Comments Add Comment

दलहरुका सडकमै सभाः विरोधमा उत्रिए व्यवसायी

भन्छन्- सडकै छेकेर दुःख दिनेलाई कसरी दिनु भोट ?

७ मंसिर, पोखरा । राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा मञ्चबाट भन्दै थिए, ‘हामीलाई भोट दिएर जिताउनुहोस्, हामी राष्ट्रिय अखण्डता, स्वतन्त्रता र हिन्दु धर्मको पक्षमा लड्नेछौं ।’

त्यहीबेला कार्यक्रमस्थलमा खासखुस सुनियो, ‘जसको पार्टीले जनताको आवतजावत गर्ने अधिकारमाथि धावा बोल्दै बीच सडकमा कार्यक्रम गरेको छ । उसैले नागरिक स्तन्त्रताका पक्षमा लड्छ भनेर कसरी विश्वास गर्नु ?’

अध्यक्ष थापाले कार्यक्रममा उपस्थित नागरिकलाई फकाउँदै थुप्रै रसिला भाषण गरे । तर, कार्यकर्ताबाहेक चिप्लेढुंगा बीपीचोक आसपासका व्यवसायीको चित्त बुझेन । उनीहरुको एउटै गुनासो थियो, ‘प्रतिबन्धित क्षेत्रमा बलजफ्ती कार्यक्रम गरियो ।’

उक्त स्थलमा चुनावी सभा नगर्न पोखरा महानगरपालिकाले आग्रह गर्दागर्दै राप्रपाले जबर्जस्ति सडकै ढाकेर कार्यक्रम गरी छाड्यो । दुई दिनअघि विवेकशील साझा पार्टीले सोही ठाउँमा गर्न लागेको चुनावी सभा अन्यत्र सार्नुपरेको थियो ।

बीपी चोकमा सवारी साधनका हर्न निषेध मात्र गरिएको छैन, माइक राखेर सार्वजनिक कार्यक्रम गर्न पनि प्रतिबन्ध लगाइएको छ । विवेकशीलको स्टेज नै हटाइदिएका थिए, स्थानीय बासिन्दा र प्रशासनले ।

स्थानीय तह निर्वाचनअघिका सबैजसो राजनीतिक दलले सोही ठाउँमा कार्यक्रम गरेका थिए । त्यसबेला पनि स्थानीय व्यवसायी र सरोकारवालाले त्यसको चर्को आलोचना गरेका थिए ।

ठूलो आवाजमा माइक घन्काएर सडक ढाकिने गरी कार्यक्रम गर्न नपाइने निर्वाचन आचारसंहितामै उल्लेख छ ।

व्यवसायीले दिए धर्ना

सडकमा कार्यक्रम नगर्न आग्रह गर्दै पोखराका व्यवसायी बिहीबार धर्ना नै बसेका छन् । सडक ढाकिने गरी कार्यक्रम गरिदिँदा व्यवसाय नै चौपट भएकाले उनीहरुको भनाइ छ ।

सांकेतिक विरोधस्वरुप चिप्लेढुंगा-सिद्धार्थचोक व्यवसायी समितिको अगुवाइमा त्यस क्षेत्रका व्यवसायीले बिहीबार केहीबेर व्यवसायसमेत बन्द गरे ।

उनीहरुले बिहीबार नै पोखरा-लेखनाथ महानगरका मेयर मानबहादुर जीसी र प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई भेटेर सडकमा कार्यक्रम गर्न स्वीकृति नदिन माग पनि गरे । तर, प्रशासनसमेत निरिह भएको उनीहरुको भनाइ छ ।

सडकमा कार्यक्रम गर्दा ट्राफिक अस्तव्यस्त हुने र सर्वसाधरणको आवातजावतमा समस्या हुने भएकाले खुला चौर रोज्न सबैलाई आग्रह गरिएको समितिका अध्यक्ष डीबी भुजेलले जानकारी दिए ।

‘त्यसो नगर्न हामीले बारम्बार आग्रह गरिरहेका छौं,’ भुजेलले भने, ‘अटेर गरिँदा हामीलाई निकै समस्या भएको छ ।’

व्यवसायीलाई चिप्लेढुंगा सडक समिति, महिला समाज सेवा समिति, आदर्श टोल विकास संस्था, पोखरा ट्रेड मललगायत संस्थाले पनि साथ दिएका छन् ।

विवेकशीलको आपत्ति

सडक कार्यक्रम गर्न नपाउने नियमको सम्मान गर्दै आफूहरुले कार्यक्रमस्थल परिवर्तन गरे पनि बिहीबार राप्रपाले कार्यक्रम गर्दा प्रशासन निरिह रहेको बताउँदै विवेकशील साझा पार्टीले आपत्ति जनाएको छ ।

‘कार्यक्रमबारे प्रचारप्रसार गरेर सबैलाई जानकारी गराइएको थियो,’ पार्टीका राजाराम केसीले भने, ‘तर, हामीलाई सभा गर्न दिइएन । र, कार्यक्रम स्थल सार्‍यौं ।’ राप्रपाले भने कार्यक्रम गर्दा आफूहरु स्तब्ध र चकित बनेको केसीले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।

आफूहरुलाई कार्यक्रम गर्न निषेध गरिएको स्थानमा बिहीबार किन र कसरी सभा गर्ने अनुमति दिइयो भन्ने जवाफ दिनुपर्ने माग विज्ञप्तिमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment