८ मंसिर, काठमाडौं । राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त आयोजनाका लागि पेट्रोलियम पदार्थको आयातबाट साढे १३ अर्ब रुपैयाँ लगानी जुटेको छ ।
आयल निगमका अनुसार १२ सय मेगावाटको उक्त आयोजनाका लागि डेढ वर्षमै त्यति रकम जुटेको हो ।
सरकारले उक्त आयोजना निर्माणका लागि १६ जेठ ०७३ देखि पेट्रोलियम पदार्थमा प्रतिलिटर पाँच रुपैयाँ पूर्वाधार कर लिन थालेको थियो ।
१४ कात्तिकसम्म उक्त रकम जम्मा भएको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए । पेट्रोल, डिजेल र हवाई इन्धनको आयातमा भन्सार विन्दूमै उक्त कर लिने गरिएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत ९ जेठमा चाइना गेजुवा ग्रुप अफ कम्पनिज (सीजीजीसी)लाई उक्त आयोजना निर्माणको जिम्मा दिएको थियो ।
तर, अनियमित र हचुवा ढंगले गेजुवासँग सम्झौता गरिएको बताउँदै गत २७ कात्तिकमा मन्त्रिपरिषद्ले उक्त निर्णय खारेज गरेको थियो । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उक्त आयोजना निर्माणको जिम्मा विद्युत प्राधिकरणलाई दिने निर्णय गरेको छ ।
उक्त आयोजनाको लागत करिब दुई खर्ब ६० अर्ब रुपैयाँ अनुमानित छ ।
प्रतिक्रिया 4