+
+
Shares

रौतहटका चार क्षेत्रमा ६ मन्त्री भिड्दै, कतै त्रिपक्षीय, कतै द्वीपक्षीय

वाम गठबन्धन, मधेशी दल र कांग्रेसबीच प्रतिस्पर्धा

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७४ मंसिर ८ गते ९:१३

८ मंसिर, रौतहट । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका ४ क्षेत्रबाट ६ जना पूर्वमन्त्रीहरु मैदानमा छन् ।

क्षेत्र नम्बर १ बाट पूर्वउद्योग मन्त्री तथा राजपाका अध्यक्ष मण्डल सदस्य अनिल झा र वाम गठबन्धनबाट पूर्वऊर्जा राज्यमन्त्री सत्यनारायण भगत भिँड्दैछन् ।

क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री तथा कांग्रेस नेता आफताव आलम र वाम गठबन्धनका मुस्ताक आलम प्रतिस्पर्धी छन् । क्षेत्र नम्बर ३ बाट बिनाविभागीय मन्त्री प्रभु साह र ४ बाट पूर्वस्वास्थ्य राज्यमन्त्री वंशिधर मिश्र वाम गठबन्धनबाट चुनाव लड्दै छन् ।

रौतहट-१ः त्रिकोणात्मक भिडन्त

एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गृह क्षेत्रमा त्रिकोणात्मक भिडन्तको सम्भावना छ ।

नेता नेपाल रौतहट छाडेर काठमाडौंबाट चुनावी मैदानमा छन् । उनको साटो वाम गठबन्धनबाट भगत उम्मेदवार बनेका छन् । उनका बलिया प्रतिस्पर्धी हुन्, राजपाका झा र कांग्रेसका कृष्ण यादव ।

जातीय राजनीतिका हिसाबले कांग्रेसका यादव पनि बलिया प्रतिस्पर्धी हुन् ।

गठबन्धनका कारण हौसिएका भगत सशस्त्र द्वन्द्वमा माओवादी जिल्ला सदस्य थिए । राज्य र केन्द्रीय समिति हुँदै हाल पोलिटब्युरो सदस्य छन्, उनी ।

राष्ट्रिय बीउविजन कम्पनीको पूर्वअध्यक्ष रहेका उनी ०६३ मा सांसद र ०७० मा रौतहट ४ बाट सभासद् निर्वाचित भएका थिए ।

मधेशमा राम्रो पकड मानिएको राजपाका कारण झा पनि कमजोर मानिँदैनन् । सद्भावना पार्टी जिल्ला अध्यक्ष हुँदै संघीय सद्भावना पार्टीका केन्द्रीय अध्यक्षसमेत बनेका थिए, उनी । ०६४ सालमा समानुपातिक सांसद बनेका थिए । हाल राजपा नेपालको अध्यक्ष मण्डल सदस्य छन् ।

यस क्षेत्रमा पूर्वसभासद् बबन सिंह पनि स्वतन्त्र उम्मेदवार बनेका छन् ।

रौतहट-२ः मामा-भान्जा भिड्दै

क्षेत्र नम्बर २ मा मामा र भाञ्जाबीच भिडन्त हुँदैछ । कांग्रेस नेता आफ्ताब आलम र भर्खरै एमाले प्रवेश गरेका नेता मुस्ताक आलम नातामा मामा-भाञ्जा हुन् ।

लामो समयदेखि कांग्रेस राजनीतिमा रहेका आफ्ताब ०५४ मा सहायक मन्त्री, ०५७ वन मन्त्री, ०५८ मा भूमिसुधार मन्त्री र ०६५ मा श्रम तथा यातायात मन्त्री बनेका थिए ।

दोस्रो संविधानसभा निर्वाचनमा भान्जा मुस्ताक आलमसँग पराजित भएका थिए, उनी ।

मुस्ताकले दोस्रो संविधानसभामा तत्कालीन फोरम लोकतान्त्रिकबाट चुनाव लडेका थिए ।

कांग्रेस नेता स्वर्गीय शेख इद्रिस परिवारका आफ्ताब पहिलो पटक पार्टीको पकड क्षेत्रमा पराजित भएका थिए । मुस्ताक पनि कुनै समय कांग्रेसका जिल्ला नेता थिए । ०७० सालमा दोस्रो संविधानसभा निर्वाचनअघि फोरम लोकतान्त्रिक प्रवेश गरेका थिए ।

फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि मुस्ताकले एमाले रोजे । उनैलाई टिकट दिइँदा माओवादीका स्थानीय नेताहरु भने असन्तुष्ट छन् ।

रौतहट-३ः प्रभु साहलाई यादवको टक्कर

क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनबाट पूर्वकानून मन्त्री प्रभु साह मैदानमा छन् । हाल बिनाविभागीय मन्त्री रहेका उनलाई कांग्रेसका जितेन्द्र यादवले टक्कर दिँदैछन् ।

२०५६ सालमा बिद्यार्थी राजनीतिबाट आएका यादवले ठाकुरराम क्याम्पसमा स्ववियुका विभिन्न्ा पदमा काम गरेका थिए । १२ औं महाधिवेशनमा महासमिति सदस्य बनेका उनी ०७० मा सभासद् निर्वाचित भएका थिए ।

सोही क्षेत्रमा राजपाले ओमप्रकाश साहलाई उम्मेदवार बनाएको छ । पूर्वमन्त्री गोविन्द चौधरीले प्रतिनिधिसभाको साटो प्रदेशको टिकट रोजेपछि राजपाले साहलाई उठाएको हो ।

रौतहट-४ः मिश्रलाई तिमल्सेनाको चुनौति

जिल्लाको उत्तरी भेग समेटिएको क्षेत्र नम्बर ४ मा वाम गठबन्धनका उम्मेदवार छन्, डा. वंशिधर मिश्र । उनलाई कांग्रेसका देवप्रसाद तिमल्सेनाले कडा चुनौति दिने निश्चित छ ।

२०३२ सालमा बिद्यार्थी राजनीति शुरु गरेका मिश्र ०४८ मा रौतहट-४ बाट सांसद बनेका थिए । त्यसपछि उनले रौतहटका अन्य क्षेत्र रोजे । हाल एमाले पोलिटब्युरो सदस्य रहेका उनी २३ वर्षपछि पुनः क्षेत्र नम्बर ४ बाट चुनाव लड्दै छन् ।

कांग्रेस उम्मेदवार तिमल्सेना पनि बिद्यार्थी राजनीतिबाटै आएका हुन् । नेविसंघबाट कांग्रेस गाउँ समिति सचिव, क्षेत्रीय सभापति हुँदै तीन पटक महाधिवेशन प्रतिनिधि बनेका थिए ।

दोस्रो संविधानसभामा उनी सोही क्षेत्रबाट पराजित भएका थिए । उक्त क्षेत्रको प्रदेशसभा ‘क’मा वाम गठबन्धनका उम्मेदवार देवेन्द्र पटेलविरुद्ध माओवादीका राजु धामीले बागी उम्मेदवारी दिएका छन् । कार्यकर्ताबीच किचलो देखिँदा मिश्रलाई असर पर्ने विश्लेषण गरिरहेका छन्, स्थानीय बासिन्दाले ।

सोही कारण कांग्रेस उम्मेदवार तिमल्सेनाको अवस्था बलियो बन्ने सम्भावना रहेको स्थानीय बासिन्दाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?