन मात्र बनाउँछु भन्ने हो भने जनताले किन भोट हाल्ने ?

त्यसोभए यो पटक भोट माग्न तपाईलाई तुलनात्मक रुपमा सजिलो भएको होला । यो-यो हुनुपथ्र्यो, भएन, मैले जितें भने गर्छु भनेर भन्न पाइएको छ हैन ?

काम भएको भए त मैले भन्ने ठाउँ हुँदैनथ्यो । खानेपानी, बाटो, ढल, धुलो, सार्वजनिक यातायात, जामको जुन अवस्था छ, त्यो पछिल्लो ७/८ वर्षदेखि छ । त्यसो हुँदा त मैले के भन्ने ? मेरो व्यक्तिगत टिप्पणी केही छैन ।

तर, यो चार वर्षमा तपाई पनि त सभासद (मन्त्रिपरिषदबाट मनोनित) हुनुहुन्थ्यो । क्षेत्र नम्बर ४ मा सांसद विकास कोषको अनुगमनको संयोजक पनि हुनुहुन्थ्यो । तपाईले चाहिँ यहाँ के-के गर्नुभयो ?

मैले यो धेरै ठाउँबाट सुनेको छु । म के भन्न चाहन्छु भने प्रत्यक्ष रुपमा जनताका बीचमा गएर ‘म जनताका यो यो काम गर्छु, मलाई भोट दिनुस्’ भनेर मैले जितेको होइन । २६ जना मनोनितमा परेर आउँदा मेरो निर्वाचन क्षेत्र नम्बर ४ पर्छ भन्ने पनि थिएन ।

दोस्रोः तपाईले जब जनतालाई म यो काम गर्छु’ भनेर निर्वाचित भएपछि के गरेँ भनेर आत्ममूल्यांकन गर्ने कि फलानोले किन भन्यो भनेर प्रश्न गर्ने ? समस्या छ कि छैन ? ईश्यू हुन् कि होइनन् ? पहिला रियलाइजेशन हुनुपर्छ ।

तर, तपाईको चुनावी प्रतिस्पर्धी र यो क्षेत्रका निवर्तमान सांसद गगन थापाले त २४० निर्वाचन क्षेत्रमा आफूले भन्दा कसैले धेरै गरेको भए देखाओस् भनेका छन् । सडक विस्तार, धुलोको समस्या काठमाडौं ४ को मात्र होइन, सबै ठाउँमा छ । यसलाई चुनावी एजेण्डा बनाइयो भन्ने गुनासो छ नि ?

म जहाँ उठेको छु, त्यहाँका जनताले जे समस्या भोगेका छन्, त्यसको प्रतिनिधित्व मैले गर्ने हो । ३ नम्बरमा के भएको छ ? अर्को ठाउँमा के भएको छ ? त्यसको मैले जवाफ दिन म देशैभरि उम्मेदवार भएको छैन ।

अर्को कुरा, यदि केही काम भएको छ भने मैले प्रश्न उठाउँदा किन आपत्ति मान्नु ? मैले उठाएको प्रश्नको जवाफ त्यसैले (कामले) गरिदिए भइगो !

तर, जाम भयो, सडक विस्तारमा धुलो उठ्यो, वर्षामा हिलाम्ये भयो भन्ने त काठमाडौं ४ को मात्रै समस्या होइन होला नि ? हाम्रो विकासको मोडलमै समस्या होला नि । सस्तोमा ठेक्का लगाउने, ठेकेदारले काम नगर्ने …

यो जनताको विषय हो कि होइन ? जनतालाई असर परेको छ कि छैन ? तपाईले त्यो जनताको प्रतिनिधित्व गर्छु भनेको हो कि होइन ? अनि जनताले हिलोधूलो भयो, जाम भयो भन्दा यसको विकल्प खोज्नुपर्थ्यो, खोजिएन’छ । अब म पहल गर्छु नभनेर मैले पनि जाम भइरहने हो, भइराख्छ, यो मेरो केही होइन भनेर जनताका बीचमा जानु ?

यो त अमूक व्यक्तिका कारण भएको होइन होला नि ! हाम्रो विकासे मोडल, कार्यशैलीमै समस्या हो कि ? सबैले सुधार गर्नुपर्ने होला नि त ?

मैले पनि व्यक्ति भनेकै छैन । अघि भनेको कुरामा फेरि फर्कन चाहन्छु, तपाईले मत माग्दा के भनेर माग्नुभएको थियो ? उनीहरुले विश्वासको मत दिएर के गर्न पठाएका थिए ? यदि त्यो काम गरेको भए त भने भइहाल्यो नि । समस्या उठाए वापत तैंले किन उठाइस् भनेर भन्न मिल्ला र !

जहाँसम्म सिस्टमको कुरा छ, सिस्टमको मात्र समस्या भन्दिनँ म । सिस्टम फेलियर भएको थियो भने त सबै ठाउँमा त्यही विषय आउनुपर्थ्यो र, त्यहाँका जनताले पनि सबै ठाउँमा यस्तै रहेछ भनेर बुझ्थे होला नि !

तपाईले समस्या छ, त्यसलाई सम्बोधन गर्छु भनेर भोट माग्नुभएको छ । कसैले काम गरेको भए, काम गरेको छु भनेर भोट मागे हुन्छ भन्न खोज्नुभएको ?

जरुर, जरुर … । अरु कसैले गरेको भए उहाँहरुको कुरा भयो । हामी त प्रतिस्पर्धामा उत्रिएका छौं र जनताले मलाई जे समस्या उठाउनुभएको छ । त्यो समस्या समाधान हुनुपर्थ्यो, भएन छ, म पहल गर्छु भन्ने सामान्य होइन र ? यसमा आपत्ति भइरहेको छ, म अचम्ममा छु ।

फेरि मैले रोजगारी किन दिइनस् भनेको त छैन । काठमाडौंको मुटुमा रहेका ठाउँको हालत यस्तो हुन्छ ! म अनुरोध गर्छु, बूढानीलकण्ठ नगरपालिकाको १०, ११, १२ र १३ को अवस्था इटहरी नगरपालिकासँग तुलना गरिदिनुस्, हेटौंडासँग गर्नुस्, कञ्चनपुरसँगै तुलना गरे पनि हुन्छ ।

अरुसँग किन तुलना गर्ने भन्ने हो भने ०५९ मा स्थानीय निकाय विघटन हुनुअघि र अहिलेको तुलना गर्नुस्, आफैं जवाफ पाउनुहुन्छ ।

उसोभए तपाईलाई जिताउने केका लागि ? अहिले नभएका काम गर्न वा राष्ट्रिय राजनीतिमा कुनै भूमिकाका लागि ?

क्षेत्र नम्बर ४ का जनताले विकल्प खोजेको पाएको छु । उनीहरुले आफ्नो समस्या सुनिदिने, सम्बोधन गरिदिने, दुःखसुखमा भेटघाट हुन सक्ने जनप्रतिनिधि खोजेको पाएको छु । मैले आफू निर्वाचित भएको अवस्थामा सम्बोधनको अधिकता प्रयास गर्छु भनेको छु

दुबै हो । व्यक्तिगत रुपमा मैले मात्रै जित्ने होइन, एमाले र अहिलेको वामघटकको उम्मेदवार जित्ने हो ।

हामी किन जित्ने भन्दा राष्ट्रिय राजनीतिमा हामीले लिएका अडानहरु, हामीले अगाडि सारेका मुद्दाहरु सम्बोधन गर्न । यो मुलुकको राष्ट्रिय स्वाधिनता, सार्वभौमिकताको मामिलामा हामीले खेलेको निकट विगतको भूमिकाको निरन्तरताका लागि हामीले जित्ने हो । र, भोलिका दिनमा राष्ट्रिय स्वाधीनता र आन्तरिक मामिलामा हस्तक्षेप गर्न नदिने वातावरण बनाउन ।

अर्को, संविधानको संरक्षण गर्दै राजनीतिक स्थयित्व खोजिरहेका छन् र त्यो स्थायित्वमा उभिएर मुलुकको सम्बृद्धि चाहन्छौं ।

यो त आम चुनावमा एमाले र वाम गठबन्धनले अघि सारेको राष्ट्रिय एजेण्डा भयो । यसमा क्षेत्र नम्बर ४ का उम्मेदवार राजन भट्टराईको भूमिका के ?

म त्यही जोड्दैछु । यदि म काठमाडौं ४ बाट निर्वाचित भएर गएँ भने राष्ट्रिय मुद्दाहरु अघि बढाउने मामिलामा अगुवाईको भूमिका निर्वाह गर्छु । मैले मतदातालाई भनेको छु, मलाई जिताएर पठाउनुभयो भने नीति बनाउने मामिलामा होस् वा कार्यान्वयनका क्रममा होस् फ्रान्टमा देख्नुहुनेछ ।

सँगै म त्यो क्षेत्रको प्रतिनिधि पनि भएको नाताले राष्ट्रिय विकास र सम्वृद्धिको नाताले क्षेत्र नम्बर ४ लाई जोड्न चाहन्छु । त्यहाँका जनताले भोग्दै आएको समस्याहरु छन्, त्यसलाई जोड्न/समाधान गर्न चाहन्छु । तेस्रो त्यहाँका स्थानीय तह हामीले जितेका छौं । त्यहाँका साथीहरु समन्वय गरेर स्थानीय तहबाट हुने काम अघि बढाउने र स्थानीय स्तरमा समाधान नहुने योजनालाई राष्ट्रिय योजनामा पारेर अगाडि बढाउँछौं । पशुपति विकास क्षेत्र लगायतका महत्वपूर्ण ठाउँहरुको उपयोग गर्छौं र जनताको जीवनस्तर उकास्न प्रयास गर्छौं ।

तपाईर्को प्रतिस्पर्धीले चिकित्सा शिक्षा ऐन, शिक्षा र स्वास्थ्य राज्यको जिम्मा लिने, बस्न लायक काठमाडौं, पेट्रोलियमको सट्टा विद्यतीय गाडी जस्ता अवधारणालाई अघि सारेका छन् । त्यसमा तपाईको धारणा के ?

राम्रा कुरा जसले ल्याए पनि गरे हुन्छ । फलानोले ल्याएको हुनाले गर्नु हुँदैन भन्ने मेरो केही छैन । अहिलेको समस्या समाधान हुन्छ, जनताले साथ दिन्छन् भने त्यसलाई हामीले स्वीकार गर्नुपर्छ, अगाडि लैजानुपर्छ ।

व्यक्तिगत रुपमा चाहिँ गगन थापासँग तपाईको सम्वन्ध कस्तो छ ?

राम्रो छ, हामी साथी हौं । भेटघाट हुँदा हेलो हाई हुन्छ । म वामपन्थीहरुको साझा उम्मेदवार हो र कांग्रेसका प्रतिनिधिसँग प्रतिस्पर्धा गरिरहेको छु ।

व्यक्तिगत रुपमा अच्छा खासा छ । विषयमा बहस गरौं, प्रतिपर्स्धा पफर्मेन्सका आधारमा गरौं भनेका छौं ।

हामीसँग घोषणापत्र छ, हामीले आफ्ना कार्यक्रम अघि सारेका छौं र राजनीतिक स्थायित्व दिन्छौं भनेका छौं । कांग्रेसलाई भनेका छौं, तपाईहरुलाई जनताले पटक पटक बहुमत दिए, तर, टिकाउन सक्नुभएन । अहिले दिँदा हुन्छ भन्ने के ग्यारेन्टी ? वामपन्थीहरुले अवसर पाएका छैनन्, दिनुस् भनेका छौं ।

२१ मंसिरमा ढ्वाङमा खस्ने जनमतले कसलाई जिताउँछ, अहिले त दाबी गर्ने वा अनुमान लगाउने मात्र हो । तर,यसमा तपाईको विश्लेषण के छ ?

म जित्छु भन्नुभन्दा पनि क्षेत्र नम्बर ४ का जनताले विकल्प खोजेको पाएको छु । उनीहरुले आफ्नो समस्या सुनिदिने, सम्बोधन गरिदिने, दुःखसुखमा भेटघाट हुन सक्ने जनप्रतिनिधि खोजेको पाएको छु । मैले आफू निर्वाचित भएको अवस्थामा सम्बोधनको अधिकता प्रयास गर्छु भनेको छु । त्यसमा सकारात्मक प्रतिक्रिया पाएको छु । त्यो मात्र होइन, स्थानीय चुनाव, वाम गठबन्धन सबै हेर्दा जित्नका लागि ठूलो समस्या ठानेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment